विश्व युवा विद्यार्थी सम्मेलनमा अमेरिका पुग्ने प्रथम छात्र तारणीप्रसाद प्रधान

सन्तोष खडेरी १३ जेठ २०८० ८:५७
1.5k
SHARES
विश्व युवा विद्यार्थी सम्मेलनमा अमेरिका पुग्ने प्रथम छात्र तारणीप्रसाद प्रधान न्युयोर्क हेराल्ड ट्रिब्युन अखबारमा छापिएको तारणीप्रसाद प्रधानको तस्बिर र शिक्षा मासिकको २००६ फागुन १५ को अंकमा छापिएको समाचार।

दोस्रो विश्वयुद्धको अन्त्यपछि अमेरिकाको प्रतिष्ठित अखबार न्युयोर्क हेराल्ड ट्रिब्युनले बर्सेनि विश्व युवा विद्यार्थी सम्मेलन आयोजना गर्न थाल्यो। सन् १९४७ मा सुरु भएको यस्तो सम्मेलनमा संसारभरका धेरै मुलुकबाट माध्यमिक तह उत्तीर्ण युवा विद्यार्थी आआफ्नो मुलुकको प्रतिनिधित्व गर्दै अमेरिका पुग्थे।

न्युयोर्क हेराल्ड ट्रिब्युनले विभिन्न मुलुकलाई पत्राचार गरी प्रतिनिधित्वका लागि आमन्त्रण गर्दथ्यो। सम्बन्धित मुलुकले आन्तरिक प्रतिस्पर्धामार्फत विद्यार्थी छनोट गरी पठाउँथे। न्युयोर्क हेराल्ड ट्रिब्युनले सन् १९४७ देखि यस्तो सम्मेलन आयोजना गरे पनि नेपाललाई भने सन् १९५० को सम्मेलनका लागि पहिलोपटक आमन्त्रण गरेको थियो। भारतलाई समेत त्यतिबेलैबाट आमन्त्रण गरिएको हो।

सन् १९५० को मार्चमा आयोजना हुने सम्मेलनका लागि सन् १९४९ जुन १६ मा नै न्युयोर्क हेराल्ड ट्रिब्युनका तर्फबाट नेपाललाई एकजना प्रतिनिधि पठाउन निमन्त्रणा आएको थियो। त्यसअन्तर्गत अमेरिका पुग्ने प्रतिनिधि दस हप्तासम्म अमेरिकाका विभिन्न राज्यमा रहने गर्दथे।

नेपाललाई निमन्त्रणा आएपछि शिक्षा विभागले सार्वजनिक सूचना प्रकाशित गरी विद्यार्थीबीच खुला प्रतिस्पर्धा गराएको थियो। प्रतिस्पर्धामा नेपाल र भारतका विभिन्न ठाउँमा अध्य्यनरत ९८ जना विद्यार्थी सहभागी थिए। तीमध्ये दुई जना छात्रा थिए। प्रतिस्पर्धामा निबन्ध लेखनको विधा अपनाइएको थियो। नेपालमा रहेका विद्यार्थीका लागि सरस्वती सदन  (त्रिचन्द्र कलेज) मा जम्मा गरी निबन्ध लेख्न लगाइएको थियो।

भारतमा रहेका नेपाली विद्यार्थीका हकमा भने सम्बन्धित विद्यालयका प्रिन्सिपललाई निबन्धको शीर्षक पठाई उक्त निबन्धको सक्कल प्रति नेपालमा झिकाएर जाँचिएको थियो। सहभागी ९८ प्रतिस्पर्धीमध्येबाट काठमाडौँको असन भोटाहिटीका १७ वर्षीय तारणीप्रसाद प्रधान छनोट भएका थिए। ‍(नेपाल शिक्षा मासिक २००६,फागुन १५) उनी दार्जीलिङको भिक्टोरिया स्कुल डोहिलबाट सिनियर केम्ब्रिज कोर्सको परीक्षा दिएर बसेका थिए।

सम्मेलनमा सहभागी हुन भारतबाट दुईजना विद्यार्थी छनोट भएका थिए। एकजना लखनउ निवासी छात्रा उषा रोय र अर्को दक्षिण भारतीय राज्य केरलाको त्रिवन्दरमका पी बालाकृष्ण नायर थिए। तारणीप्रसाद प्रधान र दुई भारतीय विद्यार्थी दिल्लीबाट सँगसँगै अमेरिका गएका थिए। उक्त सम्मेलनमा सहभागी हुन १६ मुलुकका करिब २५ जना विदेशी विद्यार्थी अमेरिका पुगेका थिए। पान अमेरिकन वर्ड एअरवेज ((PAN American World Airways) को विमानमा सवार भएर भारतीय विद्यार्थीसहित प्रधान १० जनवरी १९५० का दिन न्युयोर्कको आइडिल वाइल्ड विमानस्थल (हालको जोनएफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल) मा ओर्लिएका थिए। त्यसपछि उनीहरूले टेक्सास, वासिङ्टन, न्यु इङ्ल्यान्ड, टेनेसी भ्यालीलगायतका क्षेत्रमा  भ्रमण गरे। विभिन्न विद्यालयमा पुगेर सिक्नेदेखि विद्यार्थीबीचअन्तरसंवादमा सहभागी भए।  यसरी सिकाइमार्फत उनीहरूलाई ४ मार्चका दिन न्युयोर्कमा आयोजित उक्त सम्मेलनको वक्ताका रूपमा तयार गरिएको थियो।

न्युयोर्क हेराल्ड ट्रिब्युन सम्मेलनमा सहभागी भई आफ्नो मुलुकको परिचय दिँदा तारिणीप्रसादले नेपाललाई तिब्बत र भारतको बीचमा हिमालको दक्षिणतिर रहेको सानो रहस्यमयी र सबैका लागि प्रवेश पाउन निषेध गरिएको एउटा गुप्त देशका रूपमा चिनाएका थिए।

‘औँलामा गन्न सकिने जति अति सीमित मात्रामा मात्र विदेशीहरूले प्रवेश अनुमति पाउने नेपाल त्यतिबेला सबैका लागि एउटा गुप्त र रहस्मयी थियो’, नेपालका बारेमा उनले भनेका थिए, ‘अहिले पनि नेपालका अधिकांश महिला अशिक्षित छन्। मेरी हजुरआमा जस्तै अझै पनि ती महिला लेख्नपढ्न जान्दैनन् तर हिन्दु धर्मशास्त्र र ग्रन्थका श्लोक छन्दमा वाचन गर्छन् जुन सायद मैले कहिले सिक्न सकुँला? नेपालमा बहुविवाह प्रथा कायम छ, उदाहरणका लागि मेरो काकाका तीनवटा श्रीमती छन्। केही मानिसले मेरो देश नेपाललाई गुप्त ठाउँ  (Shangri-La) भनेको सुन्छु, किनकि सायद यो धेरै राम्रो र सबैलाई पुग्ने पहुँच नभएर होला। म यहाँ आउनका लागि आफ्नो घरबाट अग्लो पहाडको बाटो हुँदै एक दिनभर घोडा चढ्नुपर्‍यो। नेपालको इतिहासमा अहिलेसम्म जम्मा ४० जना अमेरिकीले मात्र नेपालभित्र प्रवेश पाएका छन्। म आशा गर्छु अब छिट्टै धेरै अमेरिकीहरू नेपाल आऊन्। (न्युयोर्क हेराल्ड ट्रिब्युन ६ मार्च १९५०)

उक्त मुख्य सम्मेलनपछि आफ्नो दसहप्ते लामो अमेरिका यात्रा सम्पन्न गरी भारतीय विद्यार्थीसहित तारणीप्रसाद प्रधान १० मार्च १९५० मा नयाँदिल्ली फर्किएका थिए। (दी इन्डियन एक्स्प्रेस, १२ मार्च १९५०)

अमेरिकाबाट फर्किएपछि तारणीप्रसाद प्रधानले नेपाल शिक्षा मासिकमा ‘मेरो अमेरिका छात्र सम्मेलन यात्रा’ शीर्षकमा सानो लेख लेखेका थिए। नेपाल शिक्षा मासिकको २००६ चैत १५ को अंकमा प्रकाशित उक्त लेखमा उनले लेखेका छन् :

विभिन्न देशका हामी प्रतिनिधिहरूले प्यान अमेरिकन वर्ल्ड एयरवेज र ट्रान्स वर्ल्ड एयरवेजको राम्रो प्रबन्धबाट जताततै घुम्न पाइने फ्री टिकट पायौँ। यूएसएमा पुगेपछि हामीले गर्नुपर्ने कार्यक्रम पायौँ। यी कार्यक्रम फोरम डिरेक्टर मिसिज आलरले निक्कै विचार पुर्‍याएर तयार गरेकी थिइन्। हामी त्यहाँ अढाई महिनासम्म बस्यौँ। हामीले त्यहाँको भिन्दाभिन्दै भागमा भ्रमण गरिसक्नु थियो। उक्त अवधिभर हामी स्कुल तथा तिनका वरपरका मानिसका पाहुना भयौँ। अमेरिकी नरनारीहरूको अतिथि सत्कार र मानमिजासले म मात्र होइन कि सारा प्रतिनिधिमा राम्रो प्रभाव पार्‍यो। यही सत्कार र आत्मीयताले गर्दा हामी दुवै हप्तामा पनि स्कुल तथा घरका सदस्य र जहानबच्चा जस्ता भयौँ। घरघरमा छँदा आफ्ना घरपट्टीका कार्यक्रमका बमोजिम चल्यौँ।

यी घरपट्टी पनि हाइस्कुलकै छात्रछात्रा थिए। हामी सँगसँगै उठ्थ्यौँ, सँगसँगै जलपान गर्थ्यौँ, अनि सँगसँगै स्कुल पनि पुग्थ्यौँ। स्कुलस्कुलमा छँदा हामीले कैयौँ सभामा सरिक हुन जाने कार्यक्रम बनेका थिए। यी सारा सभा हाम्रै निम्ति बन्दोबस्त गरिएका थिए। केही ठुल्ठुला सभा देखिसुनिसकेपछि हामीले भिन्दाभिन्दै क्लासमा गएर बोल्न पनि प । त्यहाँका लडकालडकीलाई आफ्नाआफ्ना देशका चालचलन सुनाउनु नै यसको उद्देश्य थियो। अर्थात् हाम्रा सामाजिक, आर्थिक तथा नैतिक अवस्था, संसारमा हाम्रो स्थिति, हाम्रो चालचलन, संस्कृति, धर्म, हाम्रा शिक्षालयका सञ्चालन इत्यादि हामीले जानेजति बुझाउनु थियो।

हामी अमेरिकामा छउन्जेल हामीलाई सिभिल एअर पेन्ट्रोलले दुईवटा ‘सी ४७’ दिइएको थियो। यिनैमा हामी दक्षिणतिर डालस टेक्सासमा गयौँ। त्यहाँबाट टेनेसी भ्यालीमा गयौँ। त्यसपछि एटोमिक इनर्जी प्लान्ट हेर्न ओक्रिज रटेना पनि पुग्यौँ। आखिरमा हामी वासिङ्टन डीसीमा उत्रियौँ। त्यहाँ हामी प्रतिनिधिहरूले आआफ्ना देशका राजदूत र यूएसएका अरू ठुलाठुला मानिसलाई भेट्यौँ। त्यहीँ हामीले कंग्रेस र सिनेटका पनि देख्यौँ। अरू हेर्न लायकका वस्तुहरू पनि हेर्‍यौँ।

हामीलाई लेकसक्सेसमा लगेर संयुक्त राष्ट्रसंघको संस्था देखाए। हामीले अमेरिकामा हावर्ड, याले, प्रिन्स्टन, कोलम्बिया इत्यादि प्रसिद्ध विश्वविद्यालय पनि हेर्‍यौँ। हामीले बसेका घर तथा स्कुलका नाम यिनै हुन् : कनेक्टिकटका दुई प्राइभेट स्कुल डोनाल्ड वेव, बाउन्ड ब्रुक हाइस्कुल (न्युजर्सी), त्यसपछि जेफ ह्यास र उडमियर हाइस्कुल (लङ आइल्यान्ड न्युयोर्क) ” (नेपाल शिक्षा मासिक २००६, चैत १५)

भारतीय विद्यार्थीसहित नेपालका तारणीप्रसाद प्रधान अमेरिकामा सम्पन्न सम्मेलनमा सहभागी भई दिल्ली फर्किएको विषयमा दी इन्डियन एक्स्प्रेसको १२ मार्च १९५० को अंकमा छापिएको समाचार।

तारणीप्रसाद प्रधानबारे थप विवरण उपलब्ध नहुनाले उनीबारे यहाँ केही उल्लेख गर्न सकिएको छैन। तारणीप्रसाद प्रधान छनोट भएको दुई वर्षपछि सन् १९५२ मा दार्जिलिङको सेन्टहेलेन कन्भेन्टबाट सिनियर केम्ब्रिज परीक्षा उत्तीर्ण गरेकी विन्देश्वरी मल्ल (नेपालको पहिलो महिला राजदूत) ले अमेरिका जाने अवसर पाइन्। अमेरिका पुगेकी मल्लले तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुमेनलाई समेत भेटेकी थिइन्। (दी ब्रोङ्क्सिवल रिपोर्टर, १८ मार्च १९६२)

मल्लले पछि अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट बीए डिग्री हासिल गरिन् भने त्यहीँको जोन हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरिन्। अमेरिकाबाट नेपाल फर्किएपछि नेपालको परराष्ट्र सेवामा प्रवेश गरेकी मल्ल परराष्ट्र मन्त्रालयको सहसचिव हुँदै भारतका लागि राजदूत भइन्। न्युयोर्क हेराल्ड ट्रिब्युनको एक अभिलेखअनुसार न्युयोर्क हेराल्ड ट्रिब्युन सम्मेलनमा अमेरिका पुग्ने  प्रधान (१९५०) र मल्ल (१९५२) सँगै अन्य नेपालीमा द्वारिकाराम भगत (१९५४), भरत श्रेष्ठ (१९६४), गोविन्द चिपालु (१९६४),  किरणकुमार भट्टराई (१९६४) थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =