एमाले अध्यक्ष ओली जोडिएको भ्रष्टाचारसम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

हिमाल प्रेस १३ जेठ २०८० १८:०२
10
SHARES
एमाले अध्यक्ष ओली जोडिएको भ्रष्टाचारसम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौँ- ‘कोभिड संकटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्ब रुपैयाँको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचार’ अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको छ।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधिसभाको अघिल्लो बैठकमा दिएको उक्त अभिव्यक्ति संघीय संसदको रेकर्डबाट शनिबार हटाइएको हो। शनिबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेलेले सांसद दाहालले दिएको सो अभिव्यक्तिसहितको शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।

गत जेठ १० गते सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथि आरोप लगाएका थिए।

उक्त अभिव्यक्तिलाई लिएर एमालेले शुक्रबार संसद् बैठक अवरुद्ध गरेको थियो। ‘माननीय सदस्यहरू मिति २०८० जेठ १० गते आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा माननीय सदस्य श्री लेखनाथ दाहालले प्रयोग गर्नुभएका विचारहरूभित्र स्वास्थ्य सामग्रीको २ अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन म संसद् सचिवालयलाई निर्देशन गर्दछु,’ सभामुख घिमिरेले भने।

एमालेले सांसद दाहालको सो अभिव्यक्तिबारे सरकारले जवाफ नदिएसम्म संसद् बैठक सुचारु हुन नदिने अडान लिँदै आएको थियो। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद दाहालको सो अभिव्यक्ति उचित नभएको बताएपछि एमालेले संसद् बैठक सुचारु हुन दिएको हो।

प्रकाशित: १३ जेठ २०८० १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − sixteen =