नीति तथा कार्यक्रममा चेम्बरको धारणा : सकारात्मक, कार्यान्वयनमा आशंका

हिमाल प्रेस ६ जेठ २०८० १६:००
2
SHARE
नीति तथा कार्यक्रममा चेम्बरको धारणा : सकारात्मक, कार्यान्वयनमा आशंका

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले सरकारले ल्याएको नीति तथा कार्यक्रम आवश्यकताअनुसार नै आएको प्रतिक्रिया दिएको छ। शुक्रबार सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शनिबार चेम्बरले आफ्नो धारणा दिएको हो।

नीति तथा कार्यक्रम सकारात्मक रहेकाले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने चेम्बरले उल्लेख गरेको छ। नीति तथा कार्यक्रमले आंशिक रूपमा भए पनि निजी क्षेत्रको माग भने सम्बोधन गरेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए। ‘निजी क्षेत्रले उठाएका केही माग सम्बोधन भएका छन्,’ मल्लले भने, ‘उत्पादनमुखी कार्यक्रम, औद्योगिक विकास र सार्वजनिक निजी साझेधारी अवधारणालाई प्रभावकारी बनाउने गरी नीति कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ।’

साथै नीति तथा कार्यक्रम परिणाममुखी बन्ने विश्वास लिइएको चेम्बरले विज्ञप्तिमा उल्लेख गरेको छ। ‘मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमकै अवस्थामा रहेका बेला आएको नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयनका लागि चेम्बर जोडदार माग गर्दछ।’

नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेटमार्फत सम्बोधन गर्न समेत चेम्बरले आग्रह गरेको छ। ‘हालको आर्थिकमन्दी र लगानीमा देखिएको संकुचनलाई नीति तथा कार्यक्रमले पर्याप्त मात्रमा समावेश गर्न सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक स्थायित्व कायम गर्ने गरी आगामी बजेट आउन आवश्यक छ।’

नीति तथा कार्यक्रममा महत्वकांक्षी योजनाहरू घोषणा हुने तर कार्यन्वयनको पाटो फितलो हुने समस्याप्रति पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ। ‘कमजोर धरातलमा आएको नीति तथा कार्यक्रम सकारात्मक भएता पनि सिमित स्रोत र साधनका कारण कार्यान्वयनको पाटो जोखिममै रहेको चेम्बरको भनाइ छ।

प्रकाशित: ६ जेठ २०८० १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 6 =