हर्कले इटहरी क्षेत्रमा द्वन्द्व निम्त्याउन खोजेको हेमकर्णको दाबी

हिमाल प्रेस ११ वैशाख २०८० २१:३३
10
SHARES
हर्कले इटहरी क्षेत्रमा द्वन्द्व निम्त्याउन खोजेको हेमकर्णको दाबी

इटहरी– इटहरी २० मा पर्ने पानीपिया क्षेत्रमा धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्राधिकार परेको भन्दै सीमा प्रारम्भको बोर्ड लगाएपछि इटहरी उपमहानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ। सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उपमहानगरका मेयर हेमकर्ण पौडेलले सीमा विवाद झिकेर द्वन्द्व फैलाउन खोजिएकाले संवादमा आउन आग्रह गरेका छन्।

धरानका मेयर हर्क साम्पाङलाई संवादमा आउनका लागि सूचनासमेत पठाइएको उनले बताए। ०१० सालभन्दा अगाडिबाट इटहरी-धरानको सीमा सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न मेयर पौडेलले सुझाए।

‘इटहरी र धरान दुई उपमहानगरपालिबीच सीमासम्बन्धी विषयलाई लिएर केही दिनदेखि भइरहेको क्रियाकलाप र गतिविधिबाट हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’मेयर पौडेलले भने, ‘आज देशको सीमाना अतिक्रमण भएको भन्ने विभिन्न माध्यमबाट आवाज उठिरहेको अवस्था छ। हामी आपसमा विभाजित भएर होइन कि, एकमत एकमाना भई देशको सीमा रक्षा गर्नुपर्नेछ।’

सुनसरीका दुई उपमहानगरपालिकावासीको सामाजिक, आर्थिक धार्मिक सम्बन्धलाई थप कसिलो बनाउनुपर्ने भए पनि धरान उपमहानगरले भने द्वन्द र द्वैष फैलाउन खोजेको पौडेलको भनाइ छ।

इटहरी र धरानका वन उपभोक्ता समितिहरूले सेउती पुललाई सीमा मानेर सोहीअनुसार वनको उपभोग, रेखदेख, संरक्षण, सम्वर्द्धन गर्दै आएको भए पनि उपमहानगरले अचानक, वार्ता र संवाद नै नगरी इटहरी क्षेत्रमा सीमा प्रारम्भको बोर्ड राख्नु अस्वभाविक भएको उनले बताए।

‘यस्ता संवेदनशील र गम्भीर विषयलाई ऐतिहासिक तथ्यलाई ख्याल गर्दै अन्तरपालिकाको साझा समस्याहरूमा धरानका मेयरसँग छलफल, संवाद, सहमति र सहकार्य गर्न म तयार छु,’ उनले भने, ‘धरान र इटहरीवासीबीच कुनै किसिमको कलह, द्वन्द्व, द्वैष, वैमनश्यता, मतभेद, सिर्जना हुने गतिविधि नगर्नका निम्ति सम्बन्धित सबैमा अनुरोध गर्दछु।’

सीमासम्बन्धी हाल भइरहेका क्रियाकलापले दुवै पालिकाको हित नहुने हुँदा संयमतापूर्वक आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क छ।

आइतबार साँझ धरानका मेयर हर्क साम्पाङको निर्देशनमा नगर प्रहरी तथा कर्मचारीहरूले इटहरी २० को पानीपियामा सीमा प्रारम्भको बोर्ड राखेका थिए। मध्यरातमै नेकपा एमाले निकट राष्ट्रिय युवासंघ इटहरीले भने उक्त बोर्ड उखेलेको छ।

प्रकाशित: ११ वैशाख २०८० २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =