प्रचण्ड सरकारले तत्काल विश्वासको मत नलिने

हिमाल प्रेस २३ वैशाख २०८० २०:०६
8
SHARES
प्रचण्ड सरकारले तत्काल विश्वासको मत नलिने

काठमाडौँ- सत्ता गठबन्धनका दलहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल विश्वासको मत लिनुपर्ने अवस्था नरहेको निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा नेताहरू यस्तो निष्कर्षमा पुगेका हुन्।

बैठकपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘अहिले विश्वासको मत लिनुपर्ने त्यस्तो संवैधानिक व्यस्वस्था छैन। त्यो आवश्यकता परिरहेको छैन।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि सरकारले फेरि विश्वासको मत लिनुपर्ने विषयमा चासो व्यक्त भइरहेको छ। प्रधानमन्त्रीले यसबारेमा कानुनविद्हरू पनि छलफल गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए। दोस्रो पटक प्रचण्डलाई एमाले, राप्रपा र नेमकिपाबाहेकका दलले विश्वासको मत दिए। राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई सघाएपछि पुस १० मा बनेको एमाले–माओवादीसहित गठबन्धन भत्किएको थियो। प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएपछि पुस १० अघिको तत्कालीन सत्ता गठबन्धन ब्युँतिएको थियो।

दोस्रो पटक विश्वासको मत पाउँदा प्रचण्डका पक्षमा १७२ मत परेको थियो। २७५ सदस्यीय संघीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सदस्यको समर्थन भए पुग्छ। २१ सदस्यीय रास्वपाले सत्ताबाट हात झिके पनि सत्ता पक्षमा १५१ सांसदको विश्वास कायमै रहेकाले सरकार तत्काल विश्वासको मत नलिने निष्कर्षमा पुगेको हो। पुस ११ गते प्रधानमन्त्री भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

प्रकाशित: २३ वैशाख २०८० २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 11 =