विमोचित भयो ‘ओ पेङ्दोर्जे’

हिमाल प्रेस १७ वैशाख २०८० ११:५३
8
SHARES
विमोचित भयो ‘ओ पेङ्दोर्जे’

काठमाडौँ- कवि तथा पत्रकार राजु स्याङ्तानको पहिलो कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ सार्वजनिक भएको छ। काठमाडौँ, कालिकास्थानस्थित नेपालयको आरशालामा पुस्तक विमोचन गरिएको हो।

त्यहाँ उपस्थितमध्ये एक व्यक्तिलाई पहिलो प्रति दिँदै लेखकले पुस्तक सार्वजनिक गर्नु नेपालयको रीति हो। ऊबेला सशस्त्र द्वन्द्वमा होमिएका राजुले त्यही बेलाकी सहयोद्धा प्रवीणा गोलेलाई पुस्तकको पहिलो प्रति दिँदै किताब विमोचन गरे।
‘द्वन्द्वमा हामी सँगै थियौँ, म एकातिर उभिन्थेँ, उनी बन्दुक बोकेर अर्को पंक्तिमा उभिएकी हुन्थी,’ कवि राजुले भने, ‘सुरक्षामा खटिएकी उनले आक्रमणमा परी एक हात गुमाइन्। तिनलाई नै आफ्नो किताबका पहिलो प्रति दिन चाहन्छु।’

द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रवीणाले हात गुमाएकी हुन्।

जनयुद्धमा लागेर आफूले तीनटा कुरा पाएको राजुले त्यहाँ बताएका थिए। ‘जनयुद्धमा लागेर मैले पेटभरि भात खान पाएँ, पढ्न पाएँ अनि जीवनमा पहिलोपटक ‘तपाईं’को सम्बोधन पाएँ,’ उनले भने।

जनयुद्धपछि आफूले दुइटा कुरा गुमाएको पनि उनले बताए। ‘स्कुलमा कहिल्यै अगाडि गएर बोल्न नसक्ने म कक्षा ६मा पढ्दा ‘साथीहरू युद्धमा गएँ, बाँचे भेटौला’ भन्दै हिँडेको,’ उनले भने, ‘त्यसैले द्वन्द्व सकिएपछि गाउँ फर्किन सकिएन। अर्को कुरा चन्दा उठाउन सकिएन।’

त्यसपछि उनी कथा, कविता रचना गर्न थाले। उनका बेलाबेलामा छापिएका कविता ‘ओ पेङ्दोर्जे’का रूपमा पाठकमाझ आएका छन्।

पब्लिकेसन नेपालयको आरशालामा पुस्तक विमोचन गर्नुअघि वक्ताहरूले कुनै समय हतियार बोकेर समाज रूपान्तरणमा लागेका राजुले पछिल्लो समय बोकेको कलमको हतियार अत्यधिक धारिलो भएको टिप्पणी गरे।

कार्यक्रममा कवि श्रवण मुकारुङ सर्जकबारे बोलेका थिए। उनले आफू राजुका कविताको लती भएको बताएका थिए। ‘मैले नछुटाईकन पढ्ने अहिलेका कविहरूमाझ राजुको कविता पढ्ने गरेको छु,’ उनले भने, ‘उनी विशाल स्वप्नले सञ्चालित प्रतिभाशाली कवि हुन्। जसको सिर्जनाको म लती हुँ।’

राजनीतिक विश्लेषक हरि शर्माले एक पाठकका रूपमा ‘ओ पेङदोर्जे’बारे टिप्पणी गरेका थिए। ‘एउटा समुदायबाट उठेको मानिस उसको वरपरको विभिन्न थिचोमिचो, सहयोग र असहयोगको बीचबाट हुर्कंदा हुर्कंदै बजार र विश्वव्यापीकरणसँग जुध्न पुग्छ,’ शर्माले भने, ‘परिणाममा बजार, समाज र पुँजीवादको बन्दी भएका कविको वेदना र पीडा यसमा सशक्त ढंगले प्रतिविम्बित छ।’

कार्यक्रममा पब्लिकेसन नेपालयकी तत्कालीन सम्पादक भूषिता वशिष्ठले यो पुस्तक प्रकाशन गर्दाको अनुभवबारे बोलेको भिडियो रेकर्डसमेत देखाइएको थियो।

विमोचन समारोहमा भौतिक पुस्तक मात्र नभई यसका ‘ई-बुक’ र ‘अडियो बुक’ पनि सार्वजनिक भएको घोषणा गरिएको थियो। पछिल्लो समय प्रचलनमा आएको पुस्तकका यी नवीन स्वरूप इन्टरनेटमा ‘थुप्रै डटकम’ एप्समार्फत खरिद गर्न सकिने कार्यक्रममा जानकारी दिइयो।

यस पुस्तकको ‘अडियो बुक’ खरिद गर्नेले राजुको स्वरमा वाचन गरिएको कविताको साथमा संगीतकार आभासले तयार पारेर मिसाएको धुनको आनन्द पनि लिन सक्नेछन्। यस कवितासंग्रहमा छवटा फरक खण्डभित्र ५१ वटा कविता अटाएका छन्।

कार्यक्रममा पब्लिकेसन नेपालयका तर्फबाट बोल्दै किरणकृष्ण श्रेष्ठले लेखक तथा प्रकाशकहरूले जति छिटो पुस्तकहरू धेरै माध्यममा उपलब्ध गराउँछन्, त्यति नै पाठकको दायरा फराकिलो हुने बताए।

‘यतिबेला साहित्यिक पुस्तकमध्ये सबैभन्दा थोरै कविता बिक्री भइरहेको यथार्थकै बीच हामीले यसै विधाको पुस्तक प्रस्तुत गर्ने जमर्को गरेका छौँ,’ उनले भने, ‘कुनै समय पुस्तकको बिक्री बढेर फेरि कमी आउन थालेकामा हामी प्रकाशकहरूले कस्ता पुस्तक पाठकलाई दियौँ भनेर पनि यतिबेलै आत्मसमीक्षा गर्न जरुरी छ।’

१ सय ५१ पृष्ठको यो कवितासंग्रहलाई संसारभरका पाठकले अमेजनमार्फत पनि खरिद गर्न सक्ने नेपालयले जनाएको छ। कार्यक्रममा राजुले पुस्तकमा अटाएका दुईवटा कविता वाचन गरेका थिए।

प्रकाशित: १७ वैशाख २०८० ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 19 =