कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सत्तारूढ दलका नेताको सुझाव

हिमाल प्रेस २ जेठ २०८० १८:२३
2
SHARE
कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सत्तारूढ दलका नेताको सुझाव

काठमाडौँ- सत्तारूढ दलका नेताहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन सुझाव दिएका छन्। सत्तारूढ दलमा आबद्ध नेताहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको छलफलमा यस्तो सुझाव दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव लिन प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सत्तारुढ दलका नेताहरूलाई डाकेका थिए।

बैठकमा नेताहरूले कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने, प्रतिभा पलायन र युवा शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने गरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका थिए।

पाण्डेले भने, ‘प्राथमिकताक्रम तोक्दा कृषि, पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र पलायन भइरहेका युवा शक्ति रोक्ने अनि शिक्षा  क्षेत्र व्यवस्थित गर्न सुझाव आएका छन्।’

नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी छ। त्यसका लागि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतले सरोकारवालाहरूलाई डाकेर छलफल गरिरहेका छन्।

सरकारले सिद्धान्त र प्राथमिकताबारे संसद्‌बाट पनि सुझाव लिइसकेको छ। पाण्डेले भने, ‘पार्टीका नेताहरूका तर्फबाट पनि सुझाव आएका छन्। कतिपयले मौखिक रुपमा पनि आफना विषयवस्तु राख्नुभयो।’

प्रधानमन्त्रीले केही दलका नेताहरुलाई बुधबारसम्म लिखित रूपमा सुझाव पठाउन आग्रह गरेका छन्। ‘सबैले अब कसरी अगाडि बढनुपर्छ भन्नेबारे कुरा राख्यौँ। बाँकी रह्यो भने अझै पनि लेखेर दिनुहोला भनेर भनिसकेपछि आजको बैठक सकिएको छ।’  बैठकमा प्रधानमन्त्री प्रचण्डले कस्तो खालको नीति तथा कार्यक्रम आउँदैछ भन्ने बारेमा सामान्य ब्रिफिङ गरेका थिए। समग्र आर्थिक अवस्थालाई अगाडि बढाउन नेताहरूबाट सुझाव आएको पाण्डेले बताए।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान हुने गरी कार्यक्रम ल्याउर्न सुझाव दिइएको जानकारी दिए। उनले आफूहरूले दिएको सुझाव कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको बताए।

केसीले भने, ‘अहिलकोे अर्थव्यवस्था, मुलुकको अवस्थाबारे छलफल भयो। केही माननीयजीहरूले सुझाव पनि दिनुभयो। समय नभएको हुनाले हामीले सुझाव भरे–भोलि लेखेर दिने कुरा छ।’ उनले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य क्षेत्र सुधार गरी नयाँ शिराबाट अघि बढ्नुपर्ने बताए। उनले भने, ‘यथास्थितिवादले अब मुलुक धानिन्न भन्ने नै कुरो हो नि हाम्रो त। सुझाव कार्यान्वयन हुँदैन। त्यो कार्यान्वयन गर्नुपर्छ हाम्रो सुझाव हो।’

बैठकमा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत सत्तारुढ दलमा आबद्ध नेताहरू सहभागी थिए।

प्रकाशित: २ जेठ २०८० १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seven =