भारतीय कलाकारको बढ्दो नेपाल प्रेम

संगीता श्रेष्ठ १६ वैशाख २०८० ७:५३
26
SHARES
भारतीय कलाकारको बढ्दो नेपाल प्रेम

फिल्म छायांकन र पशुपतिनाथलगायत देवीदेवताको दर्शन तथा विभिन्न संघसंस्थाको आमन्त्रणमा आउने भारतीय कलाकारले मनोरञ्जनका साथै पर्यटन क्षेत्रमा पनि योगदान दिइरहेका छन्।

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार अजितकुमार सुब्रमण्यमले हालै नेपाल भ्रमण गरे। झापा, जनकपुर र सिन्धुली हुँदै काठमाडौँ आएका उनले पोखरा पनि भ्रमण गरे। बेनी हुँदै जोमसोम पुगेका उनले हिमाली सौन्दर्यको पनि दृश्यावलोकन गर्न भ्याए। उनी जोमसोमको होटल म्याजेस्टीमा बसेका थिए।

अजित बाइकका सोखिन हुन्। उनी आफ्नो बाइकमै भारतबाट नेपाल आएका हुन्। ‘राइड फर म्युचुअल रिस्पेक्ट’ टुरका लागि अजित नेपाल आएको भारतीय पत्रिका ‘द इकोनोमिक टाइम्स’ले जनाएको छ।

तमिल फिल्मका यी चर्चित अभिनेता मुस्ताङको मुक्तिनाथ मन्दिर गए। त्यहाँ उनले स्थानीय बासिन्दा, प्रहरी र सञ्चारकर्मीसँग फोटो पनि खिचे। ती तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। मुस्ताङको तीनचार दिनको बसाइपछि उनी पोखरा लागेका थिए।

‘थुनिभु’, ‘वलिमाई’ लगायत दक्षिण भारतीय फिल्ममा काम गरेका अजित बलिउड अभिनेत्री श्रीदेवी अभिनीत ‘इंग्लिस विंग्लिस’ मा अतिथि भूमिकामा देखिएका थिए।
पछिल्लो समय अजितजस्तै नेपाल घुम्न आउने भारतीय सेलिब्रिटीहरूको संख्या बढेको छ। भ्रमणका लागि मात्र नभई फिल्म, वेब सिरिज, म्युजिक भिडियो लगायतको छायांकन गर्न पनि भारतीयहरू धमाधम नेपाल आउन थालेका छन्।

केही समयअघि अर्का दक्षिण भारतीय अभिनेता विजय सेतुपति वेब सिरिजको छायांकनका लागि नेपाल आएका थिए। विजयसँगै बलिउड अभिनेता साहिद कपुर र केके मेनन अभिनीत वेब सिरिज ‘फर्जी’ को सुटिङ काठमाडौँमा भएको थियो।

चारपाँच दिनसम्म छायांकन भयो। तीनकुने, एयरपोर्ट, वसन्तुपर दरबार स्क्वायरलगायत ठाउँमा छायांकन गरियो। त्यसताका सुटिङका दृश्य सामाजिक सञ्जालमा भाइरल भएका थिए।

दक्षिण भारतीय सुपरस्टार विजयका नेपालमा पनि थुप्रै प्रशंसक छन्। उनी अभिनीत दक्षिण भारतीय फिल्मको हिन्दी डब नेपाली दर्शकले निकै मन पराउँछन्। फिल्म सुटिङ हेर्नेको भीड लागेको थियो।

फिल्मका कलाकार र प्राविधिक टोली होटल सोल्टीमा बसेको थियो। वेब सिरिजमा केही नेपालीले पनि काम गर्ने मौका पाएका थिए।

त्यसअघि हिन्दी सिनेमाका दिग्गज कलाकार अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, बोमन इरानी, निना गुप्ता, सारिका, परिणीति चोपडालगायत कलाकारको अभिनय रहेको फिल्म ‘उचाइ’को छायांकन नेपालमा भएको थियो। सुटिङका लागि अनुपम, बोमन, परिणीतिसँगै अन्य भारतीय कलाकार नेपाल आएका थिए।

फिल्मको छायांकन नाम्चे र मनाङमा भएको थियो। बलिउडको प्रसिद्ध प्रोडक्सन हाउस राजश्रीअन्तर्गत बनेको फिल्मको सुटिङका लागि लोकेसन हेर्न निर्माता–निर्देशक सुरज बडजात्या टोलीसँग आफैँ आएका थिए।

हेलिकप्टरबाट उनी मनाङ पुगेका थिए। दुई दिन त्यहाँ बसेर टोलीले छायांकन स्थलको अवलोकन गरेको थियो।

माथिल्लो मनाङका विभिन्न ठाउँ घुमेर टोली काठमाडौँ फर्किएको थियो। सगरमाथा आधारशिविरमा पनि केही दृश्य छायांकन गर्ने उद्देश्यले त्यहाँको स्थलगत अवलोकन पनि टोलीले गरेको थियो।

आधाभन्दा बढी भाग नेपालमा छायांकन गरिएको फिल्म ‘उचाइ’ सन् २०२२ नोभेम्बरमा प्रदर्शनमा आएको थियो। फिल्मले भारतमा मात्र नभई नेपालमा पनि राम्रो कारोबार गरेको थियो।

व्यावसायिक रूपमा सफल फिल्ममा मित्रताको कथा छ। तीन वृद्ध साथी जो चौथो साथीको अन्तिम इच्छा पूरा गर्न सगरमाथा आधार शिविरको पदयात्रा गर्न जान्छन्। नेपालको हिमाली भेगमा छायांकन भएको फिल्मले कोरोनाका कारण थला परेको यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने अपेक्षा उतिखेर धेरैले गरेको थिए।

फिल्म प्रदर्शनपछि मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्न सक्ने अनुमान पनि लगाइयो। फिल्ममार्फत मनाङको मात्र नभई नेपालकै प्रचारप्रसार हुने पनि भनियो।
त्यसपछि चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच छलफलसमेत भएको छ।

विदेशी चलचित्रलाई नेपालमा छायांकन गर्न प्रोत्साहित गर्ने उद्देश्यले निर्माण कम्पनीसँग नेपाल चलचित्र बोर्ड र नेपाल पर्यटन बोर्डले सीधै सम्बन्ध राख्ने सहमति छलफलमा भएको थियो। सँगै फिल्म छायांकनमा कुनै समस्या आए त्यसलाई समाधान गर्न दुवै बोर्डले पहल गर्ने सहमति पनि भयो।

विदेशी पर्यटकका लागि नेपाल सधैँ आकर्षक गन्तव्य रहेको छ। यहाँको प्राकृतिक सौन्दर्य र संस्कृतिले घुम्न आउनेलाई मात्र होइन छायांकन गर्न चाहने विदेशी फिल्मकर्मीलाई समेत लोभ्याउँछ। नेपालका विभिन्न ठाउँमा बलिउडदेखि हलिउड फिल्मको सुटिङ हुने गरेको छ।

जमानाका अभिनेता देव आनन्द, अभिनेत्री जीनत अमान, मुमताज अभिनीत फिल्म ‘हरे रामा हरे कृष्णा’को सुटिङ नेपालमा भएको थियो। फिल्म सन् १९७१ मा प्रदर्शनमा आएको थियो।

फिल्ममा उतिखेर नेपालमा रहेका हिप्पीहरूको कथा समेटिएको छ। नेपालमा रहेको हिप्पी संस्कृति देखाउने फिल्म त्यतिखेर बक्स अफिसमा अत्यधिक सफल भएको थियो। फिल्ममा हिप्पी संस्कार, वातावरण, उनीहरूले सेवन गर्ने लागूपदार्थ, उनीहरूको नेपाल बसाइ आदि देखाइएको छ। फिल्म काठमाडौँ, वसन्तपुर र त्यस आसपास छायांकन गरिएको थियो।

फिल्ममा देव आनन्दले अभिनयमात्र गरेका थिएनन्। निर्माण, निर्देशन र सम्पादन पनि उनकै थियो। छायांकनका क्रममा उनी पनि नेपाल आएका थिए। नेपालको राजदरबारसँग आत्मीय सम्बन्ध रहेका देव आनन्द बेलाबेला घुम्न नेपाल आइरहन्थे।

त्यसबाहेक हिन्दी फिल्म ‘खुदागवाह’, ‘घरवाली बाहरवाली’, ‘महान’, ‘जोनी मेरा नाम’, ‘बेबी’, ‘लभ इन नेपाल’, ‘इन्डियाज मोस्ट वान्टेड’, ‘युद्ध’लगायत बीसौँ फिल्मको छायांकन नेपालमा भएको छ। फिल्म छायांकनका लागि अमिताभ बच्चन, श्रीदेवी, अनिल कपुर, रविना टन्डन, सोनु निगम, अक्षय कुमार, अर्जुन कपुरलगायत भारतीय कलाकार नेपाल पुगिसकेका छन्।

त्यस्तै ‘द गोल्डेन चाइल्ड’, ‘बराका’, ‘लिटिल बुद्ध’, ‘सेभेन इयर्स इन तिब्बत’, ‘द फल’, ‘रिटर्न्ड चाइन्ज सोल्जर अफ नेपाल्स माओस्ट आर्मी’, ‘द वाइल्डेस्ट ड्रिम’, ‘वियोन्ड द एज’, ‘एभरेस्ट’लगायत हलिउड फिल्मको छायांकन पनि नेपालमा भएको छ।

चाँडै हलिउडका चर्चित अभिनेता लियाम निसन पनि नेपाल आउने हलिउड इन्टरटेनमेन्ट पत्रिका ‘डेडलाइन’ले जनाएको छ। उनी आफ्नो नयाँ फिल्म ‘द आइस रोड २ ः रोड टू द स्काई’का लागि नेपाल आउने पत्रिकाले खुलाएको छ।

‘टेकन’, ‘सिन्डलर्स लिस्ट’ लगायत फिल्ममा काम गरेका निसन एक्सन हिरोका रूपमा प्रसिद्ध छन्। सन् २०२१ मा प्रदर्शनमा आएको फिल्म ‘द आइस रोड’को यो दोस्रो भाग हो। जसमा उनी आइस रोड चालक माइक म्याकनको भूमिकामा देखिनेछन्।

जसले आफ्नो स्वर्गीय भाइको अन्तिम इच्छालाई सम्मान गर्छ। भाइको अस्तु सेलाउन म्याकन नेपालको यात्रामा निस्किन्छ। यही कथामा आधारित फिल्मको छायांकनका लागि निसन नेपाल आउनेछन्।

कलाकार जो घुम्न आए

केही महिनाअघि बलिउड अभिनेता विवेक ओबराय नेपाल घुम्न आएका थिए। परिवारसहित आएका उनले यहाँ एक साता बिताए। सगरमाथा आधार शिविर, पोखरा, लुम्बिनी, काठमाडौँ भ्रमण गरे। पशुपतिनाथ मन्दिरको दर्शन पनि गरे विवेकले।

एक निजी भ्रमणका लागि फिल्म ‘बाहुबली’की अभिनेत्री तमन्ना भाटिया पनि गत फागुनमा काठमाडौँमै थिइन्। इन्स्टाग्राममा काठमाडौँमा होली खेलेका तस्बिर सेयर गर्दै उनले आफू नेपाल भ्रमणमा रहेको जानकारी प्रशंसकलाई दिएकी थिइन्।

त्यस्तै अभिनेता जितेन्द्र कुमारले पनि नेपाल घुमिसकेका छन्। पत्नी शोभा कपुरसँग उनले दुईपटक नेपाल भ्रमण गरेका छन्। सन् १९७४ मा पहिलोपटक नेपाल घुम्न आएको जितेन्द्रले एयरपोर्टमा सञ्चारकर्मीसँग कुराकानी गर्दा बताएका थिए। नेपाल आफूलाई असाध्यै मन पर्ने भएकाले घुम्न आउने उनले भनेका थिए।

बलिउड अभिनेता आमिर खान युनिसेफको एक कार्यक्रममा भाग लिन नेपाल आएका छन्। विभिन्न कार्यक्रमका लागि अभिनेत्री मलाइका अरोडा, सन्नी लियोनलगायत नेपाल आइसकेका छन्।

प्रकाशित: १६ वैशाख २०८० ७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =