ओलीप्रति माधव नेपालको कटाक्ष : सत्तोसराप गरेर देश बन्दैन

हिमाल प्रेस ८ जेठ २०८० १२:१७
16
SHARES
ओलीप्रति माधव नेपालको कटाक्ष : सत्तोसराप गरेर देश बन्दैन

काठमाडौँ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कसैको सत्तोसराप गरेर देश नबन्ने बताएका छन्। आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले आपसी सहकार्य गरेर मात्रै देश बनाउन सकिने बताएका हुन्।

‘घोचपेच गरेर, आफ्नो पीडा–व्यथा पोखेर देश बन्दैन,’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भने, ‘बनिसकेको सरकार किन हातबाट फुत्कियो? सत्तोसराप गरेर हुँदैन, कमीकमजोरीको समीक्षा गर्दै सुधार गर्नुपर्छ।’

उनले व्यक्तिवादको समस्याबाट सबै  मुक्त हुनुपर्ने बताएका छन्। ‘समस्या व्यक्तिवादको रोग हो। आफूलाई सर्वज्ञानी ठान्ने र अरूको अवमूल्यन गर्ने प्रवृत्ति हो समस्या। यसबाट मुक्त हुन सकिएन भने देश बनाउन सकिँदैन,’ उनले भने।

आइतबारको संसद् बैठकमा ओलीले नीति तथा कार्यक्रम निराशाजनक भएको भन्दै सरकारको व्यापक आलोचना गरेका थिए। उनले विभिन्न काण्डको अनुसन्धान रोक्नका लागि गठबन्धन फेरिएको त होइन भन्दै प्रधानमन्त्रीलाई प्रश्न पनि गरेका थिए।

यस्तै संसद् बैठकमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इमान्दारीका साथ अगाडि बढ्न आग्रह गरेका छन्। प्रधानमन्त्रीले भ्रष्टाचारको जालो तोड्ने र सरकारलाई स्वच्छ एवं गतिशील बनाइराख्नुपर्ने बताए।

‘जनता केन्द्रित भएर काम गर्नुस्, ठग र सत्ताको दुरुपयोग गर्ने खराब तत्वहरूलाई दण्डित गर्दै असललाई प्रोत्साहित गर्ने काम गर्नुस्,’ उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै भने, ‘केही व्यक्ति लुटेर ठगेर कुकर्म गरेर धनी बन्दै जाने प्रवृत्ति नियन्त्रण गर्न राज्यका सबै संरचनाहरू इमान्दार हुनुपर्छ।’

प्रकाशित: ८ जेठ २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =