जनदबाबपछि भ्रष्टाचारविरोधी अभियानमा उत्रिए यी नेता

हिमाल प्रेस ३० वैशाख २०८० १०:०४
68
SHARES
जनदबाबपछि भ्रष्टाचारविरोधी अभियानमा उत्रिए यी नेता राजधानीमा आयोजित भ्रष्टाचारविरोधी कार्यक्रममा सहभागी अभियन्ता। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- नागरिक स्तरबाट देशव्यापी रूपमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन हुन थालेपछि दलका नेताहरूमा पनि दबाब बढेको छ। त्यसैले विभिन्न दलका नेताहरूले अभियानमा ऐक्यबद्धता जनाउन थालेका छन्। उनीहरूले आफ्ना कार्यकर्तालाई अभियानमा सहभागी हुन पनि अपिल गरेका छन्। उच्चस्तरीय राज्य संयन्त्र प्रयोग गरेर भएका ठूला भ्रष्टाचारका घटनामा दलका नेताहरू धमाधम मुछिन थालेपछि नागरिक स्तरबाट व्यापक विरोध भइरहेको छ।

पछिल्लो समयमा भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ ठगी गरेको आरोपमा नेपाली कांग्रेस र एमालेका नेताहरू मुछिएका छन्। प्रतिवेदनमा अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको आरोपमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण पक्राउमा परेका छन्।

सोही प्रकरणमा संलग्न एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्। शरणर्थी प्रकरणमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिइसकेको छ। नियन्त्रणमा लिइएकामा नेपाल सरकारका सचिवदेखि दल निकटका व्यक्तिहरू छन्।

सोही कारण भ्रष्टाचारीमाथि कारबाही गर्नुपर्ने मागसहित विभिन्न संघसंस्थाले जनदबाबमूलक कार्यक्रम आयोजना गरिरहेका छन्। सदनमा पनि यसबारे तीव्र आवाव उठिरहेको छ। यसपछि दलका नेताहरू पनि नागरिक अभियानमा सामेल हुन थालेका छन्।

ऐक्यबद्धता जनाउने नेताहरूमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला, पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत छन्।

अभिानमा साथ दिँदा भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भइरहेको प्रयासमा र संसद् र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्ने विश्वास नेताहरूको छ। अभियानमा समर्थन नजानए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालालाई ठूलठूला भ्रष्टाचार काण्डका फाइल खोल्न मा गर्दै ज्ञापनपत्र बुझाएको छ। २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीहरूको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गर्नुपर्ने माग राप्रपाको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारविरुद्धको अभियानमा जो जहाँ छौँ, त्यहीँबाट आवाज उठाउन, खबरदारी गर्न र दबाब दिन अपिल गरेका छन्।

नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानमा ऐक्यबद्धता जनाउँदै उनले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ, सदन र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्नेछ।’

कांग्रेसका नेता डा. शेखर कोइरालाले कोइरालाले भ्रष्टाचारविरुद्ध आमनागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने समय आएको बताएका छन्।

उनले मानव तस्करी जस्तो घृणित कार्यमा राज्य सञ्जाल नै संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेता कोइरालाले देशको शासक र प्रशासकप्रति आमनागरिकको चरम अविश्वास बढिरहेको र यसले हामीले दशकौँ संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको बताएका छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारविरुद्ध नागरिक अभियानप्रति ऐक्यबद्धता जनाउँदै अभियानमा संलग्न हुन सबैलाई आग्रह गरेका हुन्छन्।

उनले भ्रष्टाचार महामारी भएकाले यसविरुद्ध सडक, सदन, सरकारका सबै क्षेत्रबाट एकीकृत पहल र संघर्ष गर्नु जरुरी रहेको भन्दै यस्तो आग्रह गरेका हुन्।

भट्टराईले पछिल्लो समय देशमा उद्घाटित भइरहेका ठूला भ्रष्टाचारकाण्डविरुद्ध नागरिक स्तरबाट खबरदारीको शृंखला अघि बढ्नु स्वागतयोग्य रहेको जनाएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही समयदेखि सुशासनरसदाचारसहितको वैकल्पिक राजनीतिको पहलकर्ताको नाताले हामी यो नागरिक अभियानप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दछौँ र देशभरका सबैलाई यो अभियानमा संलग्न हुन आग्रह गर्दछौँ।’

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भ्रष्टाचार देशको साझा दुस्मन भएकाले यसको निर्मूलका लागि सबै सचेत नागरिकलाई जुट्न अपिल गरेका छन्। उनले भनेका छन्, ‘म दलको नेता भएर होइन सचेत नागरिक भएर नागरिक अभियानको कार्यक्रममा सहभागी हुँदैछु।राम्रो काम जसले गरे पनि सघाउनुपर्छ।’

उनले देशभरका रास्वपा समर्थकलाई पनि भ्रष्टाचारविरोधी अभियानमा सहभागी हुन अलि गरेका छन्। उनले भनेका छन्, ‘भ्रष्टाचारविरुद्ध एक हौँ। नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौँ।’

प्रकाशित: ३० वैशाख २०८० १०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =