आलोचनाबाट कांग्रेस झन् उत्साहित हुन्छ : देउवा

हिमाल प्रेस १३ जेठ २०८० १३:३४
16
SHARES
आलोचनाबाट कांग्रेस झन् उत्साहित हुन्छ : देउवा

काठमाडाैँ- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन्। उचित आलोचनाले काम गर्न झन् उत्साह बढाउने तथा केही समस्या भए करेक्शन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनको भनाइ छ।

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातन्त्र सुदृढीकरणका काममा एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए।

सभापति देउवाले भने, ‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले। डराउनदैन पनि। कतिपय उचित आलोचना हुन्छन्। त्यसले आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरु गर्न झन् उत्साह हुन्छ।’

प्रजातन्त्रको खिलापमा एकथरी लागि परेको उल्लेख गर्दै उनले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरु लाग्नुपर्ने बेला आएको बताए। प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले त्यो कुरालाई सबैले बुझेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

‘राष्ट्रमा लामो लडाइँपछि प्रजातन्त्र आएको हो। यसको खिलापमा पनि एकथरी लागेका छन्। सबैले एकजुट भएर प्रजातन्त्रको सुदृढीकरण गर्ने काममा लाग्नुपर्छ। प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो,’ उनले भने।

सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रेस युनियनको पनि प्रशंसा गरे।

कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लोकतन्त्र र प्रेस १ सिक्काका २ पाटा भएको बताए। ‘प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको अस्तित्व रहँदैन, लोकतन्त्र रक्षाका लागि कांग्रेस लाग्नुपर्छ,’ उनले भने।

पत्रकार महासंघको निर्वाचन र नेपाल प्रेस युनियनको निर्वाचनमा पार्टीका नेताको आड लाग्ने प्रवृत्तिको अन्त्य गर्नु जरुरी रहेको उनको भनाइ छ। प्रेस युनियनमा व्यावसायिक क्षेत्रलाई प्राथमिकता दिन उनले सुझाव दिए।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकतन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसभित्र उत्साह थप्नुपर्ने बताए। ‘नौ महिनासम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन, पार्टीभित्र विभाग गठन भएका छैनन्, यसका कारण पार्टी कमजोर बन्दै गएको छ,’ उनले भने।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्ष हरिहर विरही, तारानाथ दाहाल, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, पूर्वउपाध्यक्ष दामोदर दवाडी, युनियनका संस्थापक नेता शोभाकर पराजुली, नेपाल प्रेस काउन्सिलका सदस्य राम दाहाललगायतले लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा श्रमजीवी पत्रकारले कलम चलाउनुपर्ने धारणा राखे।

सञ्चार क्षेत्र कमजोर भए लोकतन्त्र कमजोर हुने भएकाले लोकतन्त्रलाई बलियो बनाउन नेपाल प्रेस युनियन लाग्नुपर्नेमा उनीहरूले जोड दिए। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई शुद्धीकरण गर्दै संस्थागत ढंगले अगाडि बढाउनका लागि वर्तमान कार्यसमिति लागिपरेको बताए।

युनियनका अधिकांश प्रदेश र जिल्लाको अधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै यसै महिनाभित्र बाँकी जिल्ला र प्रदेशको अधिवेशनसमेत सम्पन्न गरिसक्ने उनले जानकारी दिए।

कांग्रेसले जितेका स्थानीय तह र कांग्रेसको नेतृत्वमा सञ्चालन भएका प्रदेश सरकारले प्रेसमैत्री कानुन निर्माण गर्दैनन् कि भन्ने शंका बढेको भन्दै यसमा पार्टीलाई रचनात्मक भूमिका निर्वाह गरिदिन उनले नेतृत्वसँग आग्रह गरे।

युनियनका उपाध्यक्ष नकुल अर्यालले लोकतन्त्रप्रति प्रतिबद्ध नेपाल प्रेस युनियनलाई पार्टीको महाधिवेशन प्रतिनिधि बनाउने चलनको अन्त्य हुनुपर्ने बताए। ०४८ जेठ १३ गते स्थापना भएको नेपाल प्रेस युनियनले २०८० साललाई ‘प्रशिक्षण वर्ष’का रूपमा अगाडि बढाउन लागेको महासचिव दिलीप पौडेलले जानकारी दिए।

प्रशिक्षण वर्षमा युनियनले देशैभरि पत्रकारको हक, हित र अधिकारका साथै उनीहरूको क्षमता अभिवृद्धि र समाचार लेखन विषयमा प्रशिक्षण दिने कार्यक्रम छ।

प्रकाशित: १३ जेठ २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eight =