इटहरीका मेयरले ठेकेदारको गाडी नियन्त्रणमा लिएपछि…

हिमाल प्रेस १३ वैशाख २०८० १७:१६
80
SHARES
इटहरीका मेयरले ठेकेदारको गाडी नियन्त्रणमा लिएपछि…

इटहरी- इटहरीमा निर्माणाधीन ६ लेन सडकमा रोकिएको काम तीन दिनभित्र सुरु हुने भएको छ। इटहरी उपमहानगरपालिकास्थित तरहराको पानीपियादेखि सेउती पुलसम्मको काम तीनभित्रै सुरु हुने भएको हो।

यसअघि उक्त सडक खण्डको काम ठेकेदार कम्पनीका कारण रोकिएको थियो। ठेकेदार कम्पनीले काम नगरेको भन्दै मेयर हेमकर्ण पौडेलले निर्माण कम्पनीको गाडी नियन्त्रणमा लिएपछि ठेकेदार कम्पनीले तीन दिनभित्रै काम सुरु गर्ने लिखित प्रतिबद्वता गरेको छ।

ठेकेदार कम्पनीले लिखित प्रतिबद्धता गरेपछि इटहरी उपमहानगरपालिका र ६ लेन सडक आयोजनाले पनि त्यसमा सहमति जनाए।

इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडै सक्न पटकपटक ठेकेदार कम्पनीलाई ताकेता गरिएको थियो।

सडक निर्माणमा भएको ढिलाइका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ। यो सडक हिम धुङ् थोकर एन्ड पेसिफिक जेभी कम्पनीले ठेक्का लिएको छ।

निर्माण कम्पनीका प्रतिनिधि ठाकुर कँडेलले कालोपत्रे गर्नका लागि केन्द्रीय ल्याब रिपोर्ट आउन लागेको जानकारी दिए। ल्याब रिपोर्ट आएपछि धुलो सफा गरेर चाँडै कालोपत्रे थालिने उनले बताए । ‘इस्टमेटभन्दा ५० लाख बढीको पनि काम भयो,’ उनले भने, ‘कोरोनापछिको आर्थिक समस्याले गर्दा पनि केही ढिलाइ हुन पुग्यो।’

आफूहरूले असार मसान्तसम्म काम सक्ने उनको दाबी छ। रानी-विराटनगर-इटहरी-तरहरा-धरान सडक खण्डअन्तर्गत तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माण हुन बाँकी छ।

इटहरीका मेयर पौडेलले निर्माण कम्पनीले लिखित प्रतिबद्वता गरेकाले समयमै सडक पूरा हुने विश्वास रहेको बताए। २०६९/७० बाट सुरु भएर सात वर्षभित्रमा विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटर ६ लेन सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो।

तर, पछिल्लो समय म्याद बढाएर २०८० असार मसान्तसम्म पुर्‍याइएको छ। सडक सम्पन्न गर्न १० अर्ब ९८ करोड लागत अनुमान गरिएको छ।

प्रकाशित: १३ वैशाख २०८० १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =