पत्रकार र इतिहासकारको निष्पक्षता

प्रा.डा. कटक मल्ल ११ वैशाख २०८० १०:०९
100
SHARES
पत्रकार र इतिहासकारको निष्पक्षता

नेपाल र भारतमा केही सम्मानित पत्रकार र समाचारमाध्यम छन्। यद्यपि यतिबेला ‘फेक न्युज’ दुई देशमा गम्भीर समस्या बनेको छ। सरसर्ती हेर्दा वर्तमान भारतको तुलनामा नेपालमा प्रेस र प्रकाशनको स्वतन्त्रता सुरक्षित छ।

भारत दुई कारणले विश्व समाचारमा छ- एउटा गुणस्तरीय पत्रकारिताको ह्रास र अर्को इतिहास पुनर्लेखन। ७० हजारभन्दा बढी समाचारपत्र र पाँच सयभन्दा धेरै भाषामा स्याटेलाइट च्यानल भएको भारतमा ‘फेक न्युज’ र ‘प्रोपोगान्डा’ लाई बीजेपी सरकारद्वारा इन्धन दिइएको छ भानिन्छ। बीजेपी सम्बद्ध ‘व्हाट्सएप युनिवर्सिटी’ले विद्यार्थीलाई भारत सन् १९४७ को सट्टा २०१४ मास्वतन्त्र भएको भन्ने सिकाउँछ। किनकि बीजेपी २०१५ मा सत्तामा आएको हो।

साथै भारत सरकारले आफ्नो हिन्दु राष्ट्रवादी इतिहास पुनर्लेखन गर्दैछ। सन् १९४८ मा हिन्दु राष्ट्रवादी नाथुराम गोडसेले महात्मा गान्धीको हत्या गरेको तथ्य हामीले सुन्दै आएका छौँ। तर यो तथ्यलाई भारतमा विद्यालयको पाठ्यपुस्तकबाट मेटाइँदैछ। बीजेपीका राष्ट्रिय प्रवक्ता गोपालकृष्ण अग्रवालको भनाइमा यो इतिहास पुनः लेख्ने होइन बरु केही इतिहासकारको ‘पक्षपाती दृष्टिकोण’ लाई पुनः सन्तुलित गर्ने तरिका हो। सरकारको आलोचनालाई राष्ट्रविरोधी मान्ने भाजपा नीति छ।

नेपालले भारतको इतिहासको पुनर्लेखन तरिका पछ्याउनु हुँदैन। भारतीय मोडलको नक्कल गर्नबाट बाँकी रहेका नेपाली पत्रकारिता जगत् (प्रिन्ट मिडिया, डिजिटल मिडिया र टीभी पत्रकारिताले) जोगिनुपर्छ।

इतिहासकार र पत्रकार निष्पक्ष हुन्छन्?

पत्रकारले तथ्यको संकलन गर्छ। जनतालाई तथ्यगत समाचार सञ्चार गर्छ। अर्थात् पत्रकारको काम तथ्यगत समाचार प्रसारण गर्नु हो। विचार प्रसारण गर्नु होइन। यद्यपि तथ्यगत सम्पादकीय महत्त्वपूर्ण हुन्छ। इतिहासकारले तथ्यहरूका आधारमा निश्चित कुनै कालखण्डमा के भइरहेको थियो भनेर तथ्यको विश्लेषण र व्याख्या गर्छ। त्यसैले त भनिन्छ, पत्रकारहरू विषय ‘प्रसंग’ केन्द्रित हुन्छन्। इतिहासकारहरू विषय ‘सन्दर्भ’ केन्द्रित हुन्छन्।

‘प्रसंग’ भनेको घटना, घटनाको विषय, घटनाको समय, मौका र अवसरका बारेमा जानकारी (रिपोर्टिङ) हो। ‘सन्दर्भ’ भन्नाले चाहिँ कुनै पनि घटना, घटनाको विषय र अवसरसँग मिल्दोजुल्दो दृश्यात्मक छलफल बुझिन्छ। पत्रकार वर्तमान केन्द्रित हुन्छ। इतिहासकार विगत केन्द्रित हुन्छ। यस अर्थमा पत्रकार र इतिहासकारको काम एकअर्कासँग मिल्छ। पत्रकारिता र इतिहास लेखन दुवै सम्मानित ज्ञान र पेसा हुन्।

भारतमा इतिहास लेखन विधामा ‘सत्यको’ पुनर्निर्माण वा ‘वैकल्पिक सत्य’ सिर्जना गर्ने प्रयास भइरहेको छ। यसरी इतिहासको दुरुपयोग हुनु चिन्ताको विषय हो। मिसेल फुकोले ‘द आर्कियोलाजी अफ नलेज’ मा ऐतिहासिक विधिलाई निर्दिष्ट गर्न ‘पुरातत्त्व’ शब्द प्रयोग गरेका छन्। उनले इतिहास र विचारहरूको परम्परागत इतिहासबाट ‘पुरातत्त्व’ कसरी भिन्न छ भनेर स्पष्ट पारेका छन्।

पुरातत्त्वले लुकाइएका (वा प्रकट गरिएका) विचारहरू परिभाषित गर्न खोज्छ। फुकोका अनुसार पुरातत्त्व-इतिहास ‘सत्य’ को पुनर्गठन होइन। इतिहास कुनै समय र स्थान आदिको व्यवस्थित विवरण शृंखला हो। जसरी वर्तमान परिवर्तन हुँदै जान्छ, त्यसरी ऐतिहासिक विवरण ज्ञानको वर्तमान अवस्थाद्वारा क्रमबद्ध हुन्छन्। तिनीहरू प्रत्येक रूपान्तरणका साथ बढ्दै जान्छन्। कहिल्यै बन्द हुँदैनन्। बीजेपीका बौद्धिकहरू फुकोको गहिरो दार्शनभन्दा बाहिर छन्। त्यसैले नेपाली इतिहासकारले भारतीय इतिहासको पुनर्लेखनलाई पछ्याउनु हुँदैन।

मिसेल फुको र गोर भिदालको समान विचार देखिन्छ। भिदालका विचारमा इतिहासकारले प्रायः अभिलेखीय सामग्रीहरू अध्ययन र संरक्षण गर्छन्। ऐतिहासिक दस्तावेज र स्रोतहरू अध्ययन गरेर विगतबारे अनुसन्धान, विश्लेषण र व्याख्या गर्छन्। अर्का बौद्धिक एडवर्ड सइद भन्छन्, ‘आलोचना र समर्पित चेतनाको हतियारले सशस्त्र नभएसम्म हामी हाम्रो अधिकार, इतिहास र भविष्यका लागि लड्न सक्दैनौँ।’

प्रसिद्ध अमेरिकी इतिहासकार हार्वर्ड जिनको विचारमा इतिहास समानता, लोकतन्त्र र सहिष्णु समाज प्राप्तिका लागि संघर्ष गरिरहने सामान्य मानिसको पीडादायी कथा हो। त्यस्ता मानिस जो शासकहरूको सानो धूर्त समूहको चतुर छलकपटबाट पराजित भएका हुन्छन्।

जिनले ‘ए पिपल्स हिस्ट्री आफ द युनाइटेड अफ अमेरिका’ पुस्तकमा आफ्नो काम पक्षपाती (वा पूर्वाग्राही) भएको विषयमा सबैभन्दा इमानदार शब्दहरू व्यक्त गरेका छन्। यस आरोपबाट दुःख मान्नुपर्ने कुनै कारण छैन भन्छन् जिन। किनभने सबै इतिहास शक्तिशालीको दृष्टिकोणबाट लेखिएको हुन्छ। जिनको पुस्तक ‘ए पिपुल्स हिस्ट्र’ शीर्षक स्वयंले पाठकलाई शासकविरुद्ध जनताको प्रतिरोधको आन्दोलनलाई सम्मान गर्ने इतिहास हो भन्ने स्पष्ट पारेको छ। विजयी शासकहरूको इतिहासकारभन्दा जिनको इतिहासमा जनता केन्द्रित छन्। बीजेपीले इतिहाससँग जे गरिरहेको छ त्यो जिनको तरिकामा सारभूत भिन्नता छ। जिनले तथ्यहरू परिवर्तन गर्दैनन् र नक्कली तथ्यहरू सिर्जना गर्दैनन् जसरी बीजेपी गरिरहेको छ। इतिहास लेखन कुनै विषयमा ‘केन्द्रित’ कुनै परिप्रेक्ष्यबारेमा हुनुपर्छ। इतिहास भनेको यथार्थ जस्तो छ त्यस्तै प्रस्तुत गर्नु हो, मन लागेजसरी व्याख्या गर्नु होइन।

भारत सरकारले पत्रकार र आलोचकहरूले सरकारविरुद्ध बोल्ने वा नीतिमाथि प्रश्न उठाउनेलाई निसाना बनाउँदै आएको मानवअधिकारवादी संस्थाहरूले दाबी गरेका छन्। संसारको सबैभन्दा ठूलो लोकतन्त्र भनेर चिनिने राष्ट्रका लागि यो राम्रो समाचार होइन। भारत सरकारले आफ्नो पक्षमा सहमति निर्माण गर्न तथाकथित गोदी मिडिया बनाएको छ।

नोम चोम्स्कीले धेरै अघि भनेका थिए, ‘मिडियाको काम सहमति निर्माण गर्ने होइन, (जुन आधुनिक मिडियाले गरिरहेको छ), मिडियाको भूमिका तथ्यमा आधारित समाचार प्रचारप्रसार गर्नु हो।’

चर्चित पत्रकार रोबर्ट फिस्कका अनुसार पत्रकारको काम इतिहासको साक्षी बन्नु हो। पत्रकारिताको उद्देश्यबारे उनी भन्छन्, ‘सकेसम्म सत्य नजिक पुग्नु र सत्यलाई सार्वजनिक गर्नु हो।’ पत्रकारहरू पीडितका पक्षमा तटस्थ र निष्पक्ष हुनुपर्ने उनको भनाइ छ। अर्थात् रिपोर्टिङमा पीडित र पीडकलाई समान स्थान दिन नहुने उनको सुझाव छ। एउटा उदाहरण दिँदै फिस्कले भनेका छन्, ‘१८औँ शताब्दीको दास व्यापारलाई पत्रकारका रूपमा कभर गर्दै हुनुहुन्छ भने तपाईँले दास र व्यापारमा संग्लग्न जहाज कप्तानलाई बराबर ठाउँ दिनुहुन्न।’

आफ्नै अनुभवका आधारमा फिस्कले अर्को उदाहरण यसरी प्रस्तुत गरेका छन्, ‘सन् १९८२ मा बेरुतमा भएको साब्रा र सतिला नरसंहारमा मैले इजरायली सेनालाई त्यो हत्या भनेँ। लेबनानी परिप्रेक्ष्यबाट अधिक कभर गरियो जब लेबनानीहरूले अत्याचार गरे उनीहरूलाई बराबर समय दिइनँ।’

अर्का प्रसिद्ध पत्रकार जोन पिल्जर भन्छन्, ‘समाचार सन्देशमा लुकेका एजेन्डाहरू र यसका वरपरका मिथकहरू नबुझेर पत्रकारहरूले आफूलाई सन्देश वाहकको रूपमा मात्र हेर्नु पर्याप्त छैन।’

तटस्थ पत्रकारिता र इतिहास मिथक मात्र हुन्?

प्रत्येक इतिहासकारले आफ्नो विषयमा अनुभव, विचार, मनोवृत्ति र धारणाहरूको प्रवाह ल्याउँछ जसले उनीहरूको धारणालाई सूचित गर्दछ। चाखलाग्दो विषय र सामग्रीमाथि उठ्ने प्रश्नहरूलाई प्रभाव पार्छ। इतिहास भनेको समाज, अवधि र विषयका ढाँचाहरू पत्ता लगाउने प्रयास हो जुन विगतका जीवित निशानामा केन्द्रित हुन्छ। विगतका अभिलेखहरूको व्याख्याले कल्पना र समानुभूतिजस्ता व्यक्तिगत उपहारहरूको माग गर्दछ। इतिहास लेखन तटस्थ हुनुपर्छ। वास्तविक संसारमा आदर्शवादले काम गर्दैन। मानिसले सधैँ आफ्नो सोच वा विचारधारालाई अरूमाथि राख्ने प्रयास गर्छ। त्यसैले इतिहासलाई निष्पक्ष र कुनै अवरोधविनाको आशा गर्न सकिँदैन।

साम्राज्यवादी इतिहासकारहरूले उपनिवेशवादको लेन्सबाट इतिहास लेखे। तिनीहरूले देखाए कि कसरी पश्चिमीहरू अफ्रिकी-एसियाली देशहरूभन्दा महान् थिए। उनीहरूले आफ्नो एजेन्डाअनुसार तथ्य र प्रमाण प्रयोग गरे। तथाकथित ‘व्हाइट-मेन बर्डेन’ सिद्धान्त यी इतिहासकारको कडा परिश्रम हो। जब औपनिवेशिक राष्ट्रहरू स्वतन्त्र भए इतिहासलेखनलाई गम्भीरताका साथ लिन थाले तर उनीहरूले पुरातन स्वर्णयुग थियो भन्ने आख्यान प्रयोग गर्न थाले।

पूर्ण तटस्थता भने सम्भव छैन। इतिहासकारहरूले सकेसम्म तटस्थ हुन प्रयास गर्न सक्छन्। आफ्नो प्रचार वा एजेन्डा लोकप्रिय बनाउने प्रयास गर्नु हुँदैन।

तटस्थ सत्यका बारेमा एडवर्ड सइद आधारभूत प्रश्न सोध्छन्, ‘एक व्यक्ति कसरी सत्य बोल्छ? कस्तो सत्यता? कसका लागि र कहाँ?’ सत्य बोल्नु कुनै आदर्शवाद होइन। यो एक आवश्यकता हो। पत्रकार होस् वा इतिहासकार, हत्यालाई हत्या भन्नुपर्छ, नरसंहारलाई नरसंहार भन्नुपर्छ। जर्ज ओरवेलले परिभाषित गरेअनुसार ‘डबल स्पिक’ प्रयोग गर्नु हुँदैन। प्रोपोगान्डालाई सोही भन्नुपर्छ हेनरी किस्संगेरले जस्तो ‘कम्युनिकेटिङ सोसाइटी’ वा ‘सार्वजनिक सम्बन्ध’भन्नु हुँदैन।

स्वतन्त्र पत्रकारले तथ्यहरूलाई जनतासँग साझा गर्छ जसले उनीहरूलाई महत्त्वपूर्ण मुद्दाहरूमा निर्णय गर्नको प्रयोग गर्न सक्छन्, जस्तै कुन राजनीतिज्ञ वा नीतिलाई समर्थन गर्ने वा नगर्ने। खोज पत्रकारिताले कुनै खास विषय, व्यक्ति वा घटनाको सत्यता उजागर गर्ने उद्देश्य राख्छ।

इतिहास विगतको जीवनको अध्ययन हो। यो प्रमाणका आधारमा अतीतको अनुसन्धान हो। इतिहासको उद्देश्य अतीतका आधारमा वर्तमान सामाजिक, राजनीतिक, धार्मिक र आर्थिक अवस्था बुझ्न मद्दत गर्नु हो। इतिहासको पढाइले वर्तमानको व्याख्या गर्न, त्यसको विश्लेषण गर्न र पाठ्यक्रम पत्ता लगाउन मद्दत गर्छ। विगत र वर्तमानबीचको कारण र प्रभाव सम्बन्धलाई इतिहासमा जीवन्त रूपमा प्रस्तुत मद्दत गर्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका वर्तमान समस्यालाई सही र वस्तुनिष्ठ रूपमा बुझ्न मद्दत गर्दछ।

पत्रकारिताको उद्देश्य समाजलाई आफ्नो जीवन जिउन आवश्यक पर्ने जानकारी दिनु हो। तर एक्काईसौँ शताब्दीको अत्याधुनिक खोज पत्रकारिता वासिङ्टन पोस्टका पत्रकार बब वुडवर्ड र कार्ल बर्नस्टेनले वाटरगेट काण्डको (सन् १९७२) रिपोर्ट गर्दा अमेरिकी राजनीतिको ढक्कन उडाएका थिए। खोज पत्रकारिता र चुहावट पत्रकारिता ‘गोप्य ड़कुमेन्टिलिक’ (जस्तै, पैन्टागोन पपेर लिक, डेनियल एल्सबर्ग सन् १९७१, एनसए लिक एडवर्ड स्नोडेन २०१३, विकिलिक्स २०११ जुलियन असान्ज, पेन्टागन पेपर लिक ज्याक टेक्सेरा २०२३) बीच भिन्नता छ। खोज पत्रकारितालाई आलोचनात्मक र गहन पत्रकारिता भनेर परिभाषित गरिएको छ। खोज, अनुसन्धान र रिपोर्टिङको स्तर आवश्यक छ। आफ्नो जीवन र स्वतन्त्रताको मूल्यमा केही व्यक्तिले राष्ट्रिय गोप्य दस्तावेज किन लिक गर्छन्? जवाफ छ- आवश्यक तथ्यहरू सार्वजनिक हितका लागि महत्त्वपूर्ण छ। ज्ञानका लागि आवश्यक तथ्यहरू जस्तै तटस्थ इतिहास सार्वजनिक हितका लागि महत्त्वपूर्ण छ। तटस्थ इतिहास र स्वतन्त्र पत्रकारिताका नाममा यो पार्टीले यसो भन्छ र त्यो पार्टीले भन्छ भन्न मिल्दैन।

रोबर्ट फिस्कले भनेजस्तै समाचार प्रस्तुतिमा पीडितलाई पीडकभन्दा बढी स्थान दिनुपर्छ। जोन पिल्जरले भनेजस्तै समाचार सन्देशका लुकेका एजेन्डाहरू र यस वरपरका मिथकहरू नबुझेर पत्रकारहरूले आफूलाई सन्देशवाहकका रूपमा मात्र हेर्नु पर्याप्त छैन। एडवर्ड सइदले भनेजस्तै इतिहासलाई कालोपाटीमा लेखिएका शब्दहरूजस्तै सफा गर्न सकिँदैन। कसैले पनि इतिहासलाई पुनः लेख्ने प्रयास गर्न सक्दैन। यद्यपि ऐतिहासिक तथ्यहरूलाई फरक तरिका र परिप्रेक्ष्यले व्याख्या गर्न सकिन्छ। न पत्रकारले न इतिहासकारले सत्यलाई बदल्न सक्छ।

पत्रकारिता र इतिहास दुवैमा सत्य सापेक्षिक हुन्छ। लोकतन्त्रमा प्रेस चौथो स्तम्भ भानिन्छ जसले अन्य स्तम्भहरूलाई नियन्त्रणमा राख्छ। यसो गर्नको उद्देश्य सार्वजनिक र निजी संस्थाहरूको कामको अनुगमन गर्नु तथा सत्य, वस्तुनिष्ठता र शुद्धतामा आधारित न्यायलाई बढावा दिनु हो।

प्रकाशित: ११ वैशाख २०८० १०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =