किरणले छाडे मनाङ मर्स्याङ्दी

हिमाल प्रेस १८ वैशाख २०८० १६:४०
8
SHARES
किरणले छाडे मनाङ मर्स्याङ्दी

काठमाडौँ- किरण श्रेष्ठले मनाङ मर्स्याङ्दी क्लबकाे मुख्य प्रशिक्षक पद त्यागेका छन्। मनाङले सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार किरणले राजीनामा दिएको बताएको हो। पारिवारिक कारण देखाउँदै किरणले जिम्मेवारी त्यागेको मनाङको भनाइ छ।

सहिद स्मारक ए डिभिजन लिगमा मनाङको प्रदर्शन निरन्तर ओरालो लागेपछि किरण दबाबमा परेका थिए। जारी लिगमा जिम्मेवारी त्याग्ने किरण तेस्रो मुख्य प्रशिक्षक हुन्। यसअघि मछिन्द्र फुटबल क्लबका प्रवेश कटुवाल र चर्च ब्वाइज युनाइटेडका प्रदीप हुमागाईंले  राजीनामा दिएका थिए। प्रवेश राष्ट्रिय टिमसँग जोडिएकाले र प्रदीपले वर्क पर्मिट नआएका कारण राजीनामा दिएका थिए।

मनाङ हाल खराब प्रदर्शन गरिरहेको छ। लगातार ६ खेलमा पराजय भोगेको मनाङ हाल १० औँ स्थानमा झरेको छ। लिगका आधा खेल सकिँदा मनाङसँग १५ अंक छ, जुन रेलिगेसन क्षेत्रमा रहेका एफसी खुमलटार र नेपाल पुलिस क्लबभन्दा क्रमशः दुई र तीन अंकले मात्र बढी हो।

सातौँ चरण सकिँदा अपराजित रहेको मनाङ सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भएसँगै ओरालो लागेको हो। आठौँ खेलमा पुगेर पहिलो पटक पराजित भएको मनाङलाई जावलाखेल युथ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, खुमलटार, पुलिस र चर्च ब्याइज युनाइटेडले पराजित गरेका छन्।

अपराजित रहुन्जेल प्राविधिक रुपमा अब्बल खेल देखाएको मनाङमा नाम चलेका घरेलु स्टार छैनन्। तर युवा नेपालीसँगै विदेशी खेलाडी सम्मिलित मनाङले सुरुवाती खेलहरूमा कलात्मक फुटबल खेल खेलेको थियो। जसकारण मनाङलाई उपाधि दाबेदारका रुपमा हेरिन थालिएको थियो।

यद्यपि किरणले भने मनाङको लक्ष्य उपाधि जित्ने नरहेको बताउँदै आएका थिए। बरु शीर्ष तीनमा पर्ने लक्ष्य राखेको उनको भनाइ थियो। राजीनामाबारे किरणले औपचारिक अभिव्यक्ति दिएका छैनन्। न त मनाङले नयाँ प्रशिक्षकबारे केही जानकारी दिएको छ।

लिगमा मंगलबारबाट १४ औँ चरणका खेल सुरु हुँदैछन्। मनाङले १४ औँ चरणमा आर्मीको सामना गर्ने तालिका छ। यो खेल शुक्रबार साँझ दशरथ रंगशालामा हुनेछ।

प्रकाशित: १८ वैशाख २०८० १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =