संसदीय समितिमा मिल्यो भागबण्डा, टीआरसी विधेयक अघि बढाउने सहमति

हिमाल प्रेस ११ वैशाख २०८० १७:४५
34
SHARES
संसदीय समितिमा मिल्यो भागबण्डा, टीआरसी विधेयक अघि बढाउने सहमति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको तीन प्रमुख दलको बैठकमा सहभागी नेताहरू। तस्बिर : रासस

काठमाडौँ- प्रमुख दलहरूबीच संक्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित विधेयक अघि बढाउन १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको छ।

सिंहदरबारमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकमा संसदीय समितिको नेतृत्व र संक्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढाउने विषयमा सहमति जुटेको हो।

बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले संघीय संसदको दुईवटा संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति कांग्रेस र राज्यको निर्देशक सिद्धान्त समितिको सभापति एमालेले पाउने सहमति भएको जानकारी दिए। यस्तै प्रतिनिधिसभाअन्तर्गतको १० वटा विषयगत समितिमध्ये लेखा र अन्य कुनै एक समितिको सभापति एमालेले लिने सहमति भएको छ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अघि बढाउन १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको जानकारी गिरीले दिए। संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि संसद्‌बाटै पारित गरेर अघि बढ्ने सहमति भएको छ।

कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदमा भएका सबै दलहरूबीच सहमतिकै आधारमा संसद् सञ्चालन गर्ने सहमति भएको बताए। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले टीआरसी अघि बढाउन विशेष समिति गठन गर्ने र संसद्को अर्को अधिवेशनको निश्चित समयभित्रै पारित गर्ने सहमति भएको जानकारी दिए। संसदीय समितिको नेतृत्व विवाद पनि समाधान भएको छ।

दलहरूबीच महत्त्वपूर्ण विधेयक अघि बढाएर संसदको चालु अधिवेशन छिटै अन्त्य गर्ने र बजेट अधिवेशनको तयारी गर्ने सहमति भएको छ। एमाले नेता गिरीका अनुसार संसद्को चालु अधिवेशन वैशाख १५ गतेसम्म चलाउने सहमति भएको छ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता हितराज पाण्डे, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रमेश लेखक, एमाले अध्यक्ष केपी शर्मा ओली, नेता सुवास नेम्बाङलगायत सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =