आयात बढाएर राजस्व उठाउने नीति परिवर्तन हुनुपर्छ : गोल्यान

हिमाल प्रेस २४ वैशाख २०८० १५:२२
4
SHARES
आयात बढाएर राजस्व उठाउने नीति परिवर्तन हुनुपर्छ : गोल्यान

काठमाडौँ- बैंक तथा वित्तीय संस्था परिसंघ (सिबीफीन)का अध्यक्ष पवन गोल्यानले आयात बढाएर राजस्व उठाउने नीति परिवर्नत हुनुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा सीबीफीनले आयोजना गरेको ‘नेपाल बिजनेस समिट २०२३’मा उनले आयात बढाएर राजस्व उठाउने नीतिले मुलुक आत्मनिर्भर बन्न नसक्ने बताएका हुन्।

मुलुक आत्मनिर्भर बन्नका लागि आयात प्रतिस्थापन गर्नसक्ने उद्योग व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो। उत्पादनका हिसाबले आत्मनिर्भर बनिसकेका र आत्मनिर्भरउन्मुख क्षेत्रलाई प्रोत्साहन गर्न र न्युनबिजिकीकरणलाई निरुत्साहित गर्नुपर्ने उनले बताए।

नेपाली उत्पादनको लागत मूल्यभन्दा कममा आयात नहुने गरी भन्सार समर्थन मूल्य कायम गरिनुपर्ने उनको माग छ। सरकारले निर्यातमूलक उद्योगहरूको प्रतिष्पर्धी क्षमता अभिवृद्धिका लागि निर्यातमूलक उद्योगहरूलाई आवश्यक विद्युत् ५० प्रतिशत छुटमा दिनुपर्ने उनले औँल्याए। त्यस्तै आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई २० प्रतिशत छुट दरमा विद्युत उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।

बिलासिताका सामान रोक्नुभन्दा ती वस्तुमा भन्सार दर बढाएर राजस्व बढाउँदा आयात नियन्त्रण समेत हुने उनले औँल्याए। ‘आयात प्रतिस्थापनका लागि आत्मनिर्भर भइसकेका र हुनसक्ने उद्योग व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्न आवश्यक छ,’ उनले भने, ‘उत्पादनको दृष्टिकोणले आत्मनिर्भर बनिसकेका र आत्मनिर्भरउन्मुख क्षेत्रलाई प्रोत्साहन गर्न तथा टेवा पुर्‍याउन सोही स्तरका उत्पादनहरूको आयातमा देखिने न्युनबिजीकीकरणलाई निरुत्साहित गर्न नेपाली उत्पादनहरूको उत्पादन लागतभन्दा कममा आयात नहुनेगरी भन्सार सर्मथन मूल्य कायम गरिनुपर्दछ।’

अध्यक्ष गोल्यानले नेपालको आर्थिक विकासका लागि कृषि, उर्जा, पर्यटन, भौतिक पूर्वाधारको विकास, आयात प्रतिस्थापन गरी निर्यात बढाउन आवश्यक रहेको बताए।

सरकार र निजी क्षेत्रको सहकार्यमा आइतबार ‘नेपाल बिजनेस समिट २०२३’ भएको छ। सरकार र निजी क्षेत्रबीचको दुरी कम गर्दै उद्यमी, व्यवसायी र बैंक तथा वित्तीय क्षेत्रको मनोबल बढाउन आर्थिक शिखर सम्मेलन गरिएको सीबीफीनले बताएको छ।

प्रकाशित: २४ वैशाख २०८० १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =