‘नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल’ हुने

हिमाल प्रेस १२ वैशाख २०८० १२:२३
8
SHARES
‘नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल’ हुने

काठमाडौँ- नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ। सोमबार काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टू नेपालमा पत्रकार सम्मेलन भएको थियो। सम्मेलनमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी दिइन्।

जोएलका अनुसार फिल्म महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा यही वैशाख १५ देखि १७ (अप्रिल २८–३०) सम्म चल्नेछ। महेन्द्रनगरपश्चात् दोस्रो चरणमा फेस्टिभल वैशाख २०, २१ र २२ मा (मे ३–५) मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ।

फेस्टिभलको अन्तिम प्रदर्शनी काठमाडौँ, चाबहिलमा रहेको चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ (१२–१५ मे) सम्म आयोजना गरिनेछ। फेस्टिभलको यस संस्करणको मूल विषयवस्तु सबैका लागि मानव अधिकार उत्सव रहेको छ। ‘यो वर्ष मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष भएको छ,’ नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले भनिन्, ‘यसै सन्दर्भमा हामीले चलचित्र महोत्सवको लागि ‘सबैका लागि मानवअधिकार उत्सव’ भन्ने मूल विषय छानेका छौँ। यसको उद्देश्य आममानिसमा उनीहरूको अधिकारबारे सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने रहेको छ।’

सुदूरपश्चिम, मध्यपश्चिम र काठमाडौँमा आयोजना हुने महोत्सवमा युरोपका ख्यातिप्राप्त निर्देशकहरूले निर्देशन गरेका आठवटा फिल्मका साथसाथै नेपालका युवा फिल्म उत्पादकले निर्माण गरेका छोटा फिल्म प्रदर्शन गरिनेछन्।  महोत्सवका क्रममा युरोपियन युनियन नेपालले ‘मानवअधिकार प्रवद्र्धनमा फिल्मको भूमिका’ विषयक छलफल पनि आयोजना गर्नेछ।

छलफलको सञ्चालन सञ्चार तथा मानवअधिकार विज्ञ प्रतिष्ठा कोइरालाले गर्नेछिन्। यस छलफलमा युरोपबाट फिल्म विषयमा लेख्दै आएका स्टनिस्ल्यास इड सहभागी हुनेछन्। छलफलमा नेपालका चलचित्र निर्माता तथा निर्देशक अरुणदेव जोशी र फिल्म अध्ययनमा लामो अनुभव भएका डा. सचिन घिमिरे पनि सहभागी हुनेछन्। छलफल कार्यक्रम नेपाल चलचित्र विकास बोर्डको हलमा वैशाख ३० मा दिउँसो ३ देखि साढे ४ सम्म सञ्चालन हुनेछ।

अर्को छलफल ‘चलचित्रलाई कसरी बुझ्ने?’ भन्ने विषयमा हुनेछ। यसको सञ्चालन चर्चित चलचित्र निर्माता तथा निर्देशक राजेश गोंगजुले गर्नेछन्। गोगजु सन् २००० देखि चलचित्र निर्माण र शिक्षण पेशामा आबद्ध छन्। थुप्रै अवार्डसमेत प्राप्त गरेका छन्। यो छलफल सोही दिन अर्थात् वैशाख १७ मा सुदूरपश्चिम विश्वविद्यालयको हलमा दिउँसो ११ देखि १२ बजेसम्म आयोजना हुनेछ। गोंगजुले यही विषय मध्यपश्चिम विश्वविद्यालयको हलमा वैशाख २० दिउँसो ३ बजेर ४५ मिनेट देखि ४ बजेर ४५ मिनेटसम्म पढाउनेछन्।

सुदूरपश्चिम, मध्यपश्चिम र काठमाडौँ तीनटै ठाउँको महोत्सवको सुरुवात ह्यामी रामेजन निर्देशित फिल्म ‘एनी डे नाउ’बाट हुनेछ। आप्रवासनको कथालाई प्रस्तुत गर्ने यो फिल्म समकालीन समयको एउटा मुख्य मानवअधिकारको सवाल हो। महोत्सवमा प्रदर्शन हुने अन्य फिल्ममा अरस टी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लीली (अस्ट्रिया), एन्ड्री बाग्ने निर्देशित रमोना (स्पेन), दोनातो रोतुनको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीको निर्देशन रहेको इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनासको निर्देशित इनभिजिबल (लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेको डेटिङ अम्बर (आयरल्यान्ड, युके) र डेभिड फ्रेनले निर्देशित मित्र (नेदरल्यान्डस्) रहेका छन्।

यसै गरी महोत्सवमा टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहयोगमा निर्माण भएका नेपाली फिल्म प्रदर्शन गरिनेछन्। जसमा अंकित खड्गीको निर्देशनमा बनेको ‘आई वान्टेड टू बी लाइक माधुरी दीक्षित’, विशाल रोक्कामगरको ‘गोर्खा गर्ल’ र ग्रीष्म गिरीको ‘ब्लुज अफ पिंक’ रहेका छन्। नेपाली युवा फिल्म निर्माताका अन्य फिल्ममा मिन्शो लिम्बूको ‘जुनको’, सुनील पाण्डेको ‘बागथान’, पुनम पौडेलको ‘लिभिङ विद् डिग्निटी’, दीपक रौनियारको ‘फोर नाइटस्’ र दीपा श्रेष्ठको ‘ड्रिफ्टििङ क्लाउड्स’ रहेका छन्।

प्रकाशित: १२ वैशाख २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =