एक दशकमा पनि बनेन टेकु पुल

हिमाल प्रेस १७ वैशाख २०८० १५:४६
4
SHARES
एक दशकमा पनि बनेन टेकु पुल

काठमाडौँ- टेकुस्थित विष्णुमति नदीमा निर्माण भइरहेको पुल सुरु गरिएको १ दशक बितिसक्दा पनि सम्पन्न भएको छैन। आर्थिक वर्ष २०६९/७० मा निर्माणकाे काम सुरु गरिएको उक्त पुल चालु आर्थिक वर्ष २०७९/८० सम्म पनि सञ्चालनमा आउन सकेकाे छैन।

पुलमा त्रुटि रहेकाले त्यसलाई पुनःनिर्माण गर्नुपर्ने सडक डिभिजन कार्यालय काठमाडौँले जानकारी दिएको छ। कम गुणस्तरको पुल भएकाले अहिले त्यहाँ यातायात आवागमन रोकिएको कार्यालयकी सूचना अधिकारी सुनिता केसीले बताइन्।

निर्माणकै क्रममा सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीबीच विवाद भएपछि पुल निर्माणको काम रोकिएको थियो। कार्यालयले पुल निर्माणमा कम गुणस्तरका सामग्री प्रयोग गरिएकाले काम अघि बढाउन निर्देशन दिएको थियो।

तर उक्त निर्देशन पनि ठेकेदार कम्पनीले नमानेको सूचना अधिकारी केसीले बताइन्। ‘डिभिजनले रोक्न भन्दाभन्दै कम्पनी काम सकाउन लागेको थियो’ उनले भनिन्। कम गुणस्तरको निर्माण भएको र पहिले डिजाइनमा उल्लेख भएकाे (स्पेसिफिकेसन) अनुसार नभएकाले तीन वर्ष पहिले ठेकेदार कम्पनीसँग ठेक्का तोडिएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ।

कार्यालयले ठेक्का तोडेर कम्पनीलाई कालोसूचीमा राख्न पठाएपछि कम्पनी अदालतमा गएको थियो। मुद्दा विचाराधीन हुँदा थप कारबाही गर्न नसकिएकाले अहिले पुल बन्द गरी राख्नुपरेको सूचना अधिकारी केसीको भनाइ छ। ‘पुलसम्बन्धी मुद्दाको निर्णय आएपछि त्यहीअनुसार अघि बढाइनेछ,’ उनले भनिन्।

कम्पनीले आफ्नोतर्फबाट निर्माण सकेपछि यातायात सञ्चालन गर्न चाहे पनि कम गुणस्तरको बनेकाले नदिइएको उनले बताइन्। अहिले मुद्दा विचाराधीन भएकाले सञ्चालनमा ल्याउन नमिल्ने उनको भनाइ छ।

पहिले रोक्नभन्दाभन्दै निर्माण कम्पनीले नमानेर बनाइएका संरचना स्वीकार गर्ने किसिमको नभएको कार्यालयकाे भनाइ छ।

उक्त पुल पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको हो। उक्त कम्पनीले टेकु र तीनकुनेमा रहेका दुई वटै पुल निर्माणको जिम्मा पाएको थियो। दुई वटै पुलमा गुणस्तरीय काम नगरेको भन्दै ठेक्का तोडिएको हो।

तीनकुनेमा रहेको पुल नयाँ ठेक्कामार्फत अघि बढाउन लागिए पनि यो पुलको मुद्दा अदालतमा रहेकाले लामो समयसम्म पुल अलपत्र परेको छ। रासस

प्रकाशित: १७ वैशाख २०८० १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =