कुण्ठा र आक्रोश पोख्ने थलो बन्यो संसद्

सन्तोष अधिकारी ९ जेठ २०८० ११:५६
42
SHARES
कुण्ठा र आक्रोश पोख्ने थलो बन्यो संसद्

काठमाडौँ- गत शुक्रबार संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति कार्यक्रम प्रस्तुत गरे। एक घण्टा ४४ मिनेट लगाएर प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबार प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले एक घण्टा ५२ मिनेट लगाएर टिप्पणी गरे।

सरकारको नीति तथा कार्यक्रममाथि एमाले संसदीय दलका नेता ओलीले विवेचनात्मक विश्लेषण गरेपछि अन्य सांसदहरूले धारणा राख्ने क्रम सुरु भएको हो। माओवादी केन्द्रका सांसद माधव सापकोटाका अनुसार केपी शर्मा ओलीले संसद्‌मा सम्बोधन गरेर लाइन दिएका थिए।

सोहीअनुसार एमाले सांसदहरू प्रस्तुत भइरहेका छन्। तर ओलीको अभिव्यक्तिलाई लिएर अन्य राजनीतिक दलका सांसद्ले काउन्टर अभिव्यक्ति दिने क्रम जारी छ। यसमा सबैभन्दा अगाडि देखिएका छन् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

संघीय संसद् सचिवालयका अनुसार आइतबार र सोमबार गरेर प्रतिनिधिसभामा ८३ जना सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखे। अधिकांश सांसदले नीति तथा कार्यक्रममाथिको धारणा कम र ज्यादा एकअर्कोप्रतिको कुण्ठा पोखिरहेका छन्।

कुण्ठा पोख्ने कार्यको सुरुवात एमाले संसदीय दलका नेता ओलीले गरेका थिए। ओलीले आफू नेतृत्वको सरकारले ल्याएका नीति तथा कार्यक्रम र आफू नेतृत्वको सरकारले ४१ महिनामा गरेका कामहरुको फेहरिस्त सुनाएका थिए। त्यसप्रति सोमबार प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले व्यङ्ग्य गरे, ‘प्रतिपक्षी दलका नेताको पालाको नीति तथा कार्यक्रा पाँचै वर्ष सुन्नुपर्ला जस्तो छ। मेरो अनुरोध छ, आफ्नो पालाको नीति तथा कार्यक्रम सुनाउन बन्द गरिदिनुहोस्।’

एमाले अध्यक्ष ओलीले कुण्ठा पोखेपछि त्यसको जवाफ दिने क्रममा सोमबार दह्रो गरी प्रस्तुत भए नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल। ओली र नेपाल लामो समय एमालेमै रहेर राजनीति गरेका नेता हुन्। एमाले फुटेर एकीकृत समाजवादी गठन गरेपछि हाल संसद्‌मा दुई नेता दुई पार्टीको नेतृत्वको हैसियतमा उपस्थित छन्। एउटा नेताको हैसियत अर्कोलाई राम्ररी थाहा छ। संसद्‌मा उनीहरूको प्रस्तुति पनि यस्तै देखिन्छ।

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा ओली, प्रचण्ड र नेपाल सँगै थिए। गत मंसिर ४ गतेको आमचुनावपछिको संसदमा यी तीन नेताको एकअर्कोप्रतिको आरोपप्रत्यारोप, घोचपेच र कुण्ठा चलिरहेको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा शीर्ष नेताले प्रस्तुत गरेअनुसारकै आरोपप्रत्यारोप, घोचपेच र कुण्ठा सम्बन्धित दलका सांसदहरूले पनि व्यक्त गरेका हुन्। शीर्ष नेताहरुकै शैलीमा विपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रमको आलोचना गर्दा सत्तापक्षले विपक्षीमाथि नै प्रतिप्रश्न जारी राखेको छ।

ओलीले सरकारको नीति तथा कार्यक्रमको कम आफू नेतृत्वको सरकारले गरेका कामकारबाहीको ज्यादा चर्चा गरेका थिए। माधव नेपालले ओलीले आफू नेतृत्वको सरकारले गरेका कामकारबाहीको चर्चा नभएको भनी गरेको दुःखेसोको आलोचना मात्रै गरेनन्, ओली नेतृत्वको सरकारको कामकारबाही र प्रवृत्ति केलाउँदै कटाक्ष गरे। आफ्नो नेतृत्वको सरकारको चर्चा नभएकोका पीडा व्यक्त नगर्न पनि ओलीलाई नेपालको सुझाव छ।

‘वश्य पनि लाग्छ होला कि आफ्नो समयमा भएका केही राम्रा कुरालाई पनि वास्ता गरिएन? कति मनमा पीडा पर्दो रहेछ?’ नेपालले भने, ‘म पनि प्रधानमन्त्री भइसकेको मान्छे। मलाई पनि त लाग्छ होला नि गरिएका कतिपय कामको किन चर्चा गर्दैन? पर्‍यो होला त्यस्तै।’ तर नगरेको वा गलत गरेको कार्यको आलोचना सहन सक्नुपर्ने, आलोचनाका निम्ति पनि तयार हुनुपर्ने उनको भनाइ छ।

माधवले देखाए ओलीका पाँच कमजोरी

गत पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा निरन्तर छन्। यसप्रति लक्षित गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भनेका छन्, ‘बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्क्यो? त्यसको निम्ति हरूलाई सत्तोसराप गरेर हुँदैन। आफूभित्र के कमीकमजोरी रहे? त्यसको समीक्षा गरौँ। तिनको पहिचान गरौँ, सुधार गरौँ।’ ओलीमाथि नेपालका पाँच आरोप :

१. व्यक्तिवाद
२. सर्वज्ञानी ठान्ने प्रवृत्ति
३. अरूलाई अवमूल्यन गर्ने
४. आफ्नो पाराले चल्ने
५. विरोधाभासपूर्ण व्यवहार

‘म देखिरहेको छु हामीकहाँ सबैभन्दा ठूलो समस्या व्यक्तिवादको रोग हो’ नेपालले भने, ‘दोस्रो समस्या– आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो । तेस्रो– हरूलाई अवमूल्यन गर्ने प्रवृत्ति हो।’

चौथो समस्याका रूपमा हरूको ज्ञान, हरूको बुद्धि र सबैको साथ लिने भन्दा आफ्नो पाराले चल्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले भने, ‘यसबाट मुक्त हुन सकिएन भने, भ्रष्टाचारबाट चुर्लुम्म डुब्ने प्रवृत्तिबाट मुक्त हुन सकिएन भने कहीँ पुगिँदैन।’

पाँचौँ समस्याका रूपमा कुरा एउटा काम अर्को गर्ने प्रवृत्तिलाई देखाए। ओलीको व्यवहार विरोधाभासपूर्ण रहेको उल्लेख गर्दै नेपालले भने, ‘कुरामा ठूला ठूला उपदेश छाँट्ने तर व्यवहारमा लागू नगर्ने प्रवृत्ति छ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारमा नरहेका कारण विरोध गर्नुपर्छ भन्ने मानसिकता ओलीले राखेको भनी त्यसप्रति पनि व्यङ्ग्य गरे। ‘एकले अर्कालाई घोचपेच गरेर मात्र हुँदैन। आफ्नो पीडा, व्यथा पोखेर मात्र हुँदैन’ सरकारमा बस्न सकिएन त्यो बेग्लै कुरा हो’, नेपालले भनेका छन्, ‘किन बस्न सकिएन? त्यसको पछाडि हरूलाई दोष दिएर हुँदैन।’

प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : दिपेश श्रेष्ठ

ओलीप्रति कुण्ठा व्यक्त गर्ने क्रममा नेपालले अनेक प्रश्न गरेका छन्। उनले ओलीलाई आफ्नै पालामा कति हावादारी कुराहरु आए समीक्षा गर्न सुझाव दिए। ‘आफ्नो पालामा कति हावादारी योजना आए? भनियो तिथिमिति तय गरेर यो मितिमा टिकट काट्नुहोस्। ठ्याक्क हवाई रेल चढ्नू। बिजुलीको रेल चलाइनेछ’, अध्यक्ष नेपाललेले ओलीप्रति कटाक्ष गर्दै भने, ‘यस्ता हावादारी कुरा ल्याउनु हुँदैन।’

ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रमको विवेचना गर्दै अध्यक्ष नेपालले प्रश्नमाथि प्रश्न गरे, ‘घरघरमा ग्यास! खै ग्यास? यस्तोमा कहाँकहाँ त्रुटि भयो?’ गल्ती स्वीकार गर्नुको साटो ढाकछोप गर्ने प्रवृत्ति देखा परेको भन्दै अध्यक्ष नेपालले प्रश्न गरे, ‘टावरका कुराहरु आइरहेका छन्। मलेसियाका टावर, खाडी क्षेत्रका टावर। टावरको आवश्यकता छ भने कहाँ? धानको बाला हेर्ने टावर?’

ओली नेतृत्वको सरकारको पालामा विभिन्न भ्यु टावर निर्माणले तीव्रता पाएको थियो। यसप्रति कतिपयले गर्न गरेको आलोचनाको जवाफ दिँदै एमाले अधयक्ष ओलीले आइतबार भनेका थिए, ‘संसारका आधुनिक सहरमा टवारहरू, मलेसियाको ट्विन टावर, दुबईको टावर, थाइल्यान्डको टावरहरु व्यापारिक केन्द्रका रूपमा बनेका छन्। नेपालमा कुनै व्यापारिक केन्द्रको रूपमा टावर बनायो भने अबउप्रान्त टावर नबनाउने भनेर पानी समातेर कसम खाने कस्तो खालको विकास विरोधी अवधारणा?’

पूर्वसभामुख ओनसरी घर्ती संसद्लाई कुण्ठा पोख्ने थलो बनाउन नहुने बताउँछिन्। नीति तथा कार्यक्रममाथिको छलफललाई विषयान्तर गर्न नहुने उनको सुझाव छ। ‘संसद भनेको आमजनताको भावना अभिव्यक्त गर्ने थलो हो। नीति तथा कार्यक्रममाथिको छलफलमा पनि जनताको सार्वभौम सत्ताको उच्चतम प्रयोग आफ्ना प्रतिनिधिमार्फत अभिव्यक्त हुने गर्दछ’, उनी भन्छिन्, ‘तर संसद्को छलफल छलफलजस्तो भइरहेको भान हुन सकिरहेको छैन।’

संसद् आमजनताको भावना अभिव्यक्त गर्ने र आफ्ना प्रतिनिधिमार्फत जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने थलो भए पनि त्यसलाई कुण्ठा र आक्रोश अभिव्यक्त गर्ने माध्यम बनाइएको प्रति उनको असन्तुष्टि छ। घर्ती भन्छिन्, ‘संसद्‌मा भइरहेको नीति तथा कार्यक्रममाथिको छलफलको रुझान नियाल्दा एकातिर कुण्ठा र आक्रोश अभिव्यक्त भइरहेको छ भने अर्कातिर मूल विषयबाट विषयान्तर हुने प्रवृत्ति देखिएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =