स्वदेशमै बनेका सवारीसाधन दर्तामा बल्ल सरकारी चासाे

हिमाल प्रेस ११ वैशाख २०८० १६:५३
6
SHARES
स्वदेशमै बनेका सवारीसाधन दर्तामा बल्ल सरकारी चासाे

काठमाडौँ- सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारीसाधन दर्ताका लागि सहजीकरण गर्ने बताएको छ। यात्री सवारीसाधन दर्ता नगरिएको भन्दै समाजिक सञ्जालमा चर्को आलोचना भएपछि सरकारले सहजीकरणका लागि पहल गर्ने बताएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका सवारीसाधन सञ्चालनमा देखिएका कानुनी जटिलता तत्काल समाधान गरिने बताए।

मन्त्री ज्वालाले सोमबार मन्त्रालय मातहतका कर्मचारी र रोकारवाला निकायसँग सवारीसाधन दर्तासम्बन्धी कार्यविधि संशोधनका लागि निर्देशन दिइएको पनि बताए। ‘दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारीसाधन दर्ता र सञ्चालनको समस्या हल हुन्छ,’ उनले भने, ‘स्वदेशमै उत्पादन भएका सवारीसाधनलाई हामी प्रोत्साहन गर्छाैँ, तर त्यसको सुरक्षा सुलभ मूल्यमा होस् भन्नेमा हाम्रो चासो छ।’

नेपालमा उत्पादन भएका सवारीसाधन दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको छ। मन्त्री ज्वालाले नेपाली उत्पादन प्रोत्साहन गर्न यातायात व्यवस्था विभागको कार्यविधि तथा निर्देशिका संशोधन गरिने मन्त्री ज्वालाको भनाइ थियो।

यात्रीले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएको छ। नेपालमा उत्पादन भएका सवारीसाधनको परीक्षण पनि भइसकेको छ। तर प्रज्ञापनपत्रको अभावमा दर्ता हुन सकेको छैन। प्रज्ञापनपत्रको सट्टा कर विजक लिएर दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ।

२०५४ मा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरिद भएका सवारी साधनका लागि मात्र व्यवस्था गरिएको छ। मन्त्रालयका सचिव केशवकुमार शर्माले यात्रीलगायत स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नेगरी दर्ता प्रक्रिया सहज बनाउन आवश्यक पहल गरिने बताए।

नेपाली उत्पादनका सवारीसाधन कम खर्चमा उपभोक्ताको पहुँच तथा सुरक्षित हुनुपर्ने सचिव शर्माको भनाइ थियो। यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले यात्रीको दर्ताका लागि तत्काल कार्यविधि संशोधनको प्रक्रिया अघि बढाइएको र कम्पनीको उत्पादन सुरक्षित, गुणस्तरीय र उपभोक्तामैत्री हुनुपर्ने बताए। रासस

प्रकाशित: ११ वैशाख २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =