माओवादी सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

हिमाल प्रेस १३ जेठ २०८० ११:२४
10
SHARES
माओवादी सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति सिंहदरबारमा शनिबार बसेको कांग्रेस, एमाले र माओवादी नेताहरूको बैठक। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ–  नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मामाथि माओवादी सांसद लेखनाथ दाहालबाट लगाइएको आराप संसद्को रेकर्डबाट हटाइने सहमति भएको छ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सिंहदरबारमा कांग्रेस र एमालेका नेताहरूसँग गरेको छलफलमा यस्तो सहमति भएको हो। यस्तै ओलीमाथि लगाइएको आरोप आधारहीन रहेको विषयमा प्रधानमन्त्री प्रचण्डले संसद्‌मा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवाद समाधान गरी स‌ंसद् बैठक सञ्चालन गर्न सहमति जुटाउन बैठक बोलाएका थिए। ‘भ्रम सिर्जना हुने गरी तथ्यहीन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकै हो। यसलाई गलत भनेरै जानुपर्छ,’ बैठकमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भने।

प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्रीले ओलीमाथिको आरोप निराधार रहेको कुरा उल्लेख गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा सांसद लेखनाथ दाहालले केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए। संसद्भित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो। सोही विषयलाई टुंग्याई सदन सञ्चालन गर्न शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच छलफल भएको हो।

एमालेले आरोपको प्रतिवाद गर्दैै संसद् अवरुद्ध गरेको थियो। गिरीले भने, ‘पशुपति क्षेत्र विकास कोषले निर्माणको प्रक्रिया अघि बढाउने हो, त्यो काम पशुपति क्षेत्र विकास कोषको हो। सरकारले बजेट छुट्याउने काम गर्ने हो, यसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूको संलग्नता छैन र हुनसक्ने काम पनि होइन, यो तथ्यहीन र आधारहीन कुरा संसदमा यसरी प्रस्तुत गर्ने कुराले जनतामा भ्रम सिर्जना हुन्छ, त्यो गलत भएको हो।’

यस्ता तथ्य र आधारहीन कुरा भिडियो रेकर्डबाट हटाउन पनि तीन दल सहमत भएका छन्। गिरीले भने, ‘जलहरीको बारेमा आएको कुरा तथ्यहीन भएकाले रेकर्डबाट हटाउने सहमति भएको छ भने दुई अर्बको कुरा पनि निराधार भएकाले त्यो विषय पनि रेकर्डबाट हट्नेछ।’

बैठकमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली लगायत प्रमुख तीन दलका प्रमुख सचेत/सचेतक लगायत थिए। आज बस्ने  प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

यो पनि:

तीन दलका शीर्ष नेता सिंहदरबारमा, सदन सञ्चालनमा सहमति जुटाउने प्रयास

प्रकाशित: १३ जेठ २०८० ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =