सांसदहरू भन्छन् : ठूला दल रूपान्तरण नभई सुख्खै छैन

हिमाल प्रेस १२ वैशाख २०८० १९:२४
20
SHARES
सांसदहरू भन्छन् : ठूला दल रूपान्तरण नभई सुख्खै छैन

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलहरूले आफ्ना कमीकमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका छन्। संसद् भवनबाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले दलहरूले आफ्ना कमीकमजोरी सुधारेमात्रै जनताले विश्वास गर्ने बताएका हुन्।

जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरुले आफूलाई सुधार्नुपर्ने उनको भनाइ छ। यथास्थितिमा जनताले कसैलाई पनि विश्वास नगर्ने पनि अध्यक्ष नेपालले बताए।

उनले भने, ‘अवश्य पनि यसले केही सन्देश त दिएकै छ। प्रत्येक निर्वाचनले दिने परिणामका बारेमा विश्लेषण गर्नुपर्छ। जनताको झुकाव कसैप्रति किन गइरहेको छ? कसैप्रति किन छैन भन्ने बारेमा राम्रो ढंगले विश्लेषण गरेर आफूमा के–के कमजोरी रहेका छन् त्यसलाई सुधार्ने दिशामा अगाडि बढ्नैपर्छ।’

एमालेका सचिव योगेशकुमार भट्टराईले उपनिर्वाचनको मत परिणामले ठूला दलहरु रूपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाएको बताए। उनले निर्वाचनको परिणामलाई कुनै चमत्कारका रूपमा नलिई स्वाभाविक प्रक्रियाको रुपमा लिनुपर्ने बताए।

भट्टराईले भने, ‘अहिलेका निर्वाचनबाट आएका परिणामहरुले हिजोदेखि जनतामा स्थापित भएका कतिपय ठूला दलका सन्दर्भमा जे प्रश्न उठिरहेको छ, ती दलहरुभित्र कतिपय रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाउँछ।’

एमालेका प्रमुख सचेतक पदम गिरीले एमालेले सुशासन, समृद्धि, राष्ट्रिय स्वाधीनता र सामाजिक सुरक्षाको क्षेत्रमा खेलेको भूमिका स्पष्ट रुपमा जनता समक्ष पु¥याउन चुकेको बताए। एमालेले गरेका काम जनतासम्म पु¥याउन नसकेका कारण उपनिर्वाचनमा पराजित हुनुपरेको उनको भनाइ छ।

उनले भने, ‘एमालेले मुलुक, जनताका लागि, सुशासन र समृद्धिका लागि जे–जे भुमिका खेलेको थियो, राष्ट्रिय स्वाधिनताका सवालमा एमालेले जे भूमिका खेलेको थियो, सामाजिक सुरक्षाका क्षेत्रमा जे भूमिका खेलेको थियो। यी सबै विषयमा स्पष्ट ढंगले आमजनतालाई आफ्ना राख्न सकेको भए एमालेले राम्रो मत ल्याउन सक्थ्यो।’

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ठूला दलहरुले युवाको भावनालाई किन बुझ्न सकेनन् भन्ने विषयमा छलफल हुनु आवश्यक रहेकोमा जोड दिए। उनले आगामी दिनमा जनताले आफूहरुको अनुहारलाई मन नपराउनुको कारणबारे पार्टीमा बृहत् छलफल गरेर अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘विद्रोही भएर पार्टीभित्रकै पनि कोही कोही स्वतन्त्र उम्मेदवारले जितेका छन् नि। अब हामीले बृहत रुपमा छलफल गरेर पार्टीलाई अझ एकताबद्ध भएर, जनतासँग किन हामी पुग्न सकेनौँ, युवासँग किन टच हुन सकेनौँ? युवाहरुको भावनालाई किन बुझ्न सकेनौँ? किन हाम्रो अनुहारलाई जनताले मन पराएनन्? भन्ने कुरामा पार्टीभित्र बृहत छलफल गरेर आगामी दिनमा जाने प्रयासमा हामी छौँ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनको परिणामले आफ्नो पार्टीप्रतिको भ्रम र आक्रमणलाई चिरेको बताए। नेपाली जनताहरु परिवर्तन र देशको समान विकासको पक्षमा रहेको देखिएको उनले बताए।

परियारले भने, ‘यो हाम्रो लागि एउटा महत्त्वपूर्ण परिणाम हो। यसले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जुन किसिमको भ्रमहरु फैलाइएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीलाई जसरी आक्रमण भइरहेको थियो त्यसलाई पनि चिरेको छ। त्यो भन्दा ठूलो कुरा नेपाली जनता परिवर्तनका पक्षमा छन्।’

माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपनिर्वाचनको मत परिणामले ठूला र पुराना पार्टीहरुलाई चुनौती खडा गरेको बताए। ठूला पार्टीहरुले आफ्नो जीवनशैली र कार्यशैलीका बारेमा गम्भीरतापूर्वक नसोच्ने हो भने चुनौतिी खडा हुने उनले बताए।

उनले भने, ‘यसलाई धेरै ठुलो, अनौठो रुपमा पनि लिन जरुरी छैन। मूलधारका भनिएका, पुराना भनिएका, ठूला भनिएका पार्टीहरुका लागि एउटा चुनौती खडा भएको छ। यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ।’

प्रकाशित: १२ वैशाख २०८० १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =