पर्यटक लोभ्याउँदै दाङको धारापानी

सिँढी बनाउने काम आर्थिक अभावले रोकियो

हिमाल प्रेस १० जेठ २०८० ७:३५
12
SHARES
पर्यटक लोभ्याउँदै दाङको धारापानी

दाङ– बर्दियाको राजापुर नगरपालिका-३ की बिन्दु चौधरी दाङको घोराही-५ धारापानीमा भेटिए। बिदाको सदुपयोग गर्दै उहाँ यहाँ घुम्न आएका हुन्। ‘धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो,’ चौधरीले भने।

यस्तै तुलसीपुर-६ का यमलाल भण्डारी पनि साथीसँग धारापानी घुम्न आए। गर्मीमा शीतलता पाउने आसले उहाँ यहाँ आएका हो। पछिल्लो समय दाङको धारापानी आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।

पाण्डवेश्वर महादेवधाम, धारापानी पर्यटकीय एवम् धार्मिक क्षेत्र जोड्ने पुल निर्माण भएसँगै पर्यटकलाई सहज भएको छ। ‘बिदाको दिन परिवार र साथीभाइका साथ घुम्न आउनेको संख्या धेरै रहेको छ’, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले भने।

दसैँ, तिहार, बिदाको समय र गर्मीमा शीतलताका लागि घुम्न आउनेको संख्या बढी छ। पूरै स्थल घुम्न लगभग एक घण्टा लाग्छ। प्राकृतिक मनमोहक स्थान भएकाले धारापानी सबैको रोजाइमा पर्न थालेको छ।

‘यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटक यहाँ आउन थालेका छन्’, अधिकारीले भने। शिवरात्रि र साउनको सोमबार भक्तजनको घुइँचो नै लाग्छ। दैनिक ५ सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्।

नजिकै सरयू गंगा बबई नदी र वरपर हरियाली वातावरण छ। धारापानीमा ५५ दशमलव ५ फिट उचाइको पञ्चधातु मिश्रित त्रिशूल निर्माण गरिएको छ। अन्य जिल्लाबाट पनि यहाँ घुम्न आउने गरेका छन्।

यहाँ १ सय ८ शिवलिंग, एक सय ८ वरपिपल जोडी, एक सय ८ समीका वृक्ष, एक सय ८ तुलसीका मठ, ॐकार कुण्ड, पाण्डव शयनशिला र विभिन्न देवी-देवताका मन्दिर यहाँ रहेका छन्। दाङ उपत्यकाको अवलोकन धारापानीबाट गर्न सकिन्छ।

पाण्डवेश्वरधाम धारापानीको पर्यटन विकासका लागि विभिन्न पूर्वाधार निर्माण गर्न गुरुयोजना तयार भएको छ। गुरुयोजनाअनुसार हाल धामबाट करिब दुई किलोमिटर दक्षिणतर्फको डाँडामाथि सुनकोटडाँडासम्म सिँढी र मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए।

बृहत् गुरुयोजनामा धारापानी वरपरको वनक्षेत्र संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करिब चार बिघा क्षेत्रफलमा नौका शयरका लागि ताल बनाउने, सुनकोटडाँडामा ३१ क्विन्टलको घण्ट निर्माण गर्ने योजना छ। सुनकोटमा षड्केश्वरी भगवती मन्दिर पुनःनिर्माण गर्न थालिएको छ।

धारापानीमा पञ्चधातुमिश्रित त्रिशूल निर्माण भएपछि पर्यटक बढीजसो आकर्षित भएका हुन्। पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले भग्नावशेष अवस्थामा रहेको मन्दिरको संरक्षण गरेको छ। सुनकोटबाट दाङ उपत्यका, देउखुरीलगायत ठाउँ तथा हिमशृंखलासमेत स्पष्ट देख्न सकिन्छ।

पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने काम गुरुयोजनाअनुसार अगाडि बढेको धाम व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए। सुनकोटस्थित भगवतीको मन्दिरसम्म ४ हजार ९ सय ६३ सिँढी बनाउने काम आर्थिक अभावले रोकिएको छ।

पाण्डवेश्वर मन्दिरभन्दा उत्तरतर्फको बबई नदीको छेउमा जलाशय बनाइएको छ। घोराही बजारबाट सो स्थान नौ किलोमिटर टाढा पर्छ। ‘आर्थिक अभावले गुरुयोजना अनुसारका काम अघि बढ्न सकेका छैनन्’, उहाँले भने। चुरे पहाडको फेदीमा अवस्थित धारापानी समुद्री सतहबाट छ सय ३३ मिटर उचाइमा छ। -रासस

प्रकाशित: १० जेठ २०८० ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =