तात्तिँदै उपाधि होड

हिमाल प्रेस १० जेठ २०८० २२:३४
54
SHARES
तात्तिँदै उपाधि होड

काठमाडौँ-सहिद स्मारक ए डिभिजन लिगका आधा खेल सकिँदा जावलाखेल युथ क्लब शीर्षस्थानमा थियो। त्यसबेलासम्म जावलाखेलका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले आफ्नो टिमलाई उपाधि दाबेदार मानेनन्। सार्वजनिक रुपमा बोल्दा, उनी आफूहरूको ध्यान उपाधिमा नरहेको बताउँथे।

१७ औँ खेलपछि भने सुनिलको बोली फेरियो। जावलाखेल उपाधि दाबेदारमा रुपान्तरित भएको उनको भनाइ थियो। ‘बल्ल रेलिगेसनबाट सुरक्षित भइयो। अब हामी शीर्षस्थानका लागि प्रतिस्पर्धा गर्नेछौँ,’ फ्रेन्ड्स क्लबलाई ४-१ ले हराएपछि सुनिलले भनेका थिए।

सुनिलको यो उत्साहको कारण थियो, चर्च ब्वाइज युनाइटेडसँगको अंक बराबरी। फ्रेन्ड्सलाई हराएपछि जावलाखेलको ३० अंक भएको थियो। आफूलाई १५ औँ चरणमा शीर्षस्थानबाट विस्थापित गरेको चर्च ब्वाइजलाई भेट्टाएपछि जावलाखेलले बटुलेको उत्साह धेरै समय टिकेन।

किनभने फ्रेन्ड्सलाई पराजित गरेपछि जावलाखेल जितविहीन छ। खेलेका चारै खेल बराबरीमा टुंगिएका छन्। बुधबार साँझ दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लबसँगको गोलरहित बराबरी जावलाखेलको लगातार चौथो बराबरी हो।

‘हामी उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका थियौँ। तर अब चाहिँ गाह्रो भएको छ। लगातारको बराबरीका कारण उपाधि लक्ष्य धेरै कठिन बनेको छ,’ सुनिलले भने। बुधबारको नतिजाले जावलाखेललाई तेस्रो स्थानमा पुर्‍यायो। मछिन्द्र भने दोस्रो स्थानमा उक्लियो। मछिन्द्रसँग अब ३५ अंक छ भने जावलाखेलसँग ३४। यी दुवै टिमले २१-२१ खेल खेलेका छन्। एक खेल कम खेलेको चर्च ब्वाइज दुई अंकले अघि छ।

अग्रपंक्तिले अपेक्षाकृत खेल देखाउन नसक्दा मछिन्द्रसँग बराबरीमा रोकिनु परेको भनाइ पनि राखे, सुनिलले। ‘खेल जित्न चाहिने त गोल नै हो। तर आज हाम्रा स्ट्राइकर चलेनन्। मुभमेन्ट नै भएन,’ सुनिलले भने, ‘यसअघि मछिन्द्रसँग खेल्दा १-० को स्थितिलाई उल्टाएर विजयी भएका थियौँ। अचेल भने आवश्यकता अनुसार गोल गर्न सकिएको छैन।’

नयाँ सिजनको लिगको सुरुवात गर्दा जावलाखेलले मछिन्द्रलाई ३-१ ले हराएको थियो। जावलाखेलले तीनै गोल दोस्रो हाफमा गरेको थियो। त्यस खेलमा गोलकर्ता रहेका एन्टोकोटो सिनोस मासोअबीले १४ गोल गरिसकेका छन्। मासोअबीका ‘पार्टनर’ फोडे फोफानाको नाममा आठ गोल छ।

बुधबार गोल गर्न नसके पनि मासओबीले गोल लय गुमाएका छैनन्। किनभने उनले पछिल्ला पाँच खेलमा चार गोल गरेका छन्। त्यसअघिका तीन खेलमा भने उनी गोलरहित बने। फोफानाले भने १० खेलमा दुई गोल मात्र गरेका छन्। सेन्ट्रल फरवार्ड हिसुब थपालियाले अहिलेसम्म चार गोल गरेका छन्। कम गोल गरे पनि जावलाखेलको अग्रपंक्ति चलायमान बनाउन हिसुबको योगदान महत्त्वपूर्ण छ।

मुख्य प्रशिक्षक सुनिल आफ्नो अग्रपंक्तिबाट निरन्तर गोलको आशा गरिरहेका छन्। यद्यपि उनी खेलाडीको थकानबारे भने जानकार छन्। ‘हाम्रा कयौँ खेलाडी स्वाभाविक लयमा खेल्न सकिरहेको छैनन्। यसको कारण थकान नै हो,’ सुनिलले भने।

पछिल्ला दुई सिजन लगातार च्याम्पियन बनेको मछिन्द्र २० औँ चरण सकिँदा शीर्ष दुईमा पुगेको थियो। २१ औँ चरण सकिँदा पनि मछिन्द्रको स्थान अर्को टिमले खोस्न सक्ने छैन। नयाँ सिजनको सुरुवातमा चित्तबुझ्दो प्रदर्शन गर्न नसकेको मछिन्द्र पछिल्लो समय सम्हालिएको छ।

लिग मध्यान्तरबाट अघि बढ्दै गर्दा मछिन्द्र खेलाडीको चोटका कारण पीडित बनिरह्यो। जसकारण जित्नुपर्ने निकै खेल बराबरीमा सकिएका थिए। सोचेभन्दा बढी खेलमा बराबरीमा रोकिनु परे पनि मछिन्द्र आखिरमा उपाधि होडमा आइपुगेको छ। १० खेल खेल्दा एकमा मात्र पराजय भोग्नुको संकेत यही हो।

‘हाम्रो लक्ष्य उपाधि नै हो। यसकारण आज तीन अंक बटुल्ने गरी खेलेको हो। रणनीतिक रुपमा हाम्रो खेल ठिकठाक थियो। तर केही पक्षमा हामी कमजोर देखियौँ। जस्तै, सेटपिस। यद्यपि बराबरीमा खुसी छौँ,’ आफ्नो पूर्वक्लबसँगको खेलपछि किशोरले भने।

किशोरले उपाधि होडमा रहेका सबै क्लबको आगामी खेल कठिन रहेको विचार राखे। ‘कुनै टिमले आगामी चरणमा एकर्फी दबदबा कायम गर्ने सम्भावना छैन। किनभने सबैको बाँकी खेल कठिन नै छन्,’ उपाधि होडबारे टिप्पणी गर्दै किशोरले भने।

मछिन्द्रले आउँदो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्दैछ। आर्मी बुधबार न्युरोड टिम एनआरटीसँग १-० ले हारे पनि पाँचौँ स्थानमा यथावत् छ। आर्मीपछि मछिन्द्र सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबसँग भिड्नेछ। लिगका अन्तिम दुई खेलमा भने मछिन्द्रका विपक्षी हिमालयन शेर्पा क्लब र मनाङ मस्र्याङ्दी क्लब रहनेछन्।

आर्मी बलियो टिम भए पनि मछिन्द्र जितको लक्ष्यसाथ मैदान ओर्लिने किशोरको भनाइ थियो। उनको आत्मविश्वासलाई विमल घर्ती मगरको पुनरागमनले बल पुर्‍याएको हुनुपर्छ। चोटका कारण तीन खेल गुमाएका विमल जावलाखेलविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। यो खेलमा विमलले जसरी खेले, त्यसले किशोरलाई सन्तुष्ट भने बनाएन। ‘विमलको प्रदर्शनबाट खुसी छैन। सायद थप अभ्यासपछि खेलमा सुधार आउला,’ विमलबारे किशोरको टिप्पणी थियो।

प्रकाशित: १० जेठ २०८० २२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =