ठेकेदार कम्पनी ‘रमण कन्स्ट्रक्सन’माथि छानबिन गर्न माग

हिमाल प्रेस १९ वैशाख २०८० २१:४९
16
SHARES
ठेकेदार कम्पनी ‘रमण कन्स्ट्रक्सन’माथि छानबिन गर्न माग

काठमाडौँ- ठेकेदार कम्पनी ‘रमण कन्ट्रक्सन’माथि छानबिन गर्न सर्वसाधारणले माग गरेका छन्। कम्पनीले इलाम खानेपानी आयोजनाको काम सम्झौताअनुसार नगरेकाले  कम्पनीमाथि छानबिन गर्न माग गरेका हुन्।

पीडित उपभोक्ताले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कम्पनीले सम्झौताअनुसार काम नगरेको र खानेपानी आयोजनामा अनियमितता गरेको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण पनि गराएका छन्।

उपभोक्ता सुमन श्रेष्ठले अहिले खानेपानी नयाँ पाइपबाट वितरण भए पनि उक्त पानी सम्झौताअनुसारको स्थानबाट नल्याइएको बताए। ‘हाल खानेपानी नयाँ पाइपबाट दिइरहेको भए पनि सो पानी साविककै गिताङ र भाडी खोलाको हो,’ उनले भने, ‘सम्झौतामा उल्लेख भएको मेवा खोला र राते खोलाको प्रतिसेकेण्ड २० लिटरको पानी नयाँ पाइपमा हालिएको छैन।’

उक्त खानेपानी आयोजना एसियाली विकास बैंक (एडीबी)को सहयोगमा बनेको हो। त्यसमा नेपाल सरकारको र उपभोक्ताको पनि लगानी छ। कोरोना महामारीका कारण समयमा काम सम्पन्न नगरेको रमण कन्स्ट्रक्सनले थप गरिएको समयमा पनि काम सकेको छैन। ‘सम्झौता विपरित गुणस्तरहीन कार्य गरेको आयोजनाका संरचना सम्झौताबमोजिम नगरिएको, मापदण्डविपरित पाइप फिटिङ गरिएको, मिटर बक्स कमसल तथा गुणस्तरहीन जडान गरेको कारणबाट सो खानेपानीका उपभोक्तालाई दूरगामी असर परेको छ,’ श्रेष्ठले भने।

प्रकाशित: १९ वैशाख २०८० २१:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =