भारतीय दूतावासद्वारा ‘जनकपुर सांस्कृतिक महोत्सव’ आयोजना

हिमाल प्रेस १६ वैशाख २०८० १८:४५
2
SHARE
भारतीय दूतावासद्वारा ‘जनकपुर सांस्कृतिक महोत्सव’ आयोजना

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासमातहतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले ‘जनकपुर सांस्कृतिक महोत्सव’ आयोजना गरेको छ। वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावाससँगको सहकार्यमा शुक्रबार महोत्सव आयोजना गरिएको हो।

जनकपुरस्थित मिथिला यात्री निवासमा आयोजना गरिएको महोत्सवमा ‘मैथिली फुड फेस्टिबल’ र लोक सांस्कृतिक कार्यक्रम महोत्सवका मुख्य आकर्षण थिए। मैथिली फुड फेस्टिभलमा ८४ किसिमका परम्परागत मैथिली परिकार राखिएका थिए। अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउन कोदोबाट बनेका स्थानीय परिकार कार्यक्रमको विशेष आकर्षण रहेको दूतावासले जानकारी दिएको छ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा कलाकारहरूले भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न भजन, राग र भरतनाट्यम नृत्य प्रस्तुत गरे। मिथिला नाट्य कला परिषद (मिनाप) का कलाकारहरूले मैथिली लोक गीत तथा नृत्य प्रस्तुत गरे।

भारतले ‘स्वतन्त्रताको अमृत महोत्सव’ अन्तर्गतको एक कार्यक्रमको रूपमा र सीता नवमीको अवसर पारेर उक्त महोत्सव आयोजना गरेको बताएको छ।

प्रकाशित: १६ वैशाख २०८० १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nine =