खाणको दाबी : पूर्ववर्ती सरकारको प्रस्तावलाई नै निरन्तरता दिएको हुँ [प्रहरीलाई दिएको बयानसहित]

हिमाल प्रेस ९ जेठ २०८० १९:३१
10
SHARES
खाणको दाबी : पूर्ववर्ती सरकारको प्रस्तावलाई नै निरन्तरता दिएको हुँ  [प्रहरीलाई दिएको बयानसहित] फाइल तस्बिर।

काठमाडौँ-  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणले नेपालीलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौँ भनी रकम लिएको भन्ने आरोपमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। उनले प्रहरीसँगको बयानमा यस्तो दाबी गरेका हुन्।

उनले आफू गृहमन्त्री हुँदा शरणार्थीलाई मानवीय व्यवहार गरेको र मन्त्रालयमा भएका सबै कामकारबाही नियमसम्मत भएको जिकिर गरेका हुन्। खाणले पूर्ववर्ती सरकारले गरेको प्रस्तावलाई नै निरन्तरता दिएको बयान दिएका छन्। उनले भनेका छन्, ‘भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपाय पहिल्याउन गठित कार्यदलको प्रतिवेदन तत्कालीन गृहमन्त्रीले बुझी कार्यान्वयनका लागि अगाडि बढाएको अवस्थामा भुटानी शरणार्थीसम्बन्धी समस्या र समाधानको उपाय सम्बन्धमा मन्त्रिपरिषदमा उक्त समयमा नै प्रस्ताव प्रस्तुत गरेको हो। उक्त प्रस्तावलाई नै निरन्तरता दिएको हो।’

उनले बयानमा आफ्नो मोबाइल कसरी फ्याक्ट्री रिसेट भयो भन्नेबारे पनि थाहा नभएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन।’

खाणले आफू गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदासमेत नेपालको छवि उच्च राख्ने काम गरेको पनि बयान दिएइका छन्। उनले भनेका छन्, ‘कोभिडको समयमा भुटानी शरणार्थी तथा तिब्बतीयन शरणार्थी समेतलाई भ्याक्सिन लगाउन नेपाली नागरिकता हुनुपर्ने अवस्थामा समेत मैले पहल गरी निजहरूलाई भ्याक्सिन लगाउने कार्य गरेको हुँ।’

त्यति बेला आफूलाई अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेको उनको भनाइ छ। उनले भनेका छन्, ‘गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होइन, मैले सो कार्य सोच्न पनि सक्तिनँ।’

यस्तो छ खाणको बयान

टेकनारायण पाण्डे नेपाल सरकारको सचिव भएको कारण चिनेको हुँ। नरेन्द्र केसी मेरो निजी सचिव थिए। टोपबहादुर रायमाझी संविधानसभा सदस्य, प्रतिनिधिसभा सदस्य र पूर्व मन्त्रीसमेत भएकोले चिनजान छ।

म मिति २०७८ साल असार महिनाको २९ गते देखिमिति २०७९ पुस महिनासम्म गृहमन्त्रीका रूपमा काम काज गरेको हुँ। म गृह मन्त्री रहँदा संविधान र कानुनको अधीनमा रही देशमा शान्तिसुरक्षा अमनचयन कायम गर्नेलगायत मन्त्रीले गर्नुपर्ने काम इमानदारीपूर्वक सम्पादन गरेको हुँ।

बरामद कालो रङको डायरीमा लेखिएको अंक र अक्षर मेरो हो। सोबाहेक अन्य थए २ वटा कालो रङ, एउटा खैरो रङको डायरी र सम्पत्ति विवरण भरिएका पाना–३८ समेत मेरो हो। भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपायहरू पहिल्याउन बनेको बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले पेस गरेको प्रतिवेदन सोही कार्यदलका साथै सम्बन्धित निकाय र महाशाखालाई जानकारी होला।

गृह मन्त्रालयको च.नं.८४३ मिति २०८०।१।२६ गतेको पत्रसाथ प्राप्त कागजात हेर्दा मिति २०७६।०७।०१ मा समितिले प्रस्तुत गरेको उपरोक्त प्रतिवेदनमा संयोजक बालकृष्ण पन्थी, विज्ञ गणेशबहादुर केसी रहेको दुई जनाले दस्तखत गरेको प्रतिवेदनमा तत्कालीन मन्त्रीले तत्कालीन सचिवका नाममा प्रतिवेदनको अध्ययन तथा कार्यान्वयन अगाडि बढाउन हुन भनी तोक लगाई अगाडि बढाएको देखिन्छ।

भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदन तत्कालीन गृहमन्त्रीको पालामा लिने कार्य भएको भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले दिएको प्रतिवेदनउपर थप छलफल भएपश्चात गरिएका निर्णयहरू कार्यान्वयनका लागि नेपाल सरकार, मन्त्रिपरिषदसमक्ष प्रस्ताव पेस गर्न मबाट मिति २०७८।०८।१२ मा स्वीकृत दिई सो प्रस्ताव मन्त्रिपरिषदमा पेस भएको हो।

नेपाल सरकार कार्य सम्पादन नियामावलीअनुसार सम्बन्धित विभागले प्रस्ताव उठाउने, सचिवले प्रस्ताव प्रस्तुत गर्छन्। मन्त्रीले सदर गर्ने र मन्त्रिपरिषदले प्रस्ताव पारित गर्ने गरिएको छ। भुटानी शरणार्थीसम्बन्धी समस्या समाधानको उपायहरूको सम्बन्धमा प्रस्ताव मन्त्रिपरिषदमा पेस भयो। कागजात केके पेस भए मलाई अहिले सम्झना भएन।

नेपाल सरकार कार्य सम्पादन नियामावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरूको कार्य क्षेत्र तोकेको छ। मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ। तसर्थ मन्त्रालयको अभिलेखहरूको सुरक्षा गर्ने जिम्मेवारीसमेत तोकिएको छ।

गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होइन, मैले सो कार्य सोच्न पनि सक्तिनँ।

एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्तैन। मन्त्रालयको कागजपत्र, प्रतिवेदन, सम्झौता लगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याइएको हुन्छ। यो मन्त्रालयको प्रशासनिक जिम्मेवारी हो।

पूर्ववर्ती सरकारले भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपाय पहिल्याउन गठित कार्यदलको प्रतिवेदन तत्कालीन गृहमन्त्रीले बुझी कार्यान्वयनका लागि अगाडि बढाएको अवस्थामा भुटानी शरणार्थीसम्बन्धी समस्या र समाधानको उपाय सम्बन्धमा मन्त्रिपरिषदमा उक्त समयमा नै प्रस्ताव प्रस्तुत गरेको हो। उक्त प्रस्तावलाई नै निरन्तरता दिएको हो।

म गृहमन्त्री भएपछि देशमा शान्तिसुव्यवस्था र अमनचयनका लागि गृह मन्त्रालयका उच्च पदाधिकारी र जिम्मेवार अधिकृतहरूलाई निर्देशन दिँदै आएको सर्वविदितै छ। यसै सन्दर्भमा भुटानी वा तिब्बती शरणार्थीहरूले कुनै अवान्छनीय गतिविधि नगरून् भनी त्यसका लागि पनि निर्देशन दिँदै आएको हुँ।

शरणार्थीहरूलाई मानवीय सम्बन्ध गर्नु राज्यको दायित्व हो। पछिल्लोपटक भुटानी शरणार्थीलाई अन्तर्राष्ट्रिय दातृ निकायहरूले सहयोग रोकेको अवस्थामा उनलाई जीवन जिउन असहज भएकोले त्यसलाई ध्यानमा राखेर शरणार्थीहरूले पनि सरकारी वा सामुदायिक विद्यालयहरूमा पढ्न पाउने, आधारभूत स्वास्थ्य सेवाको अवसर प्रदान गर्नुका साथै सरकारी अस्पतालमा उचारको सुविधा प्रदान गर्ने, प्रचलित कानुनको अधिनमा रही, कानुनको पालना गर्ने गरी स्थानीय तहको स्वीकृतमा सामान्य व्यापार व्यावसाय गर्नुका साथै कृषिजन्य उत्पादन गर्न सामूहिक खेतीका लागि जग्गा लिजको प्रबन्ध गर्ने लगायतका व्यवस्था गरी उनीहरूको जीवन जिउन सहज बनाउन मन्त्रिपरिषदले भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानको उपायहरूको सम्बन्धमा प्रस्ताव पास गरिएको हो।

यो प्रस्ताव भुटानी शरणार्थीहरूको व्यवस्थापनका लागी असल मनसायले गरिएको हो। शरणार्थीका नाममा अवान्छनिय गतिविधि रोक्नका साथै कसैलाई पनि भ्रममा नपर्न मन्त्रालयले विभिन्न समयमा परिपत्र समेत गरेको थियो। यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, शरणार्थी समन्वय एकाइ बेलडाँगी झापाबाट मिति २०७८/०८/०३ गते भुटानी शरणार्थी शिविर बेलडाँगीका सम्पूर्ण शिविर बासीहरूलाई सूचना निकाली जानकारीसमेत गराइएको थियो। यसै गरी समयसमयमा निर्देशनहरू पठाइरहेको हो।

भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौँ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन।

म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदा समेत नेपालको छवि उच्च राख्ने काम गरेको छु। कोभिडको समयमा भुटानी शरणार्थी तथा तिब्बतीयन शरणार्थी समेतलाई भ्याक्सिन लगाउन नेपाली नागरिकता हुनुपर्ने अवस्थामा समेत मैले पहल गरी निजहरूलाई भ्याक्सिन लगाउने कार्य गरेको हुँ। जसको अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेका थिए। गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होइन, मैले सो कार्य सोच्न पनि सक्तिनँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =