प्रधानमन्त्री-सांसद प्रश्नोत्तर ‘म्याच फिक्सिङ खेल’ जस्तै

हिमाल प्रेस ४ जेठ २०८० १९:१३
42
SHARES
प्रधानमन्त्री-सांसद प्रश्नोत्तर ‘म्याच फिक्सिङ खेल’ जस्तै प्रतिनिधिसभाकोे बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ- संघीय संसद्को प्रतिनिधिसभामा बिहीबार प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तर सुरु भएको छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा आधारित यस्तो प्रश्नोत्तर संसद् अधिवेशन चलेका बेला हरेक महिनाको पहिलो साता हुने सभामुख देवराज घिमिरेले बताए।

प्रतिनिधिसभा नियमावलीअनुसार तीन दिनअगावै संघीय संसद् सचिवालयमा दर्ता भएका प्रश्नको उत्तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारको प्रतिनिधिसभा बैठकमा दिएका हुन्। पहिलो दिन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलले शिक्षा, अर्थ, विदेश, नीति, भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारलगायतका विषयमा प्रश्न गरेका थिए। प्रधानमन्त्री प्रचण्डले सांसदले उठाएका प्रायः उत्तर दिएका थिए।

पहिलो दिनको प्रश्नोत्तरलाई लिएर सांसदहरूले विभिन्न प्रतिक्रिया दिएका छन्। विपक्षी सांसदले प्रधानमन्त्रीले तयारी नै नगरी जबाफ दिएको, महत्त्वपूर्ण प्रश्नलाई छाडेको आरोप लगाएका छन् भने सत्ता पक्षीय सांसदहरूले प्रश्नोत्तर जीवन्त भएको दाबी गरेका छन्। प्रश्नोत्तर नियमित र प्रभावकारी बनाउनुपर्नेमा भने सबै सांसदको एकमत छ। संसद् बैठकबाट बाहिरिएपछि उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूको प्रश्नको जवाफ गम्भीरताको साथ नदिएको टिप्पणी गरे। प्रश्नोत्तर औपचारिकतामा मात्रै सीमित भएको उनको भनाइ छ। मुलुकमा आर्थिक संकट भए पनि समस्याको समाधान गर्ने ठोस योजनासहितको जवाफ प्रधानमन्त्रीले दिन नसकेको गिरीले बताए।

उनले भने, ‘‘प्रश्नोत्तरका सवालमा जुन गम्भीरताको साथ, जुन महत्त्वका साथ जसरी माननीयले प्रश्न उठाउनुभयो, प्रधानमन्त्रीज्यूबाट त्यही हिसाबले प्रश्नको उत्तर आएन। औपचारिकता पूरा गर्ने हिसाबले मात्रै प्रश्नको उत्तर दिने काम भएको छ।’

माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जीवन्त भएको दाबी गरे। प्रधानमन्त्रीले लेखेर ल्याएको कुरालाई मात्रै नराखी आज बिहानसम्मका घटनाक्रम समेटेर खँदिलो ढंगले प्रश्नको उत्तर दिएको दाबी उनको छ। उनले भने, ‘जीवन्त जस्तो लाग्यो। प्रधानमन्त्रीले पूर्वतयारी र लेखेर ल्याएको कुरालाई मात्रै राख्नुभएको थिएन। आएका र आज बिहानसम्मका घटनाक्रमसमेत समेटेर अधिकतम खदिलो ढंगले प्रश्नको उत्तर दिनुभएको थियो।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई आफूले पहिलो नम्बरमा प्रश्न दर्ता गराएको भए पनि पछाडि पालो दिइएको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘एक नम्बरमा प्रश्न दर्ता गरे पनि तर ठूला पार्टी जहिले पनि हेप्ने! स्वतन्त्रलाई बोल्न नदिने! साना पार्टीलाई बोल्न नदिने! आफूलाई नै संसद् भवन ठान्ने! संसद्‌मा विचारको प्रतिनिधित्व हुने हो?’  उनले प्रश्नोत्तर कार्यक्रम अभ्यासको पहिलो चरणमा भएकाले जति हुनुपर्ने त्यति सन्तोषजनक नभएको टिप्पणी गरे।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सहभागी सांसद। तस्बिर : नवीन पौडेल/रासस

एमाले सांसद योगेशकुमार भट्टराईले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गरे। उनले प्रश्न पहिले नै सोध्ने र तयारीसाथ उत्तर ल्याएर प्रश्नोत्तर गर्दा जीवन्त नहुने बताए। उनले भने, ‘संसद्को प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन। प्रश्न पहिले सोधेर अनि उत्तर ल्याएर त्यसरी जीवन्त हुँदैन। प्रश्नोत्तर जीवन्त हुनुपर्छ। माननीयज्यूहरूले त्यही सोध्ने प्रधानमन्त्रीले त्यही उत्तर दिने हुनुपर्छ। त्यसो भयो भने यो अलिकति आकर्षक हुन्छ। नत्र यो कर्मकाण्डी हुन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रधानमन्त्रीले सांसदहरुसँग गरेको प्रश्नोत्तर ‘म्याचफिक्सिङ’ गरिएको खेल हेरेजस्तै भएको टिप्पणी गरे। उनले प्रश्नोत्तर गरेर राम्रो अभ्यास सुरु भएको भन्दै अभ्यासलाई सुधार्नु आवश्यक रहेकोमा जोड दिए।

झाले भने, ‘भ्रष्टाचारसँग सम्बन्धित हाम्रो माननीय शिशिर खनालले सोध्नुभएको प्रश्न थियो कि हेलिकप्टरको पैसा कसले तिर्छरु चुनावको बेला प्रयोग गरिएको। आचारसंहिता मिचिएकोमा कसले सजाय भोग्छ भन्ने प्रश्नको जवाफ नै आएन।’

यस्तै उनले एकजना माननीयसँग सम्बन्धित स्कुलको कर छुट किन गरियो भनेर सोधिएको प्रश्नको पनि जवाफ नआएको बताए। उनले भने, ‘यस्ता प्रश्नको जवाफ आउँदैन र कन्फिडेन्स छैन भने यसमा खासै मजा आउँदैन। म्याचफिक्सिङ गरिएको खेल हेरेजस्तै मात्रै भयो।’

रास्वपा सांसद विराजभक्त श्रेष्ठले प्रधानन्त्रीले कैयौँ प्रश्नहरूको जवाफ नदिएको बताए। प्रधानमन्त्रीले सांसदहरुसँग प्रश्नोत्तर गर्नु सुसंस्कृत अभ्यास भएको उनको भनाइ छ। सांसद श्रेष्ठले पहिलो प्रश्नोत्तर नै नियमावली निलम्बन गरेर गर्नुपरेको भन्दै  असन्तुष्टि व्यक्ति गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसदले उठाएको प्रश्न नागरिकले आफ्नै ठान्न सक्ने हुनुपर्ने बताएका छन्। यस्तै उनले प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा पनि रहनुपर्ने सुझाव दिएका छन्। ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रश्नहरू दुई किसिमका हुन्छन्। एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ। देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्छ।’

एमाले नेता विष्णु रिमालले सांसद र प्रधानमन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर सत्रको थालनी गर्नुलाई राम्रो सुरुवात भनेर टिप्पणी गरेका छ्न्। रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सायद आज पहिलो पटक भएर होला केही प्रश्नहरु दोहोरिएका थिए, केही प्रश्नलाई प्रधानमन्त्रीज्यूले ‘स्किप’ गर्नुभयो। कैयौँ सान्दर्भिक प्रश्नको समेत जवाफ आएन। अबदेखि प्रश्न नदोहोरिने र कुनै पनि प्रश्नको उत्तर नछुट्ने गरी यसले निरन्तरता पाओस्।’

यस्तै एमाले सांसद रघु पन्तले प्रश्नहरू पहिल्यै बाहिरिएकोमा आपत्ति जनाए। उनले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद् सचिवालयमा बुझाएको प्रश्नहरू प्रतिनिधिसभा बैठक अगावै बाहिरिएकोमा आपत्ति जनाएका हुन्। पन्तले संसद् बैठकमा भने, ‘यो प्रश्न कसले आउट गर्‍यो? अरु सांसदहरुको प्रश्न कसले आउट गर्‍यो? यो संसदभित्र प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्ने विशेषाधिकार सांसदको मात्रै हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =