कोपिला किताबका पाँच बालपुस्तक एकसाथ लोकार्पण

हिमाल प्रेस ३ जेठ २०८० १८:५७
136
SHARES
कोपिला किताबका पाँच बालपुस्तक एकसाथ लोकार्पण

काठमाडौँ– प्रकाशन गृह कोपिला किताबले पाँच बालपुस्तक एकसाथ लोकार्पण गरेको छ। ‘टेल्स एन्ड लाइज’ शृंखलाअन्तर्गत विभिन्न लेखकले लेखेका बेखामान र राक्षस, सांकेनको खुलदुली, अन्नको बखान, कपासको घोडा र जन्तरमन्तर बालपुस्तक बुधबार सार्वजनिक गरिएको हो।

ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुक, कथावाचक समाजका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे, नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिज र ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले पुस्तक लोकार्पण गरेका हुन्।

कार्यक्रममा कथावाचक समाजका अध्यक्ष प्रा.डा. घिमिरेले कथाका लागि नेपाल समृद्ध देश रहेको बताए। यहाँ कथाका लागि अनगन्ती विषय रहेको र कोपिला किताबले ल्याएका यी पुस्तकले बालबालिकालाई किंवदन्तीदेखि नवीन विषयवस्तुसमेत प्रस्तुत गरेको उनको भनाइ छ।

कार्यक्रममा कार्टुनिस्ट क्लबका अध्यक्ष क्षितिजले बालसाहित्यको क्षेत्रमा कोपिला किताबले छोटो समयमा प्रभावकारी काम गरेको बताए। यसले प्रकाशन गरेका पुस्तक अन्तर्राष्ट्रियस्तरका रहेको र नेपाली बालसाहित्यले नयाँ फड्को मारेको उनले उल्लेख गरे।

अक्षरमात्र भएको पुस्तक सबैलाई मन नपर्न सक्छ, तर चित्रसहितको पुस्तकले सबैलाई आकर्षित गर्ने बताउँदै उनले यही विषयलाई बुझेर कोपिला किताबले बालबालिकाका लागि बहुउपयोगी पुस्तक प्रकाशन गरेको जनाए।

नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बालबालिकालाई पुस्तकले मनोरञ्जन दिनुपर्ने बताए। जब उनीहरूलाई पुस्तकको पंक्तिले तान्छ, त्यसपछि उनीहरू पुस्तक पढ्न आकर्षित हुन्छन्, त्यसैले बालपुस्तक सुरुमा मनोरञ्जनात्मक हुनुपर्ने उनको भनाइ छ।

कोपिला किताबले प्रकाशन गरेका यी पुस्तक मनोरञ्जनात्मकसँगै ज्ञानमूलक पनि रहेको प्रधानले बताए। ‘जबसम्म बालबालिकालाई पठन संस्कृतिमा ढाल्न सक्दैनौं, तबसम्म साहित्यका पाठक बढाउन सकिन्न,’ प्रधानले भने।

कार्यक्रममा थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुकले कोपिला किताबले प्रकाशन गरेका बाल पुस्तक अन्तर्राष्ट्रियस्तरको भएको दाबी गरिन्।

कार्यक्रममा ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति हार्तम्छालीले कोपिला किताबले ल्याएका पुस्तकले नेपाली बालसाहित्यको आयाममा नयाँपन थपेको दाबी गरे। शब्द र चित्रका माध्यमबाट प्रदान गरिएको ज्ञान बालबालिकाका लागि बहुउपयोगी हुने र त्यो अवसर कोपिला किताबले दिएको उनको भनाइ छ।

‘बेखामान र राक्षस’ पुस्तक विक्रम भक्त जोशीले लेखेका हुन् यसमा चित्रकार शोभितमान बनियाले चित्रांकन गरेका छन्।

अर्का बालपुस्तक ‘जन्तर मन्तर’ बिन्दु शर्माले लेखेकी हुन्। उनको लेखनमा चित्रकार एलिना छन्तेलको चित्रांकन छ। साथै ‘कपासको घोडा’ बालपुस्तक इन्द्र चौधरीले लेखेका छन्। यसमा चित्रकार प्रकाश रञ्जितको चित्रांकन छ।

‘अन्नको बखान’को लेखन भने जितेन्द्र बस्नेतले गरेका हुन्। यसमा चित्रकार सुमन महर्जनले चित्रांकन गरेका छन्। यस्तै सिर्जना राईले ‘सांकेनको खुलदुली’लेखेकी हुन्। यस पुस्तकमा चित्रकार सुरज राईले चित्रांकन गरेका छन्। सबै पुस्तकको सम्पादन बाल कथाकार अनुराधाले गरेकी छन्।

बालबालिकाहरूको मनोविज्ञान बुझेर र त्यस्तो मनोविज्ञानलाई चित्र अनि सरल भाषामार्फत बुझाइएको पुस्तक ल्याउनुपर्छ भन्ने मनसायले आफ्नो प्रकाशन गृहले यी बालपुस्तक ल्याएको कोपिला किताबका अध्यक्ष भानु भट्टराईले बताए।

‘बालबालिकाका लागि सबै किसिमबाट उत्कृष्ट पुस्तक प्रकाशन गरौं भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘यसैले हामीले यी पुस्तकमा बालबालिकाको उमेरअनुसारको भाषा र चित्र समेटेका छौं। उनीहरूले चित्र मात्र हेरेर पनि कथा बुझुन् भन्ने उद्देश्य राखेर पुस्तक प्रकाशनमा ल्याएका छौं।’

प्रकाशित: ३ जेठ २०८० १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + three =