शुक्रबारदेखि प्रदर्शन हुने चारवटै फिल्मको टिकट बुकिङ खुल्यो

हिमाल प्रेस १३ वैशाख २०८० १३:०२
8
SHARES
शुक्रबारदेखि प्रदर्शन हुने चारवटै फिल्मको टिकट बुकिङ खुल्यो

काठमाडौँ- वैशाख १५ गतेदेखि प्रदर्शन हुने चारवटै फिल्मले मल्टिप्लेक्स हलहरूमा टिकट बुकिङ खुलाएका छन्। मंगलबारदेखि फिल्मको टिकट बुकिङ खुलाइएको हो।

आगामी शुक्रबार तीन फिचर फिल्म ‘नाई न भन्नु ल ६’, ‘प्रसाद २’, ‘कैदीको पत्र’ र एक डकुमेन्ट्री फिल्म ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’ गरी चार फिल्म एकसाथ भिड्दैछन्।

विकासराज आचार्य निर्देशित फिल्म ‘नाई न भन्नु ल ६’ प्रेमकथामा आधारित छ। फिल्ममा आर्शीवाद बि क्षेत्री, आँचल शर्मा, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मी, खड्गबहादुर पुन (खबपु)लगायत कलाकारको अभिनय छ। फिल्मले क्यूएफएक्सअन्तर्गतका हलमा १६ शो पाएको छ।

फिल्म निर्माणको घोषणादेखि प्रदर्शनको मितिसम्मै अनेकौं अवरोध खेप्दै प्रदर्शनको नजिक पुगेको फिल्म ‘प्रसाद २’ले क्यूएफएक्समा २४ शो पाएको छ। अन्तरजातीय प्रेम कथामा आधारित फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक सुदर्शन थापा हुन्।

त्यस्तै सनमकुमार बैरागको निर्देशनमा बनेको फिल्म ‘कैदीको पत्र’ले क्यूएफएक्सअन्तर्गतका कुनै पनि हलमा शो पाएको छैन। तर अन्य हलहरूमा फिल्मको शो छ। प्रेमकथामा आधारित फिल्ममा कुनाल विश्व, म्याडिसन लाजारुस, सलिनालगायत कलाकारको अभिनय छ।

तीन फिचर फिल्मबीच डकुमेन्ट्री फिल्म ‘पासाङः इन द स्याडो अफ एभरेस्ट’ ले क्यूएफएक्समा तीन शो पाएको छ। अमेरिकी निर्देशक न्यान्सी स्भेन्डसेन निर्देशित फिल्म पासाङ ल्हामु शेर्पाले चौथो पटकको प्रयासमा कसरी सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरिन् भन्ने कथामा आधारित छ।

यसअघि नयाँ वर्षमा प्रदर्शन भएको फिल्म ‘जारी’ र गत फागुन १९ गतेदेखि हलमा चलेको फिल्म ‘छक्का पञ्जा ४’ पनि प्रदर्शनरत छ। त्यस्तै हिन्दी फिल्म ‘किसिका भाइ किसिका जान’ र अंग्रेजी फिल्म ‘इभिल डेड राइज’ पनि चलिरहेका छन्।

प्रकाशित: १३ वैशाख २०८० १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =