सदनमा उठेका प्रश्न वेबसाइटमा राख्न डा. तोसिमाको माग

हिमाल प्रेस १२ वैशाख २०८० १५:१४
6
SHARES
सदनमा उठेका प्रश्न वेबसाइटमा राख्न डा. तोसिमाको माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसद्मा सांसदहरुले उठाएका प्रश्न पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन्।  संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उनले ती प्रश्न त्यसको अवस्थाबारे आमनागरिकले हेर्न पाउने गरी वेबसाइटमा व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी हुन्।

प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै उनले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि दोहोर्‍याइन्।  ललितपुरमा स्वास्थ्य बिमा, स्वास्थ्यकर्मीहरूको थप दरबन्दी र नख्खु–भैँसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ? भनी सरकारलाई प्रश्न पनि गरेकी छन्।

उनले भनिन्, ‘हामी संसदमा आइपुग्न निर्वाचनमा अर्बौँ खर्च हुन्छ। एक दिनको संसद बैठकमा लाखौँ खर्च हुन्छ। आर्थिक पक्ष भन्दा पनि मूल्यवान् आशा, भरोसा र विश्वास नागरिकको जोडिएको हुन्छ हामीसँग। हामी प्रश्न उठाउँछौँ, उत्तर आउँदैन।’

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियममा ७ दिनभित्र सम्बन्धित मन्त्रीले जबाफ दिनुपर्ने व्यवस्था रहेको बताउँदै डा. कार्कीले भनिन्, ‘खै ललितपुरमा स्वास्थ्य बिमा कहिले आउँछ? नख्खु–भैँसेपाटी सडक कहिले बनिसक्छ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढछ? यी प्रश्नहरुको जवाफ आएन।’

उनले सदन सांसदहरूको भन्दा पनि सार्वभौम नेपाली जनताको बढी रहेको बताइन्। उनले भनिन्, ‘सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक छ। म समस्या मात्रै राख्दिन सभामुख महोदय, समाधान पनि दिन चाहन्छु। के-के प्रश्न उठे, ती प्र्र्र्र्रश्नहरुको अवस्था के छन्? आम नागरिकले हेर्ने गरी वेबसाइटमा राख्ने व्यवस्था मिलाइयोस्।’

प्रकाशित: १२ वैशाख २०८० १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =