सर्जरी खोजिरहेको अर्थतन्त्रमा झारफुकले काम गर्दैनः डा. स्वर्णिम वाग्ले

हिमाल प्रेस २५ वैशाख २०८० १५:५९
14
SHARES
सर्जरी खोजिरहेको अर्थतन्त्रमा झारफुकले काम गर्दैनः डा. स्वर्णिम वाग्ले

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र अभूतपूर्व संकटमा रहेको बताएका छन्। आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै सोमबार प्रतिनिधि सभाको बैठकमा वाग्लेले विधेयक उत्साहहीन र कर्मकाण्डी भएको बताएका हुन्।

अर्थतन्त्रलाई निकास दिनका लागि अत्यावश्यक धेरै विषय छुटेको भन्दै वाग्लेले त्यसको लागि कांग्रेसको चुनावी घोषणापत्र पढ्न अर्थमन्त्रीलाई सुझाए।

उनले भने, ‘अर्थतन्त्रलाई गति दिन र निजी क्षेत्रको मनोबल बढाउने धेरै इन्डिकेटर कांग्रेस घोषणापत्रमा छ। अर्थमन्त्रीज्यूले पढ्नुहोला।’

सांसद वाग्लेले विनियोजन विधेयकलाई यथास्थितिवादी निबन्धको संज्ञा दिँदै भने, ‘सम्पूर्ण नीति, योजना, बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा सच्चिने, सुधार्ने, सपार्ने गुञ्जायस हामीले भेटेका छैनौँ।’

उनले छोटो समयमा ठूल्ठूला प्रगति गर्नुपर्ने दबाबमा रहेको भन्दै २०७१ सालमा डा. रामशरण महतले ल्याएको बजेटको सम्झना गरे। ‘त्यो बजेटमा स्थिरता र स्थायित्वको कुरा सही थियो। किनभने त्यतिबेला अर्थतन्त्र सही दिशामा थियो,’ वाग्लले भने, ‘अहिले अर्थतन्त्र विकराल अवस्थामा छ। यस्तो बेला स्थिरता र स्थायित्वको कुरा सुहाउँदैन।’

सांसद वाग्लेले अब परिमाणात्मक नभएर मुलुक गुणात्मक विकासको बाटोमा हिँडेको बताए। स्कुल छ पढाइ छैन, बाटो छ, गतिलो छैन, स्वास्थ्य चौकी छ चिकित्सक र औषधि छैन। यस्ता मिहिन विषय सम्बोधन गर्न विधेयक चुकेको छ’ उनले भने, ‘आशा छ, अर्थमन्त्रीज्यूले यस्ता विषय सम्बोधन गर्दै बजेट ल्याउनुहुनेछ।’

प्रकाशित: २५ वैशाख २०८० १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =