लगातारको हावाहुरीका कारण निरास छन् महोत्तरीका किसान

हिमाल प्रेस १३ जेठ २०८० ९:५९
8
SHARES
लगातारको हावाहुरीका कारण निरास छन् महोत्तरीका किसान फाइल तस्बिर।

महोत्तरी– लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन्। जेठ लागीकन प्रत्येक २/३ दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएपछि उत्पादन हात नलाग्ने भएपछि किसान निरास भएका हुन्। पछिल्लो पटक शुक्रबार गएरातिको हावाहुरीले बग्रेल्ती आँप झारेका छन्।

यस्तै फर्सी, लौका, घिरौंला, झिगिँनी, काँक्रा र चिचिन्डासहितका तरकारी बालीका बेला (लहरा) हुत्याउँदै चुँडाएर नोक्सान गरेपछि किसानको पिरोलो बढेको हो।

‘हेर्नोस् न, जेठ लागीकन दिनहुँजसो हावाहुरीले झारेका आँप टिप्दै दिन जान्छ, मुखमै आएको बाली सखाप भएको छ,’ आज सखारै बग्रेल्ती झरेका आँप टिप्दै भंगाहा-४ रामनगरका ६० वर्षीय किसान शुभलाल ठाकुरले भने, ‘जेठ मध्यतिर यत्रो हाहाहुरी त्यति भोगिएको थिएन, खै के हुन लागेको हो!’

अब १५/१६ दिन दुःख काट्दा एउटा बाली हात लाग्छ भन्ने आस पनि मरेको ठाकुर बताउँछन्। तराईमा चाँडै पाक्ने जातको बम्बै आँप जेठ अन्तिममा तयार हुन्छ। तर २ साताअघिको हावाहुरीले आँप झारेपछि दुःख लागेको ठाकुरको भनाइ छ।

महोत्तरीमा जेठमा प्रत्येक २/३ दिनमा हावाहुरी चल्दै आएको छ। बिहीबार साँझ र शुक्रबार रातिको हावाहुरीले झारेका आँप किसान कौडीका दाममा बेच्दैछन्। हुरीले झारेर फुटाएको आँप त मिल्काउनुबाहेक कुनै विकल्प नभएको ठाकुरकै छिमेकी किसान जब्बार शेष बताउँछन्।

विगतमा चैत/वैशाख हावाहुरीको समय हुने र जेठ लागेपछि त्यति नलाग्ने भोग्दै आएका किसानलाई यसपाली जेठमा लगातार चलेको हावाहुरीले अत्याएको छ।

‘जेठको २ साता नबित्दै ५/६ पटक हावाहुरीले हामीलाई चिल्लीबिल्ली बनाएको छ,’ बर्दिबास-९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापामगरले भने, ‘आँप झरे, तरकारीका लहरा चुँडिएर लत्रिएका छन्, भर्खर घोगा लाग्दै गरेका मकैका बोट लडाएर सोतर बनाएको छ।’ प्रकृति अनुकूल नहुँदा विपद् खेप्नुपरेको थापाको भनाइ छ।

हावाहुरीसँगै मेघगर्जन सुनिए पनि पानी भने त्यति नपरेको किसान बताउँछन्। ‘हावाहुरीपछि पानी त परेको छ, तर धानको ब्याड राख्नेगरी माटो गालेर परेको छैन,’ गौशाला-१० लक्ष्मीनियाँका किसान महेश्वर महतो भन्छन्।

जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भंगाहा नगरपालिका फलफूल र तरकारी उत्पादनका पकेटक्षेत्र मानिन्छन्। उत्तरीक्षेत्रका बर्दिबासका खयरमारा, टुटेश्वर, ढुंग्रे, चेरु, माइस्थान, सोनापेटी, भब्सी, पाटु, विजलपुरा र पशुपतिनगर सहितका बस्तीको त मुख्यबाली नै फलफूल (बगैंचा) खेती हो। बगैंचा खेतीमा पनि मुख्य आँप रहँदै आएको छ।

जिल्लाका मध्य र दक्षिणवर्ती क्षेत्रका पिपरा, मटिहानी, जलेश्वर, रामगोपालपुर र मनराशिशवाको स्थानीय तहको बस्तीमा पनि बगैंचा खेती बाक्लै छ। जेठ अन्तिमदेखि लगालग एकपछि अर्को जातका आँप पाक्नेक्रम सुरु हुन्छ। यसरी मुखमै आएको बाली हावाहुरीले सखाप पारेपछि अब वर्षभरिको गुजारा केले चलाउने भन्दै किसान टोलाएका छन्।

‘सबै सुखका साथी रहेछन्,’ दुःखका बेला साथ पाइने आसले आफैंले चुनेका प्रतिनिधिले फर्केर नहेरेपछि चित्त कुड्याउँदै भंगाहा-४ का किसान चन्देश्वर राय दनुवारले भने।

पुराना तरकारी उत्पादक किसान दनुवारले हावाहुरीले लहरे तरकारी नोक्सान पारेपछि अब के गर्ने भन्ने नै रनभुल्लमा परेको बताए।

चैत/वैशाख हावाहुरीको समय भन्ने बुझ्दै आएका किसान जेठ लागेपछि फलफूल र तरकारी अब चैं हात लाग्ने विश्वासमा थिए। तर पुरानो ऋतु रीतिथिति फेरिएर जेठमा हावाहुरी चल्न थालेपछि किसानमा निरासा बढेको हो। यसपाली जेठ लागीकन सयौं बिघाको फलफूल र तरकारी बाली हावाहुरीले नोक्सान गरेको छ।

अहिले जेठमा निरन्तर केही दिनको फरकमा चल्दै (बहदै) आएको हावाहुरी यहीँ मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले भएको विज्ञको मत छ। मानवको घच्चपच्चले प्रकृतिका पुराना रीति फेरिँदा कुसमयको हावाहुरी, बर्खा, गर्मी, शीतलहरजस्ता प्रकोप झेल्नुपरेको रूपान्तरण सामाजिक संस्थाका जलवायुविज्ञ विराट पन्त बताउँछन्।

‘यो प्रभाव न्यूनीकरण गर्न प्राकृतिक स्वरूपको रक्षा र प्रभाव अनूकूल आनीबानी र खेतीपाती गरिन पर्छ,’ पन्त भन्छन्। राज्यका सबै अंगले यो अनुकूलन विधि अँगाल्न आमजनतालाई अभिप्रेरित गर्नुपर्ने पन्तको सुझाव छ। -रासस

प्रकाशित: १३ जेठ २०८० ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 10 =