प्रधानमन्त्रीले अराजक प्रवृत्ति प्रोत्साहन गरेको राजन भट्टराईको दाबी

हिमाल प्रेस १४ वैशाख २०८० १७:१८
8
SHARES
प्रधानमन्त्रीले अराजक प्रवृत्ति प्रोत्साहन गरेको राजन भट्टराईको दाबी

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्तिसुरक्षामा देखापरेको चुनौतीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। देशको शान्तिसुरक्षामा देखापरेको चुनौतीका विषयमा बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई एमालेले ध्यानाकर्षण गराएको हो।

गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेका विदेश विभाग प्रमुखसमेत रहेका डा.राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदासमेत आक्रमण भएको जिकिर गरे। मुलुकको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा भएको आक्रमणले देशको शान्ति सुरक्षा कस्तो छ? भन्ने स्पष्ट पारेको उनले बताए।

गृहमन्त्रीसँग आफूहरूले आक्रमण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न आग्रह गरेको बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै अराजक गतिविधि गर्नेहरूलाई प्रोत्साहन गरेको दाबी गरे।

कोशी प्रदेश नामाकरण कानुनी रूपबाट टुंग्याइसकेको विषयमा प्रधानमन्त्रीले ठिक रहेनछ भन्नु अराजकतालाई प्रश्रय दिनु रहेको उनले जिकिर गरे।

‘शान्ति सुरक्षामा देखापरेको अत्यन्त गम्भीर चुनौती छ, यसबारे उपप्रधान एवम् गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका छौं। हाम्रो पार्टीको अध्यक्ष शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदा यो मुलुकको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा जुन किसिमको अवस्था सिर्जना भयो, त्यो हरकत देखाउने कुरामा हामीले गम्भीर आपत्ति जनाएका छौं। यसमा जुन तत्वले त्यो गरेका छन्, उनीहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ,’ उनले भने, ‘राज्यबाट नै प्रधानमन्त्री स्वयंले कानुनी प्रक्रियाबाट टुंगोमा पुर्‍याइएको विषयलाई यो विषय ठिक रहेनछ भनेर जुन अभिव्यक्ति दिनुभयो, यसले संविधान हातमा लिने कुरालाई र प्रवृत्तिलाई प्रोत्साहीत गरेको छ। सत्तासिन पार्टीकै कार्यकर्ताहरू यस किसिमका गतिविधिमा संलग्न हुन दुःखद् कुरा हो।’

वैशाख ७ गते दिनदहाडै कपनको सरस्वती नगरमा व्यवसाय गरेर बसेकी निरा आचार्यको हत्या ८ दिन बितिसक्दासमेत पत्ता नलागेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको उनको भनाइ छ। वर्तमान एकपछि अर्को असफलतामा गुज्रिरहेको बताउँदै उनले वर्तमान सत्तागठबन्धनले न्युनतम कर्तव्य पनि पूरा गर्न नसकेको आरोप लगाए।

समाज असुरक्षित हुँदै गयो : डंगोल

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले समाजमा असुरक्षा बढेको बताएकी छन्। ओलीमाथि झापामा भएको आक्रमण प्रयास र काठमाडौँको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको घटनाप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै उनले यस्तो बताएकी हुन्।

अहिले मानिसहरू एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताउँदै उनले हत्यामा संलग्नहरू ८ दिन बितिसक्दासमेत पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको उल्लेख गरिन्। अपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा सिसि क्यामेर जडान गर्ने प्रक्रिया अघि बढाएको उनको भनाइ छ।

‘घटनाबारे अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट छिटै नै निचोड आउने प्रतिबद्धता पाएका छौं। एक अर्कासँग डराउनुपर्ने त्रासपूर्ण वातावरण बनेको छ। महानगरपालिकाले पनि शान्ति सुरक्षामा प्रहरीसँग नजिकबाट समन्वय गरिरहेका छौं,’ उनले भनिन्, ‘महानगरले पनि महानगरभित्र प्रहरीसँग हरेक ठाउँमा सिसि क्यामेरा राख्ने जडान गर्ने भनेका छौं। घटनाको ८ दिन बितिसक्दा पनि घटनामा संलग्नहरू बाहिर नआउनुले प्रश्न उठाएको छ,’ उनले भनिन्।

प्रकाशित: १४ वैशाख २०८० १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =