पोखरा स्पोर्ट्स अवार्ड : करण र साम्बा वर्ष खेलाडी

हिमाल प्रेस २३ वैशाख २०८० १९:३२
10
SHARES
पोखरा स्पोर्ट्स अवार्ड : करण र साम्बा वर्ष खेलाडी

पोखरा- क्रिकेटर करण केसी र फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ वर्ष खेलाडी बनेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार आयोजित सातौँ पोखरा स्पोर्टस् अवार्ड २०७९ मा पुरुषतर्फ क्रिकेटका अलराउन्डर केसी र महिलातर्फ फुटबलकी फरवार्ड साम्बा वर्ष खेलाडी बनेका हुन्। उनीहरू अवार्डसहित सम्मानित भएका छन्।

उदयीमान खेलाडी विधामा क्रिकेटरका सुवास भण्डारीले अवार्ड पाएका छन्। वर्ष उत्कृष्ट प्रशिक्षक भने आर्चरीका किशोरकुमार गुरुङ बनेका छन्। पोखरा सभागृहमा आयोजित भव्य समारोहबीच मञ्चले खेलाडीको हौसलाका लागि विभिन्न ७ विधामा अवार्ड वितरण गरेको हो।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङ प्रशिक्षक विद्या मर्सानीलाई चाँदीको करुवासहित सम्मान गरिएको मञ्चले जानकारी दिएको छ। उत्कृष्ट खेलबाट कास्की जिल्ला ह्याण्डबल संघ सम्मानित भएको छ। वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनाले पाए।

वर्ष खेलाडी पुरुषतर्फ करणसहित आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए। प्रदीप गत वर्षका विजेता हुन्। महिलातर्फ सावित्रासहित आर्चरीकी रोजिना थापा मगर, र आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर पनि मनोनयनमा थिए।

उदीयमानमा सुवास, भलिबलका रवि केसी र फुटबलका सुमित श्रेष्ठ तथा प्रशिक्षकमा आर्चरीका किशोरकुमारसहित लनटेनिसका नीरज थापा र तेक्वान्दोका सुरज सुनार मनोनयनमा परेका थिए। उनीहरूले जनही ३५ हजारसहित अवार्ड पाएका छन्।

यस्तै, नवौँ राष्ट्रिय खेलकुदमा दुर्घटनामा परेर ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी निसिम थापालाई मञ्चले कीर्तिशेष सम्मान गरेको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रमुख प्रतिपक्ष दलका नेता एवं निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले अवार्ड वितरण गरेका थिए। सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि गरिएका थिए।

प्रकाशित: २३ वैशाख २०८० १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast