१० वर्षदेखिका नीति तथा कार्यक्रम यस्तै हुन् : स्वर्णिम वाग्ले

हिमाल प्रेस ९ जेठ २०८० १३:२२
4
SHARES
१० वर्षदेखिका नीति तथा कार्यक्रम यस्तै हुन् :  स्वर्णिम वाग्ले

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले विगत १० वर्षदेखिका नीति तथा कार्यक्रम उस्तै भएको बताएका छन्।

नीति तथा कार्यक्रम माथिको छलफलमा मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद वाग्लले हरेक वर्ष उस्तै कार्यक्रमले निरन्तरता पाउँदै आएको बताएका हुन्।

‘सिद्धान्त र प्राथमिकता अर्थ मन्त्रालयको बजेट महाशाखाको सचिव, सहसचिवको नेतृत्वमा २/४ दिनमा लेखिन्छ,’ उनले भने, ‘नीति तथा कार्यक्रम चाहिँ सबै मन्त्रालयबाट ५/१० वटा बुँदा जान्छन् र मुख्यसचिवले गाँस्नुहुन्छ।’

सरकारले विनियोजन विधेयक ल्याउने, राष्ट्रपतिले कार्यक्रम पढ्ने, त्यही कुरा १५ गते अर्थमन्त्रीले दोहोर्‍याउने कर्मकाण्डी सिलासिला मात्रै भएको टिप्पणी गरेका छन्। उनले भने, ‘यस्तो खालको कर्मकाण्डलाई क्रमभंगता तिर लग्नुपर्ने बेला आएको छ।’

वाग्लले क्रमभंगताको लागि केही सुझाव पनि राखेका छन्। उनले भने, ‘मलाई के लाग्छ भने सिद्धान्त र प्राथमिकता बजेटमा गाभौँ र नीति तथा कार्यक्रमबाट बजेट अधिवेशन सुरु गरौँ। समय दिऔँ, विषयमा भित्र गएर छलफल गरौँ। अनि बल्ल यो उत्तरदायी हुन्छ। नत्र यो कालो अक्षरको थुप्रो मात्रै हुनेछ।’

वाग्लेले नयाँनयाँ तथ्यमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। ‘अहिले ११४ केटा जन्मिँदा १०० केटी जन्मिएका छन्। यस्तो प्रवृत्तिले आगामी २० वा ३० वर्षमा हामी कहाँ पुग्छौँ? यस्ता तथ्य खोजेर छलफल गरौँ।’

वाग्लेले अस्वभाविक बजेट ल्याउन नहुने पनि सुझाव दिएका छन्। ‘जेठमा अस्वभाविक ठूलो बजेट ल्याउने र माघमा चुपचाप आकार घटाउने काम बन्द गरौँ,’ उनले भने, ‘ठिक्क आकारको बजेट ल्याउन अर्थमन्त्रीलाई मेरो सुझाव छ।’

पूर्वाधारको मोडलमा पनि पुनर्विचार गर्नुपर्ने बेला आएको वाग्लले बताएका छन्। ‘यसलाई नयाँ शिराबाट बहस गरौँ। राजनीति र निर्माण व्यवसायीको खराब नियत तोड्न छलफल आवश्यक छ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =