नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै हुन्छ : चिनियाँ राजदूत

हिमाल प्रेस १८ वैशाख २०८० २०:००
6
SHARES
नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै हुन्छ : चिनियाँ राजदूत

त्रिशुली- नेपालका लागि चिनियाँ राजदूत छन् सोङले भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको साततले दरबार छिट्टै पुनःनिर्माण हुने बताएका छन्। दरबारका साथै आसपासको धार्मिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माण छिट्टै सुरु हुने उनले बताएका हुन्।

चीन सरकारले जिम्मेवारी लिएको दरबारसहितको संरचना पुनःनिर्माणको काममा ढिलाइ भइरहेको समयमा सोमबार राजदूत सोङले स्थलगत अवलोकन गर्दै काम सुरुको तयारीमा रहेकाले समयावधिको लक्ष्य र जिम्मेवारीअनुसार सम्पन्न गरिने प्रतिबद्धता गरे।

‘गोरखा भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक आठ वटा संरचनाको पुनःनिर्माणको जिम्मेवारी चीन सरकारको भएकाले काम सम्पन्न हुन्छ भन्नेमा ढुक्क हुनुहोस्,’ उनले भने, ‘केही प्राविधिक पक्ष र द्विपक्षीय समझदारी मिलाउनुपर्ने भएकाले मिति यकिन नभए पनि काम छिट्टै सुरु गर्न लागेका छौँ ।’

भूकम्पले क्षति पुर्‍याएका संरचना पुनःनिर्माणमा सहयोग पुर्‍याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित यहाँका आठ वटा धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्त्वका संरचनाको पुनःनिर्माण चीन सरकारले गर्ने सम्झौता गरिएको छ।

सोहीअनुसार नेपालका तर्फबाट पुरातत्व विभाग र चीन सरकारका तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच २०७६ जेठमा ४५ महिनाभित्र पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता गरिएको थियो। उक्त अवधि पूरा भइसक्दासमेत दरबारसहितको संरचनाको पुनःनिर्माण तथा प्रबलीकरण अझै अन्योल छ।

चीनले पुनःनिर्माणको जिम्मेवारी लिएको आठ वटा संरचनामा साततले दरबारसहित तलेजु भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रंगमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी (दरबार) रहेका छन्।

चिनियाँ प्राविधिकहरूबाट भौगोलिक र पुरातात्विक अध्ययन भइरहेको समयमा राजदूतले स्थलगत अवलोकनपश्चात् काम सुरु गर्न लागेको बताएसँगै पुनःनिर्माण अघि बढ््ने आशा जगाएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालले बताए। ‘राजदूतले काम सुरु गर्न विभागसँग थप नयाँ समझदारीदेखि यहाँ देखिएका समस्या समाधानमा सहयोग गर्नुपर्छ भन्नुभएको छ,’ फँुयालले भने, ‘ती विषय पूरा गर्न हामी (नेपाली पक्ष)तयार छाैँ।’

२०७६ साउनमा पहिलो पटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले साततले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएको थियो।

त्यसलगत्तैको नयाँ वर्ष (सन् २०२०) मा फर्कने भनेर गएको चिनियाँ प्राविधिक टोली गत वर्ष मात्रै केही आए पनि पुनःनिर्माणको काम भने अझै सुरु हुन बाँकी छ। तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विसं १८०१ मा विजय हासिल गरेपश्चात् साततले दरबारको निर्माण गर्न लगाएको पाइन्छ।

उक्त दरबारलाई नेपालमा गणतन्त्र स्थापना भएसँगै ‘नुवाकोट दरबार संग्रहालय’मा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो। रासस

प्रकाशित: १८ वैशाख २०८० २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =