सामाजिक सुरक्षा कार्यक्रमलाई कडाइका साथ लागु गर्नुपर्छ : प्रधानमन्त्री

हिमाल प्रेस १८ वैशाख २०८० ७:१९
2
SHARE
सामाजिक सुरक्षा कार्यक्रमलाई कडाइका साथ लागु गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागु गर्न पहल गर्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा जारी गरेको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागु गर्न पहल गरिने उल्लेख छ।

‘राष्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा दुई प्रतिशत मजदूरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु’, सन्देशमा भनिएको छ, यसैगरी सम्पूर्ण ‘मजदूरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिबद्धता व्यक्त गर्दछु।’

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमा बुवामा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त प्रधानमन्त्री प्रचण्डले गरेका छन्।

सन्देशमा अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाइ मजदुरलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरूले अनिवार्य रूपमा आफ्ना मजदुरलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको उल्लेख छ।

नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका र मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिंग र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख छ।

नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको सन्देशमा छ।

 

प्रकाशित: १८ वैशाख २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + one =