आफ्नै पहलमा नेपाल भ्रमणमा आउँदै अस्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्स

हिमाल प्रेस ३० वैशाख २०८० १७:५९
38
SHARES
आफ्नै पहलमा नेपाल भ्रमणमा आउँदै अस्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्स

काठमाडौँ- अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स मंगलबार नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। बंगलादेशमा शनिबार सम्पन्न छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएपछि विदेशमन्त्री वाट्सले नेपाल, भुटान र भारत भ्रमण गर्न लागेका हुन्। सोही क्रममा उनी भुटान घुमेर नेपाल आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

अस्ट्रेलिया नेपाली विद्यार्थीको रोजाइमा पर्ने मुलुकमा पर्छ। सहायक विदेशमन्त्री वाट्सको भ्रमण भने काठमाडौँस्थित अस्ट्रेलियन दूतावासको पहलमा हुन लागेको हो।  अस्ट्रेलियामा नेपाली दूतावास रहे पनि राजदूतस्तरबाट भ्रमणको चाँजोपाँजो नमिलाइएको ती अधिकारीले बताए।

मन्त्रालयका ती अधिकारीले भने, ‘अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश पोखरेलको पहल नभई यस हिन्द महासागर  सम्मेलनमा सहभागी भएपछि अधिक विद्यार्थी पठाउने मुलुकको पनि भ्रमण गर्ने उद्देश्यले उनी नेपाल आउन लागेका हुन्।’ राजनीतिक भागबन्डाका आधारमा राजदूत भएका पोखरेलले द्विपक्षीय सम्बन्धमा रहेका समस्यालाई समाधान गर्न नसकेको आरोप लाग्दै आएको छ।

नेपाल र अस्ट्रेलियाबीच उच्चस्तरको भ्रमण नभएको तीन दशकभन्दा बढी बितेको छ। लामो समयपछि हुन लागेको भ्रमणले दुई पक्षीय सम्बन्ध र आपसी सरोकारका विषयमा केही सहयोग पुग्ने कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। उच्च शिक्षा अध्ययनका लागि जाने क्रममा नेपाली विद्यार्थीले करोडौँ डलर अस्ट्रेलिया सरकारलाई बुझाउँदै आएका छन्।

भिसा प्राप्ति पारस्परिकता अर्थात् ‘रेसिप्रोसिटी’ को आधारमा छैन। तोकिएको स्थानमा मेडिकल गर्नुपर्ने, बै‌ँक ब्यालेन्सदेखि अनेक झन्झट व्यहोर्नुपर्ने अवस्था छ। भिसा पनि नयाँदिल्लीबाट मात्रै पाइन्छ। त्यसका लागि एजेन्टलाई थप रकम तिर्न नेपाली विद्यार्थी बाध्य छन्। भ्रमणमा जाने नेपालीका लागि पनि अस्ट्रेलियन प्रक्रिया उदार मानिँदैन भने भिसाको प्रकार असहज हुने गरी परिवर्तन गर्दै आएको छ।

सहायक विदेशमन्त्रीको भ्रमणका क्रममा यिनै विषयलाई कसरी सहज बनाउने भन्ने विषयमा कुराकानी गरिने मन्त्रालयका ती अधिकारीले जानकारी दिए। नेपालले अस्ट्रेलियालाई काठमाडौँबाट भिसा उपलब्ध गराउन वा सहजीकरण गर्न, भिसा रेसिप्रोसिटी गर्न लगायतका आग्रह गर्दै आएको छ। यस्तै विकास निर्माणका क्षेत्रमा सहयोग आदानप्रदानको विषय पनि उठाउँदै आएको छ।

नेपाल आउनुअघि नै परराष्ट्रमन्त्री एनपी साउदसँग वाट्सको ढाकामा नै भेटवार्ता हुनेछ। ढाका आउनुअघि सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग  भिक्टोरियामा अन्तर्क्रिया गरेका थिए। तर नेपाली पक्षले कूटनीतिक विषयमा भन्दा त्यहाँ रहेका नेपालीको हितमा मात्रै कुराकानी गरेका थिए। उनी काठमाडौँबाट  बुधबार भारतको कोलकातातर्फ जाने कार्यक्रम छ। त्यहाँ उनले अस्ट्रेलियाली महावाणिज्य दूतावास कार्यालयको औपचारिक सुरुवात गर्नेछन्।

नेपाल र अस्ट्रेलियाबीच सन् १९६० फेब्रुअरी १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। अस्ट्रेलियाले काठमाडौँमा ‘चार्ज डे अफेयर्स’ तहमा सन् १९८४ दूतावास स्थापना गरेको थियो भने त्यसको दुई वर्षपछि १९८६ मा आवासीय राजदूतावास स्थापना गरेको हो। यस्तै नेपालले अस्ट्रेलियाको क्यानबेरामा सन् २००७ मार्चमा आवासीय दूतावास स्थापना गरेको छ।

००००

काठमाडौँमा दुई देशका जनता मिलेर उत्सव मनाउनेछौँ : वाट्स

म बंगलादेश, भुटान, नेपाल र भारतको भ्रमणमा जाँदैछु। यो भ्रमणले हाम्रो द्विपक्षीय सम्बन्धहरूलाई सबल बनाउनेछ। हामी हाम्रो समान सामरिक स्वार्थहरू र अस्ट्रेलियाको व्यापार र लगानीका सम्बन्धहरूका बारेमा छलफल गर्नेछौँ। भ्रमणले हाम्रा द्विपक्षीय राष्ट्रमा जनस्तरको सम्बन्ध थप बलियो बनाउने अवसर प्रदान गर्नेछ। बंगलादेशमा हुने छैटौँ हिन्द महासागर सम्मेलनमा अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै म सहभागी हुनेछु। सम्मेलन हिन्द महासागर क्षेत्रका हाम्रो मुख्य साझेदारहरूको साझा मञ्चमा क्षेत्रीय सहकार्य वृद्धि र सुरक्षाका बारेमा छलफल गर्ने स्थान हो। उक्त सम्मेलनको यस वर्षको नारा ‘पुनरुत्थानशील भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य’ रहेको छ।

अस्ट्रेलिया र बंगलादेशले क्षेत्रीय शान्ति र सुरक्षाका आफ्ना साझा स्वार्थहरूको प्रवर्धन गर्न सहकार्य गरिरहेका छन्। हाम्रा दुई राष्ट्रहरूबीचको व्यापार र लगानीका सम्बन्धहरू पनि वृद्धि भइरहेको छ। यो भ्रमणका क्रममा हाम्रा राजनीतिक र आर्थिक सहकार्यका बारेमा थप छलफल गर्न उत्साहित छु। भुटानमा म सरकारी, सामुदायिक र धार्मिक नेताहरूलाई भेट्नेछु। यसले भुटानका परराष्ट्रमन्त्री महामहिम डा. टेण्डी दोर्जीको गत वर्षको अस्ट्रेलिया भ्रमणले थप नजिक भएको हाम्रो न्यानो सम्बन्धलाई टेवा पुग्नेछ। दुई देशबीचको दौत्य सम्बन्ध २० वर्षअघि स्थापित भएको हो। यसले हाम्रो पुरानो सम्बन्धलाई औपचारिक रुप दिएको छ।

त्यहाँबाट म काठमाडौँ जानेछु। त्यहाँ हामीले शिक्षा र हाम्रा दुई देशका जनताबीचको लामो सम्बन्धको उत्सव मनाउनेछौँ। नेपाल अस्ट्रेलियाका लागि तेस्रो ठूलो अन्तर्राष्ट्रिय विद्यार्थीको स्रोतका रूपमा रहेको छ।

भारतको कोलकातामा खुलेको अस्ट्रेलियाली महावाणिज्य दूतावास कार्यालयको औपचारिक सुरुवात गर्न म उत्साहित छु। कोलकाता भारतको एक महत्त्वपूर्ण व्यावसायिक र सांस्कृतिक राजधानी क्षेत्र हो र यो महावाणिज्य दूतावासले यस क्षेत्रमा अस्ट्रेलियाको व्यापर, लगानी र शिक्षाको प्रवर्धन गर्न सहयोग गर्नेछ।

[भ्रमणमा निस्कनुअघि वाट्सले  दिएको वक्तव्यको नेपाली भावानुवाद]

 

प्रकाशित: ३० वैशाख २०८० १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =