कानुनबमोजिम गर्नू भन्दै राष्ट्रपतिले फिर्ता पठाए रेशम चौधरीलाई माफी दिने पत्र

हिमाल प्रेस १२ जेठ २०८० १६:२४
246
SHARES
कानुनबमोजिम गर्नू भन्दै राष्ट्रपतिले फिर्ता पठाए रेशम चौधरीलाई माफी दिने पत्र फाइल तस्बिर

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले टिकापुर हत्या काण्डका दोषी रेशम चौधरीलाई आम माफी दिने सरकारको निर्णय कानुन बमोजिम नभएको भन्दै फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयका सञ्चार सल्लाहकार किरण पोखरेलका अनुसार कानुनबमोजिम प्रक्रिया पुरा गर्न भनि सरकारले पठाएको पत्र सरकारलाई नै फिर्ता पठाइएको हो।

‘गृहको पत्र गृहमै फिर्ता भएको छ। प्रचलित कानुन, यससम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुनबमोजिम गर्न निवेदन गर्नु’ पोखरेलले हिमालप्रेससँग भने।

कैलालीको टीकापुरमा २०७२ सालमा भएको हत्याकाण्डमा चौधरीसहित केही व्यक्तिको संलग्नता रहेको ठहर अदालतले गरेको थियो। ०७२ भदौ ७ गते टीकापुरमा भएको आन्दोलनमा चौधरीकै निर्देशनमा भएको आक्रमणमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक केशव बोहरासहित आठ सुरक्षाकर्मीको मृत्यु भएको अदालतकाे ठहर छ।

राष्ट्रपति कार्यालयमा प्रहरी निरीक्षक बोहराकी श्रीमती शारदा बोहरा कडायतले आजै निवेदन पेस गरेकी थिइन्।  चौधरी अहिले डिल्लीबजार कारागारमा छन्। उनले अहिलेसम्म पाँच वर्ष दुई महिना कैद भुक्तान गरिसकेका छन्। उनलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते कैद मुक्त गर्ने तयारी सरकारले गरेको थियो।

 चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालत र उच्च अदालतको फैसला सर्वोच्चले गतसाता सदर गरेको थियो। फैसला सदर भएसँगै रेशमले अझै १४ वर्ष कैदमा बस्नु पर्ने फैसला छ।

प्रकाशित: १२ जेठ २०८० १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =