पाँचखाल बृहत् खानेपानी आयोजना पुसभित्र सम्पन्‍न गर्ने लक्ष्य

हिमाल प्रेस ११ जेठ २०८० ९:१२
10
SHARES
पाँचखाल बृहत् खानेपानी आयोजना पुसभित्र सम्पन्‍न गर्ने लक्ष्य प्रतिनिधिमूलक फाइल तस्बिर।

काभ्रे– पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ। ७ हजार व्यक्तिलाई खानेपानी पुर्‍याउने लक्ष्यकासाथ सुरु गरिएको विविध कारण आयोजनाको समायावधि १ वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका ७ हजार घरमा खानेपानी पुर्‍याउने लक्ष्य लिइएको जनाइएको छ।

०७६ भदौ १२ गते सम्झौता गरिएको परियोजनाको ०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिए पनि कोभिड महामारीलगायत सामग्री अभाव तथा विविध कारणले १ वर्ष समयावधि थपिएको हो। सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा ०७९ सालभित्र ५ खाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सक्नेसमेत उल्लेख गरिए पनि आयोजना लम्बिएको हो।

नगरको १३ मध्ये १० वटा वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ १ अर्ब ३४ करोड ६६ लाखमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको थियो। आयोजना सम्झौताको शर्तअनुसार कुल योजनाको ५ प्रतिशत अर्थात् ११ करोड ५ लाख उपभोक्ताले जम्मा गरिसकेका छन्। जसअनुसार प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार जम्मा गरेका छन्।

हाल खोनेपानी आयोजनाको काम ८५ प्रतिशत सकिएको जनाउँदै केही स्थानमा पानी परीक्षणसमेत गरिएको छ। परीक्षणबाट मुहानमा लगातार ४ पम्प प्रयोग गरी ४ कलेक्टर वेलबाट संकलन भएर २ वटा सम्वेलमा जम्मा भएको पानी २४ घण्टा तान्दा पानीको सतहबाट ८० सेन्टिमिटरमात्रै घटेको पाइएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए।

उनका अनुसार योजना प्रारम्भिक लक्ष्यअनुसार प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ। प्रतिघण्टा ३ लाख २ हजार ४ सय पानी तान्न सहज ढंगबाट सकिने भएको छ। यस्तै दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो।

योजना लागु भएको क्षेत्रमा हाल ६ हजार ३७ धारा जडान हुने भएको छ। हालको अवस्थामा प्रतिधारा दैनिक १ हजार १ लिटर पानी आउने छ। जसमध्ये दैनिक प्रतिव्यक्ति १ सय ९२ दशमलव ५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको छ।

समिति अध्यक्ष लामिछानेले आयोजनामा हाल दैनिक १ सय ३० जना कामदार खटिरहेको बताए। आयोजनाका सुपरभाइजर इन्द्रमानसिं बस्नेतका अनुसार आयोजनामा कलेक्टर-वेल चार, सम्प-वेल २, भुई ट्यांकी १६, ब्रेक प्रेसर ट्याङकी छ, पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर २, प्लेन सेडिमेन्टेसन ट्यांकी २, र्‍यायापिड-स्याण्ड फिल्टर १), प्रसारण लाइन ९ दशमलव १३ किलोमिटर, शाखा प्रसारण लाइन ३७ दशमलव २३ किलोमिटर, वितरण लाइन एक सय ८९ दशमलव ३ किलोमिटर, कार्‍यालय भवन १, गार्ड भवन १७, जेनेरेटर भवन ५, फायरहाइड्रेन्ट २०, इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्य, सरसफाइका संरचना तथा आवश्यक शौचालय निर्माणका काम अन्तिम चरणमा पुगेको छ।

पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका-१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्‍याउने काम भइसकेको छ।

यस्तै हाल मूल र रिजर्भ ट्यांकीसम्म पहुँचमार्गको काम भइरहेको छ भने करिब ४ हजार घरमा धारा जडानकार्य सकिएको लामछिानेले बताए। उनका अनुसार कोभिड संक्रमणका लहर तथा गत असार-साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पुर्‍याएका कारण पनि आयोजनाको काम केही धकेलिएको हो। -रासस

प्रकाशित: ११ जेठ २०८० ९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =