इटहरीमा अनलाइनबाटै नक्सा पास हुने

हिमाल प्रेस १४ वैशाख २०८० १७:४४
8
SHARES
इटहरीमा अनलाइनबाटै नक्सा पास हुने

इटहरी– इटहरी उपमहानगरपालिकाले अनलाइनबाट नक्सा पास गर्न सकिने सुविधा सुरु गरेको छ। उपमहानगरले ‘पेपरलेस’ अवधारणाअनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) कार्यान्वयनमा ल्याएको हो।

छिटो-छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको मेयर हेमकर्ण पौडेलले बताए।

‘नयाँ घर सबैभन्दा बढी थपिने इटहरीमा अब अनलाइनबाटै घर नक्सा हुन्छ,’ पौडेलले भने, ‘विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाइल बोकेर दौडिरहन पर्दैन।’

उनले आर्थिक वर्ष ०८०/८१ भित्रमा नगरलाई पेपरलेस (कागजबिहीन) बनाउने लक्ष्य राखेको बताए।

उनका अनुसार विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागज पत्रहरू सुरक्षित रहने तथा नगरलाई पनि तथ्यांक राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुनेछ।

भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गराउँदै इटहरीलाई स्मार्ट सहरका रूपमा विकास गर्ने योजनाअन्तर्गत अनलाइन नक्सा पास प्रणाली थालिएको मेयर पौडेलको भनाइ छ । पहिलो पटक इटहरीबाट अनलाइनबाटै नक्सा पास गर्ने इटहरी १ का आशिष कार्कीलाई सम्मान गरिएको छ।

यो प्रणालीअनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाण पत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने इञ्जिनियर कैलाश तिम्सिनाले बताए। यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बाहनाबाजीलाई निरुत्साहित गराउने उपमहानगरपालिकाको विश्वास छ।

यसरी गरिन्छ काम

प्राविधिकहरूकाअनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इभीपीएस) कम्युटर सफ्टवेयरमा नक्सा पास गर्न कहाँ-कहाँ जाने भनेर अप्सन र अप्सनमा विभिन्न डेस्क राखिएका हुन्छन्।

ती डेस्कमा चरणबद्ध रूपमा गएपछि नक्सा पास गर्ने प्रक्रिया पूरा हुन्छ। प्रारम्भमा इजाजत प्राप्त व्यक्ति वा कन्सल्टेन्टलाई उपलब्ध गराइएको प्रोग्रामको युजर आइडी र पासवर्डअनुसार नक्सा पास गर्न चाहिने जग्गाको लालपूर्जा, नागरिकता, फोटो, सम्पत्ति कर तिरेको रसिद, नापी नक्साजस्ता घरजग्गासँग सम्बन्धित आवश्यक कागज पत्र स्क्यान गरेर सबै फाइल एटयाच गरी पठाइन्छ।

डिजाइन डेस्कबाट डकुमेन्ट रजिष्ट्रेशन डेस्कमा आइपुग्छन्। जसमा लालपूर्जा, जग्गाको कित्ता नम्बरलगायत इञ्जिनियरले जाँच गर्छन्। यसपछि इञ्जिनियरले टेक्निकल डेस्कमा पठाउँछन्। जुन डेक्समा डिजाइन, भवन मापदण्ड तथा भवनसंहिता पूरा गरेको/नगरेको हेरिन्छ। सबै ठीक भएपछि ‘एक्ज्युकेटिभ डेस्क’ मा पठाइन्छ जसमा छुटपुट छ वा छैन भनेर जाँच गरिन्छ।

प्राविधिकहरूकाअनुसार यदि तोकिएअनुसारको मापदण्ड पूरा भएको छैन भने सफ्टवेयरलाई त्यसलाई सपोर्ट गर्दैन। यसपछि रेभिन्यु डेस्क हुँदै राजस्वमा गएपछि विधिवत दर्ता भई वडा डेस्कमा जान्छ। वडा डेस्कमा पुगेपछि १५ दिने सूचना टाँस गरी सँधियारको दाबी विरोध, प्राविधिकबाट नक्साअनुसारको फिल्डलगायत जाँच गरिन्छ।

यी सबै प्रक्रिया पूरा गरी अन्तिम घर सम्पन्न प्रमाण पत्र दिनेसम्मका काम अनलाइन प्रणालीबाटै हुन्छ। यो सफ्टवेयर प्रयोग गरी सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत् नक्सा शाखामा पठाउन सक्नेछन्। त्यसपछि प्रक्रिया पूरा गरी नगरपालिकाले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ।

सबै कागज पत्र पुगेका मितिले २० दिनभित्र नक्सा पास हुने बताइएको छ।

प्रकाशित: १४ वैशाख २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =