‘हल्कारा’को चिठी लेखन प्रतियोगिता विजेताले ५० हजार रुपैयाँ पाउने, यस्ता छन् नियम

हिमाल प्रेस १० वैशाख २०८० १६:०६
22
SHARES
‘हल्कारा’को चिठी लेखन प्रतियोगिता विजेताले ५० हजार रुपैयाँ पाउने, यस्ता छन् नियम

काठमाडौँ– यही वैशाख २९ गते प्रदर्शन फिल्म ‘हल्कारा’ले चिठी लेखन प्रतियोगिता आयोजना गरेको छ। व्यक्तिगत भावनाहरूलाई व्यक्त गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फिल्मका निर्देशक विक्रम सापकोटाले बताए। उनका अनुसार फिल्ममा गाउँमा चिठी पुर्‍याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाइएको छ।

यस्तो छ नियम

जीवनबाट टाढा भएका, चाहेर पनि नपाएका अथवा सधैं सम्झिरहने व्यक्तिलाई चिठी लेख्नुपर्ने निर्माण टिमले जनाएको छ। जसमध्ये उत्कृष्ट चिठी लेख्ने ३ जनालाई नगद रुपैयाँसहित पुरस्कार प्रदान गरिने छ। प्रथम पुरस्कार ५० हजार रुपैयाँ , द्वितीय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ तोकिएको छ।

सेतो ए फोर साइजको पानामा अभिवादन र समापन उल्लेख गर्दै औपचारिक शैलीमा चिठी लेखिएको हुनुपर्नेछ र नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्नेछ। एकभन्दा बढी पाना आवश्यक परेमा प्रयोग गर्न सकिने र कम्तीमा पाँच सयदेखि बढीमा १ हजार शब्दमा चिठी लेखिएको हुनुपर्नेछ।

चिठी नेपालभर वा विदेशबाट जो कोही नेपालीले पठाउन सक्नेछन्। खाम तथा चिठीमा आफ्नो नाम कुनै पनि सरकारी परिचय पत्रबमोजिम हुनुपर्नेछ। प्रेषकमा आफ्नो नाम र ठेगाना प्रष्ट लेखिएको हुनुपर्नेछ भने प्रापकमा ‘नेपाली चलचित्र हल्कारा परिवार’लेखी ठेगाना काठमाडौँ, नेपाल, पोस्ट बक्स नम्बर १४१४ लेखि पठाउनु पर्नेछ।

चिठीको अन्तिममा युट्युबमा रहेको फिल्म ‘हल्कारा’को ट्रेलर हेरी आफुले बुझेको कथा लेख्नुपर्नेछ। चिठीमा आफ्नो नाम र ठेगानासँगै सम्पर्क फोन नम्बर लेखेको हुनुपर्नेछ। विदेशबाट प्रेषित हुने चिठीमा आफ्नो नेपालमा हुने निकट व्यक्तिको परिचयसमेत लेख्नुपर्नेछ।

यस प्रतियोगिताको निर्णायकहरूमा कवि तथा साहित्यकार विप्लव प्रतीक, फिल्मकर्मी मनोजबाबु पन्त र अभिनेता महेश त्रिपाठी रहने छन्। चिठीमा रचनाशैली, मौलिकपन, विषयवस्तुको पालना, व्याकरण र हिज्जेसहित सबै पक्षको मूल्यांकन गरी उत्कृष्टता मापन गरिने निर्माण पक्षले जनाएको छ।

चिठी पठाउँदा यही वैशाख १० गते (आज)देखि वैशाख २० गतेसम्म पठाइसक्नु पर्ने र २५ गतेसम्म पोस्ट बक्समा प्राप्त भइसकेको हुनुपर्नेछ। २७ गते प्रतियोगिताको नतिजा र पुरस्कार घोषणा गरिनेछ। फिल्ममा कलाकार महेश त्रिपाठी हल्कारा अर्थात हुलाकीको भूमिकामा छन्। महेश र विनीता थापा मगरको मुख्य भूमिका रहेको फिल्म लेखन, निर्देशन तथा सम्पादन विक्रम सापकोटाले गरेका छन्।

विप्लव प्रतीक र आकाश बरालको सहलेखन रहेको फिल्ममा महेश र विनीतासहित शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारीलगायतको अभिनय छ।

प्रकाशित: १० वैशाख २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =