उपनिर्वाचनमार्फत जनताले दिएका ६ सन्देश

विराजभक्त श्रेष्ठ १३ वैशाख २०८० ६:०२
580
SHARES
उपनिर्वाचनमार्फत जनताले दिएका ६ सन्देश विराजभक्त श्रेष्ठ।

१० गते भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा हाम्रो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) दुई सिटमा निर्वाचित भएको छ। तीन सिटका लागि भएको निर्वाचनमा दुई सिटमा निर्वाचित गराएर मतदाताले हामीमाथि ठूलो विश्वास दिलाएका छन्।

सर्वप्रथम म तनहुँ–१ र चितवन–२ का मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै ६ महिनाकै बीचमा पहिलाभन्दा निकै ठूलो मतान्तरले निर्वाचित भएका हाम्रा पार्टीका सभापति रवि लामिछाने र चुनावी राजनीतिमा पहिलोपटक प्रवेश गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।

स्थापनाको हिसाबले हाम्रो पार्टी रास्वपा सबैभन्दा कान्छो हो। पार्टी यति बेला बलियो शक्तिका रूपमा उदाएको छ। हाम्रा गतिविधिलाई देशविदेशमा रहेका नेपालीले सूक्ष्म तरिकाले अवलोकन गरिरहेका छन्।

लामो समयदेखि राजनीतिको केन्द्रमा रहेका प्रमुख दलहरूलाई चुनौती दिएकालगायत विषयमा रास्वपाको चर्चा भइरहेको छ। हाम्रो दलले छोटो अवधिमै कसरी लोकप्रियता पाउन सक्यो भनेर राजनीतिक वृत्तमा मात्रै होइन नागरिक समाज र आमनागरिकबीचमा पनि अनेक कोणबाट बहस हुन थालेका छन्। यसमा हाम्रो पार्टीले जनतामाझ प्रस्तुत गरेका एजेन्डा नै प्रमुख हो। उपनिर्वाचनसम्म आइपुग्दा  जनताले मुख्यतः ६ वटा सन्देश दिएका छन्।

रूपान्तरण : समय सापेक्षताका हिसाबमा रूपान्तरण हुुनु भनेको प्राकृतिक पद्धति हो। नेपाली राजनीतिको केन्द्रमा २०४६ सालपछि अहिलेसम्म आइपुग्दा उही अनुहारको हालीमुहाली हुँदै आएको छ। २०६२/०६३ को परिवर्तनपछि गणतन्त्र घोषणा र नयाँ संविधान आए पनि नेतृत्वको मूल प्रवृत्ति पुरानै छ। राजनीतिक दलहरूबीच सुशासन र विकासका एजेन्डामा छलफल भएको पाइँदैन। कुशासनबाट जनता आक्रान्त छन्। त्यसैले ३० औँ वर्षदेखि खोजेको परिवर्तन नपाएपछि जनताले विकल्प खोज्नु स्वाभाविकै हो।

सूचना प्रविधिको सहयोग : विश्वको कुन देशमा के भएको छ, त्यो कुरा प्रविधिको पहुँचमा रहेको व्यक्तिले तत्काल थाहा पाउँछ। प्रविधिको तीव्र विकासले मानिसमा चेतनाको स्तर ह्वात्तै बढेको छ। संसारमा परिवर्तन सम्भव हुने हाम्रोमा किन नहुने भनेर नेपाली नागरिकले प्रश्न उठाउन थालेका छन्। नागरिकका यस्ता चासोलाई सम्बोधन गर्न नसक्दा पुराना राजनीतिक दल र नेताहरूप्रति असन्तुष्टि चुलिएको हो। नागरिक सधैँ परिवर्तनका पक्षमा छन्। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका पक्षमा जनमत आउनु यस्तै परिवर्तन र विकल्पको खोजी हो। पुराना दलका नेताको प्रवृत्ति सकारात्मक छैन भन्नेमा नागरिक सचेत छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका पक्षमा मत दिएर नागरिकले दिएको अर्को सन्देश यही हो।

उपलब्धितर्फको यात्रा : २००७ सालपछि पटकपटक राजनीतिक आन्दोलन भए। हरेक आन्दोलनबाट राजनीतिक व्यवस्था परिवर्तन हुँदै आएको छ। २०७२ सालमा नयाँ संविधान बनेपछि संघीयता र गणतन्त्र प्राप्त भएको छ। सात दशकभन्दा बढी लामो आन्दोलनमा नागरिकले राजनीतिक अधिकार प्राप्त गरे पनि जनजीविकाका सबालमा कैयौँ अधिकार पाउन सकेका छैनन्।

शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषयमा पुराना राजनीतिक दलका एजेन्डा कमजोर छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, मधेशी दलमाथि सत्तालिप्सामा केन्द्रित हुँदै आएको आरोप छ। यद्यपि सबैको योगदानले राजनीतिक परिवर्तन भएको छ। तर त्यसपछि ‘डेलिभरी’ दिन पुराना सबै दल असफल भए।

असन्तुष्टि/सन्तुष्टि जनमतबाटै जाहेर : लोकतान्त्रिक पद्धतिमा नागरिकले आफ्ना सन्तुष्टि होस् र असन्तुष्टि मतबाटै जाहेर गर्छन्। राजनीतिक दल र नेताहरूको परीक्षा चुनावमै हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले गत चुनावमा २० सिट जितेको थियो। अहिले तीन सिटमा उपनिर्वाचन हुँदा दुई सिट जित्नु भनेको रास्वपा थप परीक्षणमा पर्नु पनि हो। यसबाट जनताले परिवर्तन चाहेकै पुष्टि हुन्छ। सहरी क्षेत्रमा मात्रै होइन, ग्रामीण बस्तीमा पनि मानिसहरू परिवर्तनका पक्षपाती देखिएका छन्।

संसद्‌मा परीक्षण : संसद्‌मा हामीले खेलेको भूमिकामा नागरिकले आफ्नो आवाज प्रतिबिम्बित भएको पाएको जस्तो लाग्छ। यसअघिको संसद् निकै निरस थियो। सत्ताको चलखेलमा केन्द्रित थियो। जनआवाज मुखरित हुन सकेका थिएनन्। उपनिर्वाचनकै अभियानमा तनहुँ, बारा, चितवन जाँदा जनताबाट सकारात्मक प्रतिक्रिया पाएको छु। हात्तीको सुँढ काटिएको कुरा, मूर्ति चोरी भएको कुरा जुन मैले संसद्‌मा उठाएको थिएँ। यस्ता कुरा सुन्दा बल्ल पो संसद् संसद्जस्तो भएछ भनेर जनताले भनेका छन्। संसद् जीवन्त भयो भन्ने पाएको छु। विधेयकहरूका सम्बन्धमा सैद्धान्तिक छलफल गर्दा हामीले राखेका अडान र खेलेको भूमिका पनि जनताले हेरिरहेका छन्।

चुनौती पनि उत्तिकै : प्रतिनिधिसभामा सिट संख्या बढ्दा हामी जति खुसी भएका छौँ, त्योभन्दा बढी जिम्मेवार थपिएको अनुभूति भएको छ। चुनौती पनि उत्तिकै थपिएका छन्। जनताका अपेक्षा धेरै छन्। ती अपेक्षा सम्बोधन गर्न सकेनौँ भने हामीलाई पनि जनताले छाड्ने छैनन्। हामी फेरि जनताको कठघरामा उभिनैपर्नेछ। हामी यसप्रति अत्यन्त संवेदनशील छौँ।

(राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता श्रेष्ठसँगको कुराकानीमा आधारित)

प्रकाशित: १३ वैशाख २०८० ६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =