नक्कली शरणार्थी प्रकरण

खाणका विषयमा विभाजित कांग्रेस

सन्तोष अधिकारी ३ जेठ २०८० १७:१२
128
SHARES
खाणका विषयमा विभाजित कांग्रेस

काठमाडौँ- भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्ने या नगर्ने विषयमा कांग्रेसमा विवाद देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवालगायत उनी पक्षीय नेता तत्काल खाणलाई निलम्बन नगर्ने पक्षमा छन्।

महामन्त्री गगनकुमार थापा र नेता डा. शेखर कोइराला भने भ्रष्टाचारमा मुछिएपछि पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गर्नुपर्ने अडानमा छन्। खाणलाई निलम्बन गर्ने या नगर्ने भन्ने विषयमा पार्टीमा विवाद चुलिएपछि मंगलबार प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेरै खाणलाई तत्काल निलम्बन गर्नु नपर्ने धारणा सार्वजनिक गरेका थिए।

खाण तीन दशकदेखि सभापति देउवालाई साथ दिँदै आएका नेता हुन्। खाणले आफू निर्दोष भएको प्रमाणित गर्छु भनेकाले पार्टीले कुनै निर्णय गर्न नहुने पक्षमा सभापति देउवा छन्। यसबारे प्रवक्ता महत भन्छन्, ‘उहाँ (खाण)ले म यसमा निर्दोष छु, त्यो प्रमाणित गर्छु भनिरहनुभएको छ। त्यसो हुनाले अहिले हामी निर्णयमा नपुगेको अवस्था हो।’

प्रवक्ता महतले कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजु राणाका सम्बन्धमा नक्कली अडियो फैलाइएको दाबी गरे। उनले यसबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन्। भुटानी शरणार्थी प्रकरणमा नगद लेनदेनकाे विषयमा आधारित रहेको भनिएको उक्त अडियो नक्कली हो या होइन भन्नेबारेमा अनुसन्धान जारी छ। राणाले आफू निर्दोष रहेको दाबी गर्दै अडियोको अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन्।

उक्त प्रकरणमा मुछिएको भनिएकी अर्की सांसद मञ्जु खाणका विषयमा कांग्रेसले औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरेको छैन। उनी पक्राउ परेका खाणकी पत्नी हुन्। पति पक्राउ परेपछि मञ्जु अस्ट्रेलिया पुगेकी छन्।

प्रवक्ता महतले पार्टी सभापति शेरबहादुर देउवाले निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि सघाइरहको बताए। उनले घटनामा संलग्नहरू दोषी प्रमाणित भएमा कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने बताए।

उनले भने, ‘अनुसन्धान प्रक्रिया अगाडि बढोस्। यसमा पार्टीको पूरा सहयोग हुन्छ। निर्दोष पनि दोषी हुने अवस्था आउनु भएन र दोषी निर्दोष हुने अवस्था आउनु भएन। त्यसकारण हामी स्वतन्त्र, निष्पक्ष अनुसन्धानको पक्षमा छौँ।’

कांग्रेसका महामन्त्री थापा र नेता डा. कोइरालाले भने खाणलाई तत्काल निलम्बन गर्नुपर्ने अडान राखिरहेका छन्। पार्टी बैठकमा आफूहरूले राखेको उक्त अडानमा सुनुवाइ नभएपछि महामन्त्रीद्वयले सार्वजनिक रूपमा पनि खाणको विपक्षमा धारणा राख्न थालेका छन्।

महामन्त्री थापाले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन खोज्नेविरुद्ध संगठित अपराध र मानव बेचबिखनको मुद्दा चलाउनुपर्ने बताएका छन्।

उनले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र होइन यो संगठित अपराध हो, मानव बेचबिखन हो। यो नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोह नै हो।’ थापाले अनुसन्धानको दायरामा भएको जोकोही व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुनुपर्ने बताएका छन्।

यसैगरी थापाले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा पनि भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई निलम्बन गर्नुपर्नेमा जोड दिएका हुन्। उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता मुछिनुभयो। नेता मुछिइसकेपछि विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ। अनुसन्धानबाट दोषी ठहरिन्छ भने बकाइदासँग दोषीले सजाय पाउनुपर्छ।’

उनले भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध र राजद्रोह भएकाले निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए। उनले भने, ‘जोजो मुछिन्छ सबैलाई कारबाही हुुनपर्छ। दायाँबायाँ केही पनि हुनुहुँदैन। कुनै पनि पदमा बसेको मान्छे भए पनि अभियोग लागेपछि त्यो स्वतः निलम्बनमा पर्छ।’

महामन्त्री थापाले दोषी प्रमाणित नभए स्वतः पार्टीमा फर्कन सक्ने स्थान भएकाे बताए। उनले भने, ‘यो आग्रह-पूर्वाग्रह होइन। केही साथीहरुले परम्परा छैन भन्नुभयो, परम्परा छैन भने परम्परा तोड्नुपर्छ। गलत कुरालाई परम्पराका नाममा बोकेर हिँड्नु हुँदैन।’

नेता शेखर कोइरालाले पनि नक्कली शरणार्थी मुद्दामा नेताहरूको नाम जोडिँदा पार्टीको गरिमामा आँच पुगेको भन्दै चिन्ता जनाएका छन्। उनले नक्कली भुटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने बताए। उनले भने, ‘हाम्रै साथीहरू नक्कली भुटानी शरणार्थीको मुद्दामा फस्नुभएको छ। त्यसले नेपाली कांग्रेसको मात्रै होइन, नेपालीकै शिर निहुरिएको छ। यति लज्जास्पद र राष्ट्रघाती कामलाई ढाकछोप गर्नु हुँदैन। ढाकछोप गर्ने कोसिस गरेमा नेपाली कांग्रेसको अवस्था के हुन्छ म भन्न सक्दिनँ।’

यो प्रकरणबारे छलफल गर्नबाट सभापति शेरबहादुर देउवा लगातार भागिरहेका छन्। देउवाले पार्टीको केन्द्रीय समिति बैठक बोलाउन आनाकानी गरिरहेका छन्।  देउवाले बैठक बोलाउन आनाकानी गर्नुमा यस प्रकरणमा आफ्नो श्रीमती आरजु देउवा राणाको नाम जोडिनु पनि हो।

शरणार्थी प्रकरणमा आरजुले २ करोड ५० लाख रुपैयाँ र खाणकी श्रीमतीले ६ करोड ५० लाख रुपैयाँ बुझेको भनिएको अडियो पनि सार्वजनिक भएको छ। प्रहरीले अडियोमाथि छानबिन भइरहेको जनाएको छ। आरजुले उक्त अडियो फेक भएको भन्दै प्रहरीको साइबर ब्यूरोमा छानबिनका लागि निवेदन दिएकी छन्। प्रहरीले यसबारे केही जवाफ दिएको छैन।

कांग्रेसको विधानमा ‘केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नेछ’ भनिएको छ। तर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ९ महिनायता बस्नै सकेकाे छैन। भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, खाणका निजी सचिव नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी छन्।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ ठगी गरेको विषयमा छानबिन गर्न उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूमाथि प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको आरोप छ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उक्त प्रकरणका आरोपित सबैलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन्। उनले बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरूले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन्।

उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्ने कुरा संगठित अपराध भएको बताए। उनले भने, ‘अपराधमा संलग्न जो कोही पनि कारबाहीको दायरामा आउँछन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =