सुदूरपश्चिमकाे बजेटमा पर्यटन पूर्वाधारमा प्राथमिकता दिन संघीय सांसदहरूको सुझाव

हिमाल प्रेस ३ जेठ २०८० १५:४१
4
SHARES
सुदूरपश्चिमकाे बजेटमा पर्यटन पूर्वाधारमा प्राथमिकता दिन संघीय सांसदहरूको सुझाव कैलालीमा रहेको पर्यटकीय स्थल घोडाघोडी ताल। तस्बिर : सुदूरपश्चिम मुख्यमन्त्रीकाे कार्यालय

काठमाडौँ- सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले सुदूरपश्चिमको आगामी बजेटमा पर्यटन पूर्वाधार निर्माण र कृषि विकासलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। काठमाडौँमा कार्यक्रम गर्दै सुदूपश्चिम प्रदेश सरकारले प्रतिनिधिसभाका सांसदहरूसँग आगामी आर्थिक वर्ष २०८०/८१को बजेटका विषयमा सुझाव मागेको हो।

सो क्रममा सांसदहरू, रमेश लेखक, बद्री पाण्डे र शेरबहादुर कुँवरलगायतले बजेटमा पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता दिन सुझाव दिएका हुन्। सांसदहरूले संघीय सरकारले ठूला जलविद्युत् र सडक निर्माणमा प्राथमिकता दिने भएकाले प्रदेश सरकारले पर्यटन पूर्वाधार र कृषि क्षेत्रको विकासमा प्राथमिकता दिनुपर्ने बताए। सांसदहरूले प्रदेश सरकारले समग्र प्रदेशको प्रमुख आवश्यकता र स्रोत सुनिश्चित गरी आयोजनाको आधारमा बजेट ल्याउन सुझाव दिए।

विगतमा स्रोत सुनिश्चित नभई बजेट ल्याउँदा बजेट कार्यान्वयन र लक्ष्यअनुसार राजस्व संकलन नहुँदा समस्या हुने गरेको सांसदहरूले स्मरण गराए। नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको प्रमुख प्राथमिकता पर्यटन पूर्वाधार बनाउन र कृषिमा विकासमा हुनुपर्ने बताए।

‘सुन्दर सुदुरपश्चिम’ नारा जनस्तरमा स्थापित भएकाले उक्त नारालाई सार्थक बनाउन पनि पर्यटन क्षेत्रका पूर्वाधार निर्माणमा विशेष ध्यान दिन उनले आग्रह गरे। सुदूरपश्चिममा पर्यटकीय पूर्वाधारहरू नै बन्न नसकेको भन्दै प्रदेश सरकारले बनाउन पहल गर्नुपर्ने उनको भनाइ थियो।

पर्यटन पूर्वाधार विकासलाई विशेष ध्यान दिएर टाढाभन्दा टाढाबाट हुने पर्यटक आवागमनलाई प्राथमिकतामा राखेर प्रदेशले योजना बनाउनुपर्ने उनले बताए। ‘मुख्यमन्त्री भविष्य जनशक्ति परियोजना’ कार्यक्रम बनाउन पनि उनले सुझाव दिए।

उक्त कार्यक्रमले आगामी दिनमा सुदूरपश्चिमका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने र उक्त जनशक्तिलाई कृषि क्षेत्रमा लगाउन सकिने गरी लक्ष्य निर्धारण गर्नुपर्ने उनले सुझाव दिए।

रैथाने बालीहरू गहुँ, कोदो, फापरलगायत बाली नाश हुँदै गएकाले युवा जनशक्तिलाई रैथाने बाली प्रवर्द्धनमा लगाउने नीति लिनुपर्ने सांसद पाण्डेले बताए।

प्रकाशित: ३ जेठ २०८० १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =