अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते

हिमाल प्रेस २० वैशाख २०८० १०:२८
2
SHARE
अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते प्रतिनिधिमूलक तस्बिर

संखुवासभा- संखुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुंगा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार मंगलबार राति मकालु–५ आमाराङमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका राईको उपचारका क्रममा आज बिहान संखुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको हो।

सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन्। घाइते हुनेमा भारतको गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीया साइमुदिन अली रहेका छन्।

घाइते वलिताको दाहिने खुट्टा र घुँडामा चोट लागेको छ भने अलीको खुट्टा र हातमा चोट लागेको छ। दुवैजनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ। अरुण तेस्रो आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन्।

अरुण तेस्रो जलविद्युत्को आयोजनास्थलमा स्वास्थ्य संस्था नहुँदा उपचारको समस्या भएको छ। मजदुरलाई चोटपटक लागेर घाइते भए समयमा उपचार नपाउँदा ज्यान गुमाउनु पर्ने अवस्था छ।

प्रकाशित: २० वैशाख २०८० १०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =