गणतन्त्र दिवस सबै नागरिकले स्मरण गर्न लायक दिन : प्रदेश प्रमुख परियार

हिमाल प्रेस १५ जेठ २०८० ११:२१
4
SHARES
गणतन्त्र दिवस सबै नागरिकले स्मरण गर्न लायक दिन : प्रदेश प्रमुख परियार

सुर्खेत– कर्णाली प्रदेश प्रमुख तिलक परियारले १६औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्। सोमबार एक सन्देश जारी गर्दै उनले कर्णाली प्रदेशवासी तथा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सामाजिक न्याय, सुशासन, समृद्धि प्राप्तिको शुभकामना व्यक्त गरेका हुन्।

अढाइ सय वर्ष पुरानो हिन्दू एकात्मक सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गरी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन सबैका लागि स्मरण गर्नलायक भएको सन्देशमा उनले उल्लेख गरेका छन्।

दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनबाट देशमा विद्यमान विभेद, शोषण, दमनमा परेका वर्ग, जाति उपेक्षित क्षेत्रका उत्पीडित जनसमुदायको मुक्तिका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जलि एवम् बेपत्ता घाइते, अपांग योद्धाहरूको उच्च सम्मान गर्नुपर्ने उनले जनाएका छन्।

‘करोडौं नेपाली जनताको त्याग एवम् बलिदानबाट नागरिकको अधिकार नेपालको संविधान-२०७२ ले संस्थागत गरेको छ। ती अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दै अघि बढ्नु आजको आवश्यक्ता हो। दिवसले हिमाल, पहाड, मधेस, तराईबीचको जनएकता र राष्ट्रिय सहमति कायम गरी अघि बढ्न प्रेरित गरोस् भन्ने सदिच्छा प्रकट गर्दछु,’ सन्देशमा उल्लेख छ।

जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्वारा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता अझ सुदृढ गर्दै संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने ऊर्जा मिलोस् भन्ने उनले कामना गरेका छन्।

प्रकाशित: १५ जेठ २०८० ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =