लुम्बिनीलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु बनाउने घोषणा

हिमाल प्रेस ३० वैशाख २०८० २०:२८
24
SHARES
लुम्बिनीलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु बनाउने घोषणा

लुम्बिनी- गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु बनाउने घोषणासहित ३ दिने दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट–२०२३ तथा बिमस्टेकको रजत जयन्ती समारोह सकिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजनामा लुम्बिनीमा मार्टको दोस्रो संस्करण गरिएको थियो। त्यसमा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल (नाट्टा)को संयोजन, लुम्बिनी विकास कोष र नेपाल वायुसेवा निगमको सहकार्य तथा अन्य संघ संस्थाको सहयोग रहेको थियो।

शनिबार सम्पन्न मार्टले भगवान बुद्ध (शाक्यमुनि)को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु र शान्ति गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने घोषणा गरेको छ।

त्यस्तै लुम्बिनी र अन्य बौद्ध स्थलहरूमा पर्यटकको बसाइ विस्तार गर्न विभिन्न गतिविधिहरूसहितको साझा प्याकेज विकास गर्ने, पर्यटकहरूलाई अन्तरराष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिहरूलाई प्राथमिकता दिनेलगायत सात बुँदे घोषणा गरिएको छ।

त्यस्तै सन् २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्ने घोषणा पनि गरिएको छ। बुद्धसँग सम्बन्धित क्षेत्रका चार प्रमुख पवित्र स्थलहरू लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलहरूमा विस्तार गर्ने, प्रवर्द्धनका लागि साझा कथाहरू विकास गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा कनेक्टिभिटीको प्रवर्द्धन र विस्तार गर्ने लगायतका विषयहरू समेटिएका छन्।

मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिहरूको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमको रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए। लुिम्बनी विश्वविद्यालयका डीन डा. मानिकरत्न शाक्यले लुम्बिनीमा गरिएको अन्तर्राष्ट्रिय मार्टले बुद्ध दर्शन तथा यस क्षेत्रको प्रचारमा थप सहयोग पुग्ने बताए।

मार्टको अवसरमा विभिन्न क्षेत्रका बौद्ध स्कलरहरूले बुद्ध दर्शन, बुद्ध पर्यटन बौद्धमार्गी देशहरूसँगको सहकार्यलगायत विषयमा महत्त्वपूर्ण प्रस्तुतिहरू भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए।

मार्टको बिहीबार लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले उद्घाटन गरेका थिए। मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंकालगायत देशहरूबाट २८ वटा ट्राभल/टूर कम्पनीहरू सहभागी थिए। मार्ट वैशाख २८ गतेदेखि लुम्बिनीमा सञ्चालन गरिएको थियो।

प्रकाशित: ३० वैशाख २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =