लोक भजन चुड्का महाधिवेशन बुटवलमा सुरु

कुर्सीका लागि विचार बेच्‍नेहरूलाई गीतबाट प्रहार गर्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह

हिमाल प्रेस १६ वैशाख २०८० १६:२५
4
SHARES
कुर्सीका लागि विचार बेच्‍नेहरूलाई गीतबाट प्रहार गर्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह

लुम्बिनी– राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन शनिबारदेखि बुटवलमा सुरु भएको छ। महाधिवेशनको बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन्।

उद्घाटनमा बोल्दै उनले सत्ताको दौडमा लाग्ने नेताहरूलाई गीत संगीतबाट व्यंग्य गर्नुपर्ने बताउँदै उनले भजन चुडकाले कुर्सीको दौडमा लाग्नेलाई व्यंग्य हान्न आग्रह गरे। कामका लागि भनसुन गर्नुपर्ने, नेताकोमा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले देशमा भ्रष्टचार अन्त्य गर्न र कुर्सीको लागि हानथाप गर्ने मन्त्री खान विचार बेच्नेलाई गीतबाट प्रहार गर्न उनले सुझाव दिए।

भाषा, कला र संस्कृति नेपालको पहिचान रहेको बताउँदै उनले गीत संगीतका माध्यमबाट शुसासन विकासको पक्षमा नेताहरूलाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंलाए। कलाकारितालाई रोजगारसँग जोड्न आवश्यक रहेको भन्दै उनले गीत/संगीतमा लाग्नेहरू यसै क्षेत्रबाट आत्मनिर्भर हुने अवस्था आए मात्र कलाकारिता क्षेत्र भरपर्दो हुने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोज श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, नेकपा एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईलगायतले आफ्नो विचार राखे। अधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक गरी ५ सय जनाको सहभागिता रहेको छ।

प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवम् महाधिवेशन आयोजक समितिका संयोजक नारायण खनाल लेकालीले अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाए। महाधिवेशनको बन्द सत्र भने बुटवल १२ नयाँगाउँस्थित मुक्तिनाथ धाममा हुने उनले जानकारी दिए।

प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापति पराजुलीले नेपालीको संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने लोक भजन तथा चुड्काहरूको संरक्षण र प्रवर्द्धनका लागि राज्यले कुनै पनि कार्य गर्न नसकेको बताए।

धर्म, संस्कार, संस्कृति र परम्परा संरक्षणका लागि प्रतिष्ठानले आवाज उठाउँदै आएको स्पष्ट पार्दै उनले नेपालका प्राचीन र मौलिक भजन तथा चुड्काहरू संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले ०६७ सालमा प्रतिष्ठानको स्थापना गरिएको जानकारी दिए।

प्रकाशित: १६ वैशाख २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =